बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीको अतिसंवेदनशील क्षेत्र मायादेवी मन्दिर परिसरमा मानव अंग गाड्नका लागि सहयोग गर्ने १५ जना सुरक्षाकर्मीलाई कारवाही हुने भएको छ।
गत चैत १२ गते राती ताइवानी नागरिकले मानव अंग हड्डी, दाँत, रौँ, नङ, खरानीलगायतका वस्तु गाडेको भेटिएपछि लुम्बिनी विकास कोषले पुरातत्त्व अधिकृत हिमाल उप्रेतीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।
समितिले मायादेवी मन्दिर परिसरमा खटिएका १५ जना सुरक्षाकर्मीहरूले घुस लिएर खाडल खन्न अनुमति दिएको ठहर गर्दै उनीहरूलाई कारवाहीका लागि सिफारिस गरेको हो।
सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका चार तथा गु्रप फोरका चार जना सुरक्षा गार्डलाई कारवाही हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए।
मायादेवी मन्दिरको संवेदनशीलतामाथि गम्भीर लापरवाही गर्दै घुस लिएर गैरकानुनी काम गर्ने सुरक्षा गार्डलाई मायादेवी मन्दिर परिसरमा प्रवेश निषेध गरी ग्रेड घटुवा गर्ने उनले बताए। नेपाल सरकारका सुरक्षाकर्मीका हकमा भने प्रहरी प्रमुखहरूसँग छलफल गरी कारवाहीका लागि सिफारिस गर्ने उनको भनाइ छ।
‘मायादेवी मन्दिरको सुरक्षामा गम्भीर प्रश्न खडा गर्ने गरी उनीहरूले लापरवाही गरेका छन्’, उनले भने, ‘पर्यटकसँग कुनै पनि हिसाबले रकम लिने गरेको पाइएमा तत्काल कारवाही हुनेछ।’
मायादेवी मन्दिरको सुरक्षामा खटिएका कर्मचारीलाई घुस दिएर ताइवानका नागरिकले मायादेवी मन्दिरको पश्चिमतर्फ बेलको रूख नजिकै २० सेन्टिमिटर गहिराइ र ५० सेन्टिमिटर चौडाइको खाल्डो खनेर मानिसको कपालको रौँ, दाँत, नङ, बालुवा, खरानी, कोइला, सिक्का, चुरा, हड्डीलगायतका विभिन्न वस्तु गाडेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।