स्थानीय तह भन्छ– हामी केही गर्न सक्दैनौँ

|

काभ्रेपलाञ्चोक : पनौती नगरपालिका–२ कुशादेवी र कलाँती भूमिडाँडाको गागल आसपासमा सञ्चालन हुँदै आएको ढुंगा खानी र क्रसर उद्योगका कारण बस्ती नै विस्थापित हुने खतरा बढेको छ। ढुंगा खानी र क्रसर उद्योगहरु व्यवस्थित रूपमा सञ्चालन नहुँदा प्राकृतिक सम्पदा वन जंगललाई समेत असर पुग्नुका साथै स्थानीय बासिन्दासमेत विस्थापित हुनुपर्ने अवस्था आएको हो।

‘क्रसर उद्योगबाट आएको धुलोले बोटविरुवा ढाक्नुका साथै लगाएको बालीनाली उब्जनी कम हुँदै गएको छ’,स्थानीय अर्जुन बजगाइँले भने, ‘आवाजले राति सुत्न समेत सकिँदैन।’ बाटो साँघुरो र त्यसमाथि ठूला टिपरहरु ओहोरदोहोर गरिरहँदा धेरै समय कुर्नुपर्ने र भन्ने वेलामा गाउँमा दूध र तरकारी ढुवानी गर्ने गाडी चलाउन समेत समस्या भएको उनको भनाइ छ।

पनौती वडा नम्बर २ र १२ (साविक कुशादेवी गाविस ५, भूमिडाँडा) लगायतका स्थानमा सञ्चालनमा रहेका उद्योगहरुले उद्योग क्षेत्र आसपासका पाखो भित्ताहरुमा जथाभावी ढुंगा निकाल्दा र ब्रेकर लगाउँदा निस्कने अावाजका कारण स्थानीय बासिन्दा विस्थापित नै हुने अवस्था सिर्जना भएको छ।

‘मेसिन चलाएर जमिन सबै थर्किसकेका कारण पानी पर्दा भूक्षय हुनुका साथै पहिरो जाने डरले सताएको छ। यहाँ पहिरो गयो भने पनौती बजार लगायत खोला आसपासका तलतिरको बजारमा समेत क्षति पुग्छ’, बजगार्इँले थपे,  ‘हामीलाई असर पर्‍यो, बन्द गरिदिनु भन्यो भने पैसा कति हो हामी सबै किन्छौँ  भनेर भन्छन्। यहाँ सस्तोमा बेचेर हामी कहाँ गएर बस्ने?’ 

माथि बस्ती भएको र तल तिरबाट ढुंगा निकालेर पहिरो बनाउन थालेपछि बाध्य भएर उनीहरुकै भाउमा बेचेर साविक ५ नम्बर वडाका ४\५ घर विस्थापित भइसकेको स्थानीयबासिन्दाहरु बताउँछन्। बजगाईको अनुसार यो वर्ष मात्रै पनि दुई घरले ठाउँ छोडेर गएका छन्।

केही वर्षदेखि सञ्चालनमा रहेका रोशी आसपासका कलाँती भूमेडाँडाको गागल, कुशादेवीको विभिन्न स्थानका क्रसर उद्योगका कारण भूमेडाँडा र कुशादेवीको सिमानामा पर्ने रोशी खोला सुक्न थालेको छ।

ढुंगा र क्रसर उद्योगबाट निस्केको माटो खोलाको छेउमा फाल्ने गरेका कारण खोला धमिलो भएर सुक्दै जानुका साथै काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले सञ्चालन गरिरहेको खानेपानीको पाइप समेत पुरिसकेको छ। सञ्चालित खानी तथा उद्योगहरुको अनुगमन र निरीक्षण गर्ने जिम्मा पाएका स्थानीय तह जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले त्यस विषयमा कुनै चासो देखाएको छैन।

स्थानीय साधुराम आचार्य गाउँमा खानीले धेरै असर गरेको कारण गाउँमा बस्न नसक्ने स्थिति बनेको बताए। ‘आवाजका कारण वल्लो घरबाट बोलाएको अर्को घरमा सुन्दैन।’ उनले भने, ‘कि त खानी बन्द गर्नुपर्‍यो कि बस्ती नै हटाउने पर्‍यो, त्यो भन्दा यहाँको अरु विकल्प छैन।’ आफूहरुको समस्या सरकारले  नै सम्बोधन गर्नुपर्नु उनको भनाइ छ।

कान्छालाल तामाङले खानीका कारण धेरै असर गरेकाले खानी हटाउनु अति आवश्यक भएको बताए। ‘खानीका कारण यहाँका गाउँ बस्तीमा पहिरो जाने, धुलोका कारण वातावरण प्रदूषित हुनुका साथै वातावरणीय प्रदूषणका कारण पर्यटकहरुको आगमन संख्या घट्न थालेको छ’ तामाङले भने।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले जनप्रतिनिधि आउनुअघि नै खानी विभागबाट दर्ता भई आएर सञ्चालन गरेका कारण त्यसको लागि केन्द्रबाट नै के गर्ने भन्ने विषयमा निर्णय भएर आउनु पर्ने बताए। ‘खानीका कारण स्थानीय बासिन्दा लगायत खानेपानी आयोजनालाई समेत धेरै असर गरेको छ’, उनले भने, ‘ तर हामी आएपछि नयाँ खानी दर्ता गर्न दिएका छैनौँ।’

जनप्रतिनिधि आएपछि खानी सञ्चालनको लागि पेश गर्न आएको ६\७ वटा फाइल नगरपालिकाले रोकेर राखिएको उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.