|

भद्रपुर (झापा) : प्रहरीले झापामा अनुमतिविपरीत जथाभावी नदीजन्य सामग्री उत्खनन्मा प्रयोग गर्ने स्काभेटरसहित ट्रिपर र ट्र्याक्टरलाई नियन्त्रणमा लिन थालेको छ। 

जिल्ला समन्वय समिति झापा र जिल्ला प्रशासन कार्यालय झापाको आदेशविपरीत ठेकेदारले झापाका नदी तथा खोला दोहन गरिरहेको भन्दै थाहाखबरले निरन्तर समाचार प्रकाशन गरेपछि प्रहरीले बल्ल नदी तथा खोला बचाउ अभियान सुरु गरेको छ। 

बुधबार झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिसस प्रमुख सोमनाथ विश्वकर्मा (पोर्तेल), जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक किशोर लम्साल, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईलगायतको नेतृत्वमा गएको अनुगमन टोलीले मेचीनगर– १० निन्दा खोलाको अनुगमन गरेको थियो। अनुगमनको क्रममा अनुमतिबिना निन्दा खोलाबाट गिट्टी–बालुवा लोड गर्दै गरेको एउटा स्काभेटर र दुई ट्रिपर नियन्त्रणमा लिएका थिए। नम्बर नखुलेको स्काभेटर र मे१ख २८१६, ना६ख ६१४९ नम्बरको ट्रिपर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ भने चालकलाई आवश्यक कारवाहीका लागि पठाइएको जनाइएको छ। 

त्यस्तै, मेचीनगर– ६ स्थित काली मन्दिर छेउबाट बग्ने मेची नदीबाट सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मले अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् गर्दै गरेका आठवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरीले मे१त ६३१९, मे१त ५३८३, मे१त ५४०६, मे१त १९५५, मे१त ६११३, मे१त ४२७८, मे१त ३४६४, मे१त ६४८१ नम्बरका ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको सशस्त्रका प्रहरी नायव उपरीक्षक दिनेशकुमार बस्नेतले जानकारी दिए। नियन्त्रणमा लिइएका ट्र्याक्टर र चालकलाई थप आवश्यक कारवाहीका लागि जिसस पठाइएको उनले बताए। 

यता, जिसस र प्रशासनको आदेश र नियमविपरीत निन्दा र मेची नदीबाट अवैध उत्खनन् भइरहेको जनगुनासो बढेपछि प्रजिअसहितको टोलीले स्थलगत अनुगमनलाई निरन्तरता दिएको जिसस प्रमुख सोमनाथ पोर्तेलले बताए। ‘नदीमा अनुमतिबिना प्रयोग भएका मेसिन र सवारी साधनलाई प्रहरीको सहयोगमा तत्काल नियन्त्रणमा लिइएको हो’, उनले भने, ‘नियन्त्रणमा लिएका मेसिन र सवारी साधनलाई मापदण्डअनुसार कानुनी कारवाही हुन्छ।’

यस्तो छ जिससको पत्र
जिससले अनधिकृत रूपमा भइरहेको नदीजन्य वस्तु उत्खनन् कार्य बन्द गराउन गत बैशाख ३० गते जिल्ला प्रशासन कार्यालय झापालाई पत्राचार गरिसकेको थियो। सोही पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयलाई समेत पठाइसकेको थियो। पत्रमा उल्लेख भएबमोजिम जिल्लामा रहेका मेची, हडिया, बिरिङ र निन्दा नदीबाट जथाभावी मेसिन प्रयोग गरी नदीजन्य वस्तुको उत्खनन् तथा संकलन कार्य भइरहेकाले तत्काल बन्द गरी उत्खनन्‌मा प्रयोग भएका मेसिन, ढुवानीका साधन नियन्त्रणमा लिई कानुनी कारवाही अघि बढाउनू भन्ने उल्लेख छ। तर उक्त पत्रको उल्लंघन गर्दै कतै स्थानीय तहको अनुमति त कतै अनुमतिबिना जथाभावी उत्खनन् कार्य भइरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.