|

चितवन : संघीय संसदको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघियताको बारेमा अभ्यास्त भएर बुझ्न अझै बाँकी रहेको बताएका छन्।

चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभालाई आइतबार उद्घाटन गर्दै उनले केन्द्रमा रहेको अधिकार स्थानीय तहमा नआएसम्म संघियता कार्यान्वयन भएको मान्न नसकिने जिकिर गरे।

कानुन बनिनसकेकाले संघ, प्रदेश र स्थानीय तहका अधिकारहरू निर्क्योल हुन नसकेको भन्दै सभामुख महराले आगामी आसोजमा कानुन बनेपछि मात्रै संघियताले मूर्त रुप लिने औंल्याए। ‘तीनै तहको अधिकारका विषयमा कानुन र नियमावलीहरू नबनिसकेकाले अझै केही समय अन्यौलमा रहेको छ’, सभामुख महराले भने।

विगत २० वर्षको समयममा ठुलो उपलब्धी गर्न नसकिएको उल्लेख गर्दै उनले अघिल्लो वर्ष भएको निर्वाचन, संविधान कार्यान्वयनको पहिलो जग भएको उल्लेख गरे।

संघियता जातीय क्षेत्रिय स्वयत्तता मात्रै नभएको भन्दै महराले केन्द्रमा रहेको अधिकार र श्रोत साधनलाई तलसम्म ल्याएपछि मात्रै वास्तविक संघियताको महसुस हुने बताए। विगतमा यसैका लागि आन्दोलन भएको समेत उनले बताए।

चितवनको भरतपुर ठुलो पर्यटनको केन्द्र हुन सक्ने भन्दै उनले राजधानी काठमाडौं र अन्य जिल्लाहरूलाई जोड्नका लागि समेत भरतपुर उपयुक्त क्षेत्र भएको बताए। ‘त्यसैले यहाँ अन्तर्राष्ट्रिय मापदण्ड कै रुपमा विमानस्थल बनाउन जरुरी छ’, महराको भनाइ थियो।

राजधानीसँग सिधै पहुँच भएको जिल्ला चितवन भएको उल्लेख गर्दै उनले भरतपुर महानगरमा विकासका प्रवल सम्भावनाहरू रहेको बताए। राष्ट्रिय निकुञ्ज र धार्मिक तिर्थस्थल देवघाट यही भएकाले महानगरपालिका प्रचुर सम्भावना भएको क्षेत्र भएको जिकिर गरे।

भरतपुर महानगरपालिकाले ८७ बुँदे नीति तथा कार्यक्रम जनमुखि योजना रहेकाले ठिक ढुंगले काम गरेर कार्यान्वयन गर्नुपर्नेमा सभामुख महराको जोड थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.