|

चितवन : सामरिक महत्त्व बोकेको चितवनको शक्तिखोरस्थित औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आवश्यक प्रक्रिया सकेर अहिले डिपिआरको काम अन्तिममा पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए।

बस्नेतले छोटो समयको प्रयासमा डिडिआरले अन्तिम रूप लिएको बताए। गएको पुसमा डिपिआरका लागि सूचना निस्किएको थियो। बस्नेतका अनुसार डिपिआरको काम सकिन लागेकाले यही ७ गते प्रारम्भिक वातावरण प्रभाव मूल्यांकन (इआइए)का लागि सूचना जारीसमेत भइसकेको छ। 

नेपालका विभिन्न एक दर्जन स्थानमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भइसकेकाले ती क्षेत्रमा पनि निर्माणको काम तीव्र पारिएको बस्नेतको भनाइ छ। 

मुख्य गरी सामरिक महत्त्वका हिसाबले चितवनको शक्तिखोर, झापाको दमक अग्रस्थानमा रहेकाले यसलाई विशेष प्राथमिकता दिएको बस्नेतको भनाइ छ।

विसं २०७३ साल फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णग गरेको थियो। चितवनको शक्तिखोरमा एक हजार ७४१ विगाहा क्षेत्रमा औद्योगिक क्षेत्र बनाइदै छ। सरकाले प्रदेश नम्बर १, २, ४ र ६ मा एक/एकवटा, प्रदेश नम्बर ३ मा दुर्इ, प्रदेश नम्बर ५ मा तीन र प्रदेश नम्बर ७ मा दुर्इवटा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको छ।

चितवनको शक्तिखोरस्थित पूर्वमाओवादी लडाकूको शिविर नजिक क्षेत्रको एक हजार ७४१ विगाहा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको हो।

डिपिआर र इआइएको काम सकिएपछि व्यवस्थापन र निर्माणको काम थालिने जनाइएको छ। चितवनमा २५ प्रतिशत मात्रै रुख काटिने र त्यसमा पनि कुकाठ पर्ने छन्।

सो क्षेत्रका लागि चाइनाले प्राविधिक र आर्थिक सहयोगको बचनसमेत दिएको छ। अबको चार वर्षभित्रमा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको छ।

विगतको २०१६ सालमा बनेको जस्तो औद्योगिक क्षेत्र नभइ अहिलेको यो वातावरणमैत्री र पार्कसहितको अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण हुने अध्यक्ष बस्नेतको दावी छ।

कुल क्षेत्रमध्ये २५ प्रतिशत पार्कलाई छुट्याउनुपर्ने व्यवस्था छ। नेपालमा अब बन्ने औद्योगिक क्षेत्र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक बन्ने लिमिटेडका अध्यक्ष बस्नेत बताउँछन्।

उनका अनुसार निर्माणमा विदेशी प्राविधिज्ञहरूको समेत सहयोग रहने छ। २५ प्रतिशत क्षेत्रमा पार्क हुन्छ। क्षेत्रभित्रै स्कुल, खेलमैदान, अस्पताल, बनाइने छ। औदोगिक क्षेत्रभित्रै अपार्टमेन्टसमेत निर्माण गरिने बस्नेतले बताए। आवासिय रूपमा मजदुरहरू रहने व्यवस्था हुनेछ।

उनले चितवन उद्योग संघ र कालिका नगरपालिकाले ठूलो सहयोग गरेको बताए। कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले यहाँ औद्योगिक क्षेत्र निर्माण हुन लागेकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।

उद्योगले नै देश आत्मनिर्भर हुने भन्दै उनले लगानी गर्न नगरबासीमा समेत आव्हान गरे। चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले औद्योगिक क्षेत्र निर्माणका लागि सुरुदेखि नै संघले पहल गरिरहेकाले अहिले काम तीव्र गतिमा अघि बढेको भन्दै आगामि एक वर्षभित्रमा पहिलो ब्लकको संरचना निर्माण हुने आशा व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.