|

चितवन : चितवनको राप्ती नगरपालिका ३ स्थित चेपाङ गाउँमा चिउरीका विरुवा रोपेर प्रदेश-३ को ‘फलफूल वर्ष २०८५’ शुभारम्भ गरिएको छ। भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश-३ मा बिहीबारदेखि फलफूल वर्ष–२०७५ को शुभारम्भ गरेको हो।

प्रदेश-३ का भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चितवनको राप्ती नगरपालिका–११ आँपपानीमा २०० चिउरीको बिरुवा रोपेर फलफूल वर्षको शुभारम्भ गरेका हुन्।

सोही अवसरमा प्रदेश-३ का भूमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री लामाले प्रदेशका सबै नागरिकलाई स्वरोजगार बनाउने अभियानका रूपमा फलफूल वर्ष शुभारम्भ गरिएको बताए। नेपालमा बर्सेनी करोडौंको फलफूल आयात हुने गरेकाले त्यसलाई कम गर्दै नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउन अभियान सार्थक बन्ने उनको दाबी छ।

सामुदायिक वनलाई उत्पादनशील बनाउन फलफूल खेतीको विकल्प नरहेको मन्त्री लामाले बताए। सबै जनतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नका लागि पनि फलफूल रोप्ने अभियान सञ्चालन गरेको उनले जानकारी दिए । उनले  युवालाई रुचिअनुसारको तालिम दिएर कृषि उद्यमी बन्नेतर्फ अग्रसर गराइने बताए।

चिउरी रोपेसँगै चितवनमा मौरीपालन फस्टाउने मन्त्री लामाको विश्वास छ। यस्तै आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेको बताए। उनले प्रदेश-३ को समृद्धि नै कृषि र पर्यटन र जलविद्युत्बाट सम्भव भएकाले कृषिलाई सबैभन्दा माथि राखिएको बताए।

चितवनको पहाडी क्षेत्रमा चिउरीको राम्रो उत्पादन हुने गरेको छ। चितवनको ३० हजार हेक्टरमा पाँच हजार चिउरीको बिरुवा रोपिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिए। प्रदेशका ५० बटा स्थानीय तह र २०० सामुदायिक तथा कबुलियती वनसँग मिलेर फलफूल रोप्ने अभियान सञ्चालन गरिएको उनले बताए।

प्रदेशका ४५० युवालाई तालिम दिएर फलफूल रोप्नका लागि आंशिक रोजगारको व्यवस्थासमेत गरिएको उनले बताए। चितवनमा मात्रै चिउरी रोप्नका लागि १६ जना युवा परिचालन गरिएको छ।

कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा वराल, उपमेयर इमानसिंह लामा लगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.