|

चितवन : पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई साेमबार परेको वर्षाले ठूलो राहत दिएको छ। चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा यस वर्षाले भने खुसी बनाएको प्रतिक्रिया दिए। 

जिल्लामा वर्षा नहुँदा आजसम्म १४ प्रतिशत मात्रै राेपाइँ भएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले बताए। उनकाअनुसार खेत गल्ने गरी वर्षा भएकाले अब धमाधम रोपाइँ हुने प्रतिक्रिया दिए। ‘चितवनका किसानलाई ठूलो राहत भएको छ,' श्रेष्ठले भने, 'उनीहरू खुसी भएका छन्।’ 

जिल्लामा अहिलेसम्म १४ प्रतिशत राेपाइँ भएकोमा पूर्वी क्षेत्रमा झण्डै २५ प्रतिशत राेपाइँ भएको छ। भरतपुर क्षेत्रमा करिव ५ प्रतिशतको हाराहारीमा राेपाइँ भएको अनुमान कृषि कार्यालयको छ। इच्छाकामना गाउँपालिकामा राेपाइँ हुन सकेको छैन भने कालिका नगरपालिकामा ५/६ प्रतिशत मात्रै राेपाइँ भएको छ। दक्षिण माडीमा अहिलेसम्म १२ प्रतिशत राेपाइँ भएको अनुमान छ। अघिल्लो वर्ष यस समयमा जिल्लामा करिव २५ प्रतिशत राेपाइँ सकिएको थियो। यसवष पानी नपर्नाले राेपाइँ हुन सकेको थिएन। 

आजको पानीले भने सुख्खा क्षेत्रमा समेत राेपाइँ हुने छ। रतननगरका किसान कृष्ण आचार्य पानी नपर्नाले मानिसले लगाएको आली समेत सुकेर बसेका बेला आजको पानीले राहत दिएको बताउँछन्। जिल्लामा यसवर्ष कुल २८ हजार ६०० हेक्टरमा धान राेपाइँ हुने अनुमान छ।

अघिल्लो वर्ष २९ हजार हेक्टरमा धान राेपाइँ भएकोमा यसवर्ष ४०० हेक्टर क्षेत्रफल घट्ने देखिएको कृषि कार्यालय प्रमुख श्रेष्ठ बताए। आज रातिदेखि नै परेको पानीले माडी क्षेत्र जलमग्न भएको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले बताए। विभिन्न क्षेत्रमा नदी समेत बढेकाले सजक रहन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सबैमा अनुरोध गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.