|

- पाउलिन्हो, ब्राजिलियन फुटबलर

मेस्सी म भएतिर आए।

यो पछिल्लो जुनको घटना हो। हामी अष्ट्रेलियामा अर्जेन्टनाविरुद्ध मैत्री खेल खेलिरहेका थियौं। हामीले भर्खरै फ्रि-किक पाएका थियौं। बल मेरै छेउमा थियो, सँगै विलियन र अर्का साथी पनि थिए। म किक हान्न नभई विपक्षीलाई झुक्याउनमात्रै बसेको थिएँ।

अचानक मेस्सी मेरा अघिल्तिर झुल्किए।

मसँग आँखा जुधाउँदै उनले भने, 'त्यसोभए हामी बार्सिलोना जाँदैछौं?'

बस् , भएको त्यत्ति हो। अहँ, अरु केहि कुरै भएन। उनी फरक्क फर्किइहाले। मैले सोच्ने मौकासम्म पनि पाइन। म पछाडिबाट कराएँ, 'तिमी लैजान चाहन्छौ भने म जान्छु।'

त्यसपछि त मेरो दिमाग खराब भइहाल्यो। खेलमा भन्दा मेस्सीको कुरामा मन डुल्न थाल्यो। मेरो मनमा एउटै कुरा खेलिरहेको थियो, के मेस्सी यसबारे साँच्चै गम्भीर छन्? नहुँदा हुन् त किन यो कुरा निकाल्थे? हे भगवान, यो के हुँदैछ?

त्यसताका म गोन्जहाउ एभरग्रान्डका तर्फबाट चाइनिज सुपर लिग खेल्थें। चाइनामा खेल्ने खेलाडीप्रति बार्सिलोनाले चासो देखाउला भन्ने सोच्न पनि सकिन्नथ्यो। एक मन त मेस्सीले मजाक गरेका हुन् कि जस्तो लाग्यो। हुन सक्छ, उनी मेरो ध्यान भड्काउन चाहन्थे। तर यो मैत्री खेलमात्र भएकाले त्यसो गर्नुपर्ने जरुरी नै के थियो र?

खेल सकिएपछि हामी चेन्जिङ रुममा गयौं। मैले जर्सी फुकालेर सुरक्षा गार्डको हातमा हाल्दिँदै मेस्सीलाई दिएर आउन अह्राएँ। फर्किंदा उनले मेरो लागि मेस्सीको जर्सी लिएर आए।

मैले सोचें, के यो साँच्चै भइरहेको छ?

अष्ट्रेलिया टुर सकिएपछि म फेरि चाइना फर्किएँ। त्यसपछि बार्सिलोनाको प्रसंग त्यस्सै हराएर गयो। मैले पनि बिर्सिएँ। म पुन सुपर लिगमै रमाउन थालें। तर जुलाईपछि फेरि म बार्सिलोना जाने हल्ला चर्किंदै गयो।

मैले खप्नै नसकेर मेरो एजेन्टलाई फोन हानें।

बोस, यो हल्ला के हो? साँच्चै हो कि ख्याल ख्याल हो? म त पागल हुन लागिसकें।'

जवाफमा उनले भने, 'हुन पनि सक्छ, नहुन पनि सक्छ। यस्सै भन्न गाह्रो छ।'

त्यसपछि नेयमारलाई मेसेज गरें।

तिमीलाई केहि थाहा छ कि?'

उनी आफ्नै सरुवाको तनावमा थिए, केहि निधो दिन सकेनन्।

ट्रान्सफरमा आजकल अनेकथोक हुन्छ। कसैको विश्वासै गर्न सकिंदैन। भित्रभित्र अनेक कुरा पाकिरहेको हुन्छ। तर जे होस्, म चाइनामा रमाइरहेको थिएँ। फुटबल पनि राम्रो खेल्दैथिएँ। म र मेरी श्रीमतीको जीवन गज्जबले चलिराखेको थयो। यसो भनौं, बार्सिलोना जाने हल्ला चल्नुअघि मेरो जीवन शान्तिपूर्ण थियो।

अगष्ट सकिंदासम्म त ट्रान्सफरको सम्भावना निमिट्यान्न भइसकेको थियो। त्यो सप्ताहन्तमा हामी चाइनिज च्याम्पियन्स लिगमा सहभागि हुँदै थियौं। ब्राजिलबाट मेरा केहि साथीहरु पनि चाइना आएका थिए। उनीहरु मेरै अपार्टमेन्टमा बस्थे।

त्यसरात मेरो एजेन्टले मलाई फोन गरेर भने, ' ल, डिल पक्का भयो। तिमी पेपर साइन गर्न बार्सिलोना आउनुपर्‌यो।'

शुरुमा त मलाई विश्वासै लागेन। मैले भनें, 'हँ, साँच्चै? कि मजाक गरेको?'

हैन, हैन, हैन। मजाक हैन, साँच्चै हो। तिमी भोलि कुनै हालतमा आइपुग्नुपर्छ ', उनले भने।

ए अँ, मैले भने साँच्चै? यो बिहान ४ बजेको कुरा थियो।

मैले उनलाई भनें, 'म भोलि नै त आउन सक्दिन। ब्राजिलबाट साथीहरु पनि आएका छन्।'

उनले भने, 'हैट्, अरुको कुरा हो र? बार्सिलोनाले तिमीलाई डाक्दैछ। खुरुक्कन प्लेन चढिहाल। बरु साथीहरुलाई पनि यतै लिएर आऊ।'

त्यसपछि म त झोलितुम्बो पोको पारेर हिंडिहालें। विश्वासै भइरहेको थिएन। एअरपोर्ट जाँदै गर्दा मैले मेस्सीलाई सम्झिएँ।

साँच्चै भन्नुस् न ! गोन्जहाउबाट बार्सिलोनामा जाने कुरा कसैले सोच्न सक्छ? यो कसरी सम्भव भयो भन्ने कुरा जान्न तपाईंले मेरो पुरै कथा थाहा पाउनुपर्छ। नत्र त एकैचोटि फड्किएर १० औं अध्याय पढेजस्तो हुन्छ। शुरुदेखिकै सुनाउने हो भने यस्ता अपत्यारिला कुराहरु कति छन् कति !

मैले एकपटक फुटबल छाडिसकेको थिएँ। त्यो पनि १९ वर्षको उमेरमा।  मेरी पूर्वश्रीमतीले मलाई पुन खेलमा फर्काएकी हुन्। खासगरि युरोपमा भएका केही अपमानजनक घटनाबाट म विचलित भएको थिएँ।

खेल्न छोड्ने निर्णय सुनाउँदा श्रीमतीले भनेकि थिइन्, 'तिमीलाई त बल्ब फेर्नसमेत आउँदैन, खेल्न छाडेर के गर्छौ? तिम्रो निर्णयले बुबाआमाको चित्त कति दुख्ला सोच त?'

हुन पनि हो, बुबाआमाले मेरो लागि केमात्र गरेनन्? पाँच बर्षको उमेरमा जब म बाटोमा खेल्थें, त्यतिखेरदेखि हरहमेसा आमा मेरो साथमा हुनुहुन्छ। मलाई सानैदेखि फुटबल कति मन पर्थ्यो भने म सुत्ने बेलामा पनि फुटबलकै बारेमा सोच्थें। कतिखेर उज्यालो होला र बल कुदाउँला भन्ने लाग्थ्यो।

पछि मैले बाआमाको मुख हेरेर निर्णय फिर्ता लिएको थिएँ। अर्को सिजनमा मैले करियरका लागि पिंधैबाट संघर्ष थाल्ने निधो लिएँ। त्यसका लागि म चौंथो डिभिजनको पाओ डे एकुकार क्लबसँग जोडिएँ। खेल्नका लागि आठ आठ घण्टा बसमा यात्रा गर्थ्यौ, ४० डिग्रि सेन्टिग्रेड तापक्रममा खेल्थ्यौं। कहिलेकाँहि त लाग्थ्यो, यसरी त कति दिन चल्छ र खै? योभन्दा त बरु घर बनाउने काम पो सिक्नुपर्छ कि क्या हो !

तर बिस्तारै बिस्तारै सबथोक ठिक हुँदै गयो। म चौंथोबाट दोस्रो हुँदै पहिलो डिभिजनमा उक्लिएँ। मेरो खुसीको पारो पनि माथि उक्लियो।

मैले यहाँ एकजनाको नाम लिनैपर्छ जो मेरा लागि गडफादर सरह छन्, ति हुन् टिटे। म उनको कुरा गर्दा भावुक नभइ रहन सक्दिन। हुन पिन हामी असाध्यै निकट छौं। उनी मेरो आखाँमा हेरेरै म ठिक छु वा छैन भन्न सक्छन्, मुखले केहि भन्नै पर्दैन।

हाम्रो आत्मियता प्रस्ट्याउन एउटा रमाईलो घटना सुनाउँछु।

२०११ को कोरिन्थियन्स सेसनमा हामीले कमाल गर्यौं भन्ने त धेरैलाई थाहै छ। हामीले क्याम्पेनाटो ब्रासिलेरो उपाधी जितेका थियौं। त्यो जितपछि हामीमध्ये धेरैलाई धेरैतिरबाट अफरहरु आउन थाले। म इन्टर मिलानको रोजाइमा परें।

मलाई कस्तो आपत आइलाग्यो भने मिलानका एजेन्टले मलाई १५ मिनेटभित्र निर्णय दिन भने। हाम्रो ट्रेनिङ शुरु हुनै आँटेको थियो। म कुद्दै टिटेको अफिसमा गएँ। सासै नफेरी सबै कुरा भनें र सोधें, 'बोस, के गरौं? मिलान संसारकै ठूलोमध्येको क्लब हो।'

टिटेले भने, 'हेर, निर्णय त तिमीले नै गर्ने हो। पक्कै पनि म त तिमी बस भन्ने चाहन्छु। तर जीवन तिम्रो हो। चेन्जिङ रुपमा जाऊ। ठण्डा दिमागले सोच। निर्णय गरेपछि बाहिर आऊ। बस्न चाहेको खण्डमा मतिर हेरेर थम्ब्स अप गर, जान चाहेमा थम्ब्स डाउन गर। म कुरो बुझिहाल्छु।'

उनी मैदान छिरे, म पनि 'हस्' भनेर फरक्क फर्किएँ।

चेन्जिङ रुमबाट मैदान फर्किंदा टिटे मलाई नै हेरिरहेका रहेछन्। मैले एक्कैछिन् केहि पनि गरिन। अलिअलि नाटक गर्नुपर्‌यो नि त !   केहिबेरपछि बल्ल थम्ब्स अप गरें।

पछि टिटले लामो श्वास फेर्दै भने, 'हे भगवान, म त जान्छौ कि भन्ठानेको।'

उनीसँग मैले ४ बर्ष सँगै काम गरें। ती मेरा जीवनका सुनौला दिन थिए। त्यसपछि म टोटनह्याम गएँ। त्यहाँ मैले धेरै राम्रो गर्न सकिन। मैले धेरैको विश्वास गुमाएँ। त्यस्तो अवस्थामा पनि मलाई कसैले विश्वास गर्‌यो भने ती टिटे थिए।

मेरा स्पोर्सका दिनहरु पनि खराब दिन थिए। म स्पोर्स जतिसक्दो चाँडो छाड्न चाहन्थें। स्पोर्सले मेरा निम्ति गोन्जहाउ एभरग्रान्टबाट राम्रो अफर पाएछ। मलाई पनि लाग्यो, यहाँभन्दा त बरु चाइना नै ठिक छ।

चाइना जाने कुरा सुनाउँदा मेरा साथीहरुले मलाई बौलाएको भन्ठाने। 

'चाइना? धत्, चाइना पनि कोहि जान्छ?'

म भन्थें, 'हो, म जाँदैछु। हेरौं।'

म जब जब अप्ठ्यारोमा हुन्थें, डानी एल्भिसका वाक्य सम्झन्थें। मेरा लागि एक किसिमको दर्शन नै थियो भन्दा हुन्छ त्यो। उनले भनेका थिए, ' हेर् केटा, फुटबल हाम्रा लागि बच्चाहरु पानीमा खेलेको जस्तै हो। केहि बिग्रियो भने पनि के फरक पर्छ र? के संसारै सकिन्छ? सकिन्न बाबु। फेरि अर्को ठाउँमा खेलिन्छ। के ठूलो कुरो भयो?'

मैले जति खेलें, बडो रमाइलोसँग खेलें। कुनै पनि खेलाडी ठूलो क्लबबाट खेल्छ तर स्यमं दुखी छ भने त्यसको के अर्थ भयो?

चाइना जाने निधो गरेपछि मान्छेहरुले यसको करियर सकियो भने। तर म आठ आठ घण्टा बस चढेर जब म चौंथो डिभिजनमा खेल्न जान्थें, कसैले मलाई चिन्दा पनि चिन्दैनथ्यो। म त चिहानमा थिएँ यार ! संसारका लागि मुर्दासरी थिएँ।

चाइना जाँदै गर्दा म साँच्चीकै खुसी थिएँ। त्यो अर्कै कुरा हो कि त्यतिखेर म वर्ल्डकप खेल्ने सपना देखिरहेको थिइन। बार्सिलोना त झन् सोच्ने कुरै भएन। राम्रो फुटबलखेलौं, बस् मेरो उद्देश्य त्यत्ति थियो।

त्यसैताका टिटे ब्राजिल राष्ट्रिय टिमको मेनेजर बने। म उनका लागि निकै खुसी भएँ, किनकी उनी त्यो भूमिकाका लागि असाध्यै योग्य मानिस थिए। पछि भेट्दा मैले बधाई दिंदै भने, 'प्रोफेसर, तपाइँ जहिल्लै योग्य खेलाडीका बारेमा कुरा गर्नुहुन्थ्यो। मलाई त्यतिबेलै थाहा थियो, तपाइँ पनि राष्ट्रिय टिमको मेनेजर बन्न योग्य हुनुहुन्थ्यो र एक न एक दिन अवश्य बन्नुहुनेछ।'

इमान्दारीका साथ भनौं? उनले मलाई राष्ट्रिय टिममा डाक्लान् भनेर मैले सोचेकै थिइन।

पछि एकदिन तीनले छोरो मेथ्युसलाई मेरो खेल हेर्न चाइना पठाए। चाइनामा हामीले राम्रै गर्दैथियौं। धेरै ट्रफिहरु पनि जितेका थियौं। पाउलिन्हो चाइनामा के गर्दैछ भनेर टिटेलाई अचम्म लागेको थियो होला, त्यसैले त छोरोलाई पठाए। तर ट्राफिक जाममा फसेका कारण म्याथ्युसले मेरो खेल हेर्न पाएनन्।  त्यसलाई मैले सामान्य रुपमा लिएँ। लाग्यो, आखिर उनीहरुलाई मेरो बारेमा राम्ररी थाहा छदैंछ नि।

म्याथ्युस फर्किए। त्यसपछि धेरै दिन बिते, तर त्यस्तो नयाँ केहि कुरा आएन। म कुरेको कुर्‌यै भएँ। त्यसैको केही सातापछि क्वालिफाइका लागि टिम घोषणा भयो, जसमा मेरो नाम पनि सामेल थियो।

धेरैले भने, 'ऊ त चाइनामा छ, कसरी टिममा हुन सम्भव छ?'

टिटेले मलाई पाउलिन्हो मरेको छैन भनेर विश्वसामु प्रमाणित गर्ने मौका दिए। मैले क्वालिफाइमा धेरै पटक प्रमाणित गरें पनि। फुटबलमा निर्णायक कुराले मूर्त रुप लिन सेकेन्डभर पनि लाग्दैन। म त्यति प्राविधिक खालको खेलाडी त होइन, तर प्राप्त भएका हरेक अवशरमा मैले आँफुलाई अब्बल सावित गरेको छु। फुटबलमा यस्तै हुन्छ, जे हुन्छ निमेषमै हुन्छ। कसैले सोच्न पनि सक्दैन। बस्, अवशरलाई समात्न सक्नुपर्‌यो।

ट्रेनिङका क्रममा टिटे जहिल्यै नेयमार, काउटिन्हो, जिसस र मार्सेलोतर्फ हेर्दै मजाक गर्छन्, 'रिबाउण्ड बल आँफै पाउलिन्होको खुट्टा खोज्दै जान्छ भन्ने थाहा पाउँदा पाउँदै पनि हामी आक्रमणका क्रममा हमेसा तम्तयार रहनुपर्छ।'

म भन्थें, 'होइन प्रोफेसर, तपाइँ जहिल्यै योग्यताको कुरा गर्नुहुन्छ। हामी त्यहाँ स्कोर गर्नका लागि तम्तयार रहनुपर्छ।'

जब म फाइनल स्क्वाडमा छानिएँ, त्यो मेरा लागि मात्र नभई मेरो सिंगो परिवारका लागि गर्वको पल थियो।

मान्छे मलाई सजिलै गोन्जहाउबाट बार्सिलोना गएको भन्ठान्छन्। त्यसपछाडिको संघर्ष कसैले देख्दैनन्। जतिबेला म बार्सिलोनामा आवद्ध हुँदैथिएँ, मेरो जीवन नाटकीय मोडबाट गुज्रँदै थियो।

त्यतिखेर बारबराको पेटमा हाम्रा जुम्ल्याहा बच्चा थिए। डाक्टरका अनुशार ती क्रिसमसको ठिकअगाडि डिसेम्बरमा जन्मँदै थिए। तर भइदियो के भने, बारबरालाई अक्टोबरमै पेट दुख्न थाल्यो। उनी अस्पताल जाम् कि जाम् भनेर कराउन थालिन्। जस्तोसुकै समस्या किन नहोस् , कहिल्यै अस्पताल जान नमान्ने बारबराले आँफैं अस्पताल जाऔं भन्दा मलाई पक्कै केहि गडबड छ भन्ने लाग्यो।

अस्पतालमा केहि टेस्टपछि उनलाई सिधै आइसियु लगियो। २८ हप्तामै बच्चा होलाजस्तो भयो, जुन स्वास्थ्यको हिसाबले निकै खतरनाक मानिन्थ्यो। डाक्टरहरु कष्ट सहेर भए पनि बारबराले थप दुइ हप्ता बच्चाहरुलाई पेटमै राखुन् भन्ने चाहन्थे, ताकि तीनका अंगहरु राम्ररी विकसित होउन्।

ब्राजिलबाट मेरो बुबाआमा फोन गर्नुहुन्थ्यो,

कस्तो छ? ती बाँच्न त बाँच्छन्? हँ?'

यस्ता प्रश्नले मेरो सातो जान्थ्यो।

बारबराले त्यो पिडा २१ दिनसम्म झेलिन्। ती दिनहरु हामीले कसरी बितायौं होला? तिनताका म कुर्सीमै निदाउथें। ती दिनमा पनि मैले खेल जारी राख्नुपर्‍यो। बच्चा नजन्मँदै च्याम्पियन्स लिगका लागि म ग्रिस जानुपर्‍यो। मैले केहि गर्न सक्दिनथें। जहाज नचढि धरै पाइन।

खासमा मेरी श्रीमती एक योद्धा हुन्।

म ग्रिस हिंडेकै राति फोन गरेर बारबराले छोरी सोफिया र छोरा त्जे पेर्दोको जन्म भएको शुभसमाचार सुनाइन्। म यति रोएँ, यति रोएँ, के भनौं। हाम्रा दुबै सन्तानलाई दुइ महिना अस्पतालमै राख्नुपर्‌यो। उनीहरु स्वास्थ्य राम्रो भइसकेको थिएन। बडो गाह्रो समय थियो त्यो। यस्तो बेलामा मलाई फुटबल बडो बेकारको लाग्छ। मान्छेहरु मैले मैदानमा गरेको प्रदर्शनबारे कुरा गरिरहेको हुन्थे, तर म निकै कष्टकर समयबाट गुज्रिइरहेको हुन्थें। ट्रेनिङका क्रममा पनि मलाई अस्पतालमा ट्युवको तान्द्राङतुन्द्रुङमा झुण्डिएका बच्चाहरुकै मात्र झल्को आउँथ्यो।

मैले जम्मै श्रेय मेरी श्रीमतीलाई दिनुपर्छ। असली नायक उनै हुन्। मैले त फुटबलमात्रै खेलें। उनले त बच्चाहरुका लागि संघर्ष गरिन्। बच्चाहरु खतरामा हुँदा आमाले कति संघर्ष गर्छिन् भन्ने कुरा सोच्न पनि सकिन्न,  एउटी आमाले कहाँबाट त्यत्रो शक्ति प्राप्त गर्दिहुन् , मलाई अचम्म लाग्छ।

गएको डिसेम्बर २३ मा बल्ल सोफिया र त्जे पेर्दो घर आए। मैले प्राप्त गरेको योभन्दा ठूलो क्रिसमस गिफ्ट अरु केहि छैन।

मान्छेहरु सोध्छन्, 'बाफ रे बाफ, चाइनाबाट बार्सिलोना। भएन भनेर अहिले विश्वकप ! कस्तो लागिरहेको छ?'

मलाई थाहा छैन। फुटबल आरोह अवरोहले भरिपुर्ण हुन्छ। केहि भन्नै सकिंदैन। तर म सुपर लिग खेल्दाताका जस्तो थिएँ, आज पनि त्यस्तै छु झैं लाग्छ। चाइनाबाट बार्सिलोना जानु अवश्य अविश्वसनीय थियो, तर यो कुनै जादुका कारण भएको थिएन। मेरो लागि यो जीवनमरणको कुरा होइन, केवल फुटबल हो। बरु जादु त त्यो हो, हारजित जे सुकै होस् तर जब फुटबल खेलेर घर फर्किदाँ मेरा छोराछोरी पुलुक्क मलाई हेर्छन्, र तीनका आँखाले भनिरहेका हुन्छन्, 'ओला पापाई !'

अर्थात् 'हेलो बाबा !'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.