|

चितवन : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको अंग पुर्‍याउन खोज्दा मुद्धा लम्बिएको चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले जानकारी दिए। मुद्धा फैसला प्रक्रियामा बाह्य दबाब नरहेको भन्दै उनले जाहेरवाला नुरप्रसाद अधिकारी नआएकोमा मुद्धा ढिलाइ भएको दाबी गरे।

आज अदालतले गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले भने, 'उजुर गर्ने मान्छेलाई खोजी गरिरहेका छौं, मुद्दा चलाउनेलाई ल्याइदेऊभन्दा राज्यले ल्याउँदैन।' हरेक मुद्दाको फैसलामा कानुन सँगसँगै विवेक पनि प्रयोग गर्नुपर्ने भन्दै उनले मुद्दाका वादी प्रतिवादीलाई आफ्ना कुरा अदालतसमक्ष राख्ने मौका दिनुपर्ने बताए।

उक्त घटना २०६१ सालमा भएर २०७० सालमा अदालतमा मुद्धा पुगेको थियो। त्यो बीचमा प्रहरीमै मुद्धा घुमेको थियो। गम्भीर प्रकृतिको मुद्धा भएकाले समय लिएको समेत उनको भनाइ थियो। अदालतले ०७४ फागुन १३ गते जाहेरवाला नुरप्रसादलाई अदालतमा झिकाउन आदेश दिएको थियो।

तर नुरप्रसाद हालसम्म पनि अदालतको सम्पर्कमा छैनन्। उनी नआए पनि प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। उक्त मुद्धाको पेसी आउँदो साउन २० गते तोकिएको छ।  मुद्दाका एक आरोपी छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए।

कृष्णप्रसाद अधिकारीको बि.सं. २०६१ जेठ २४मा चितवनको रत्ननगरमा हत्या भएको थियो। एसएलसी परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएको समयमा रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो। घटनाको जिम्मा तत्कालीन नेकपा माओवादीले लिएको थियो।

लामो समयसम्म कारबाही नभएपछि कृष्णप्रसाद अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए। अनुशनकै क्रममा नन्दप्रसादको मृत्यु भइसकेको छ भने गंगामाया अझै अनशनमै छिन्।

अनबन र दबाब बढेपछि सो मुद्धा २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा दायर भएको थियो। सो घटनामा १३ जना प्रतिवादी कायम भएका थिए। सो मुद्दाका एकजना अभियुक्त रुद्र आचार्य अदालतमा पुगेका छैनन्।

चितवन जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै मुद्धा सर्वोच्च अदालत पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्ने आदेश भएको थियो। आइतबार भने उनी आफैँ अदालत पुगे।

यो मुद्दामा गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भन्ने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालिप्रसाद अधिकारी, 'भीमसेन' भन्ने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारी आरोपी हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.