|

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय महोत्तरीले सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमन विक हत्या अभियोगमा कसैलाई पक्राउ गर्नु भनी लिखित पत्र प्राप्त नभएको प्रतिक्रिया दिएको छ ।

‘उच्च अदालत जनकपुरबाट पक्राउ गर्नु भनी आदेश दिएको रहेछ',प्रहरी उपरीक्षक कुवेर कडायतले थाहा खबरसँग भने,'थाहा पाए पनि अधिकारिक पत्र प्राप्त नभइसकेकोले केही भन्न सक्दैनौँ।’ 

कडायतले थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीले यस अघि नै हाजिर ७० दिने म्याद दिए पनि सो अवधिमा हाजिर नभएको र हाल उच्च अदालतको निर्णय पर्खिएर बसेको बताए ।  ‘उच्च अदालतको पत्र प्राप्त भएपछि लिखितमको आधारमा कानूनी प्रक्रिया अनुसार पक्राउ गर्नेछौँ।’    

२०७२ भदौ २५ गते सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक थमन विकको हत्या आरोप लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र प्रदेशसभा सदस्य कौशलकुमार यादव र महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई पक्राउ गर्न उच्च अदालत जनकपुरले श्रावण २५ गते परमादेश दिएको थियो । 

उच्च अदालत जनकपुरका न्यायधीश माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले हत्या आरोपीलाई अविलम्ब पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रमुखको नाममा परमादेश जारी गरेको थियो।

जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलास समक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरे पनि हाल सम्म उपस्थित नभई अटेरी गरिरहेका थिए । 

पक्राउ गर्न भनिएका राज्यमन्त्री शर्मा र नगर प्रमुख मिश्र राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका हुन् भने, यादव महोत्तरी निर्वाचन क्षेत्र नं. ४(क) बाट संघीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनीहरू माथि तेश्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको आक्रमणमा परेर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोप छ।    
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.