|

प्रदेश २ को नामाकरणमा दलहरु बीच अन्योल
गोविन्द महतो 

जनकपुरधाम तराई–मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश २ को नामकरण सम्बन्धमा सरकार नेतृत्वको दुई दल तथा सरकार समर्थक र प्रतिपक्ष बीच दलको विवाद देखिएको छ। प्रदेशको नाम र स्थायी राजधानी तथा कामकाजी भाषा तोक्न प्रदेशसभामा औपचारिक प्रस्ताव हालसम्म नगए पनि सम्बन्धित दल र प्रदेशसभाका सदस्य बीच यी विषयमा अनौपचारिक छलफल भइरहेको छ। 

प्रदेश २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सम्मिलित सरकारमा ‘मधेश प्रदेश’ को अवधारणामा अघि बढ्ने बताए। प्रदेश २ को आर्थिक योजना मन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका यादवले भने, ‘फोरम राजपाको एउटै धारणा छ र त्यो हो मधेश प्रदेश।’ प्रदेश २ को ८ जिल्ला मात्र मधेश नभए पनि नामकरण भएपछि अन्य जिल्लालाई यहाँ कसरी ल्याउन भनेर रणनीति तयार गरिने उनले बताए।  

प्रदेश २ को नामकरण सम्बन्धमा औपचारिक रुपमा पार्टीमा छलफल भई राष्ट्रिय जनता पार्टी नेपालले अनौपचारिक रुपमा ‘मधेश प्रदेश’मा आन्तरिक सहमति जुटेको राजापाका सचेतक परमेश्वर साहले जानकारी दिए। ‘संसदमा प्रदेश नामाकरण, भाषा तथा राजधानीको विधेयक पेश भएर मात्र नहुने भएका कारण तत्कालका लागि समाजिक महत्त्वका विषयलाई प्राथमिकता दिएर अगाडि बढाइँदैछ’, उनले भने। प्रदेशको राजधानी, कामकाजी भाषा र नामकरणका लागि दुई तिहाइ आवश्यक पर्ने भएका कारण सबै दलहरुबीच सैद्धान्तिक सहमति पछि मात्र विधेयक ल्याउने तयारी गरिने बताए। 

नेकपा कम्युनिष्ट पाटी (तत्कालीन एमाले) संसदीय दलका नेता सत्यनारायण मण्डल भने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले यस प्रदेशको नामाकरण जानकी प्रदेश उपयुक्त हुने धारणा राख्छन्।  ‘हिन्दुहरूको आस्थाको केन्द्र रहेका कारण जानकी प्रदेश वा मिथिला प्रदेश हुनुपर्छ’, नेता मण्डलले भने, ‘नामैले पनि विश्वभरका मानिस जनकपुरधामप्रति आकर्षित हुन्।’ 

प्रदेश २ को सरकारले बजेटमा हिन्दी भाषा तथा नाराको प्रयोग गरेर नेपालको नेपाली, मैथिली, भोजपुरी लगायत अन्य भाषामाथि हिन्दी लाद्न खोजेको आरोप उनले लगाए।  

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश नामाकरण, भाषा र राजधानी टुंगो लगाउन दुई तिहाइ बहुमत चाहिएको र कुनै दलसँग बहुमत नभएका कारण सहमतिको आधार खोज्नुपर्ने बताए। ‘राजा जनकको छोरी मिथिला, र जनकपुरको प्राचीन सभ्यतालाई मध्यनजर गर्दै ‘मिथिला–भोजपुरा’ प्रदेशको अवधारणा हामीले राखेका छौँ’, ‘यहाँको भूगोल, जनसंख्या, भेषभूषा, संस्कृतिको आधारमा ४५ प्रतिशत मैथिलीभाषी रहेकाले ‘मिथिला–भोजपुरा’ उपयुक्त हुनेछ।’ उनले मधेशवादी दलको ‘स्वायत मधेश एक प्रदेश’ को नारा भएको र सो नारामा तराई २२ जिल्ला पर्ने भएका कारण अहिलेको यो अाठ जिल्ला मात्र मधेश प्रदेश स्वीकार नहुने बताए। 

नेकपाका नेता (तत्कालीन माओवादी केन्द्र) संसदीय दलका नेता रामचन्द्र मण्डलले प्रदेशको नाम ‘मिथिला–भोजपुरा’ राख्नुपर्नेतर्क गरे। ‘मिथिला प्रदेशले जनकपुर आसपासका जिल्लाहरूको प्रतिनिधित्वमा खासै असर नपार्ला तर रौतहट, बारा र पर्सा जिल्लाका स्थानीयको अपनत्वको भाषा भनेको भोजपुरी हो’, उनले भने, ‘त्यसकारण पनि उपयुक्त नाम मिथिला–भोजपुरा हुन्छ।’ उनले सत्तारुढ दल फोरम र राजपाले मधेशलाई आठ जिल्लामा सिमिति गर्न खोजेको आरोप लगाउँदै उनले मधेश २२ जिल्लाको भू–भाग रहेका कारण यहाँ मात्र सीमिति गर्न नहुने बताए।

मिथिला–भोजपुरा, मधेश, मध्य मधेश, जानकी, मिथिला, मध्य मिथिला मधेश प्रदेश जस्ता नाम चर्चामा आए पनि ऐतिहासिकता, भूगोल, जाति, संस्कृति र साझा पहिचानका लागि नाम उपयुक्त हुने विश्लेषकहरूको भनाइ छ। 

प्रदेश २ मा कुल १०७ प्रदेश सदस्यसभा सदस्यमध्ये सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल २९, राष्ट्रिय जनता पार्टी नेपाल २५ सदस्य गरी ५५ जनाको बहुमतको सरकार छ। यसैगरी प्रदेश २ मा नेकपाका ३२ (एमाले २१, माओवादी ११) कांग्रेसका १९, नेपाल संघीय समाजवादी पार्टीका १ प्रदेशसभा सदस्य छन्। 

२० हजार ३ सय वर्गकिलोमिटर क्षेत्रफल (नेपालको कूल भूभागको १४ प्रतिशत) ओगटेको यस प्रदेशमा ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या र ३० लाख ७४ हजार ४ सय १२ मतदाता छन्। यो प्रदेशमा पूर्वमा देखि पश्चिम सम्म सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ जिल्ला छन्।

यहाँ बोलिने मुख्य भाषा मैथिली, भोजपुरी तथा नेपाली हो। दक्षिणी छिमेकी भारतको सिमानासँग प्रदेश जोडिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.