'हुँदै भएन भने त्यही बेला सोचौँला'

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्षमध्येका एक पुष्पकमल दाहाल प्रचण्डले मुलुकका प्रमुख मुद्दाहरूमा केही प्रश्न उठाएका छन्।

खुमलटारस्थित आफ्नै निवासमा मंगलबार सम्पादकहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन्।

उनले भने, 'तपाईंहरूले लेखेको पनि मैले हेरिरहेको छु। म जिल्ला जिल्लामा जाँदा पनि फिडब्याक पाइरहेको छु तर जनताले सुविस्ता पाएका छैनन्। जनअपेक्षा पूरा भएको छैन। चिज मिलिराखेको छैन।'

राजनीतिक स्थिरताबाटै विकास र समृद्धि संभव हुने भएका कारण पार्टी एकता गर्नुपरेको उल्लेख गर्दै प्रचण्डले प्रश्न गरे, 'जे कामका लागि पार्टी एकता गरेर स्थिर सरकार बनाइयो, त्यसअनुसार भयो त?'

सरकारको कामकारवाही सुधार्न सकिने पहलकदमी लिने योजना पनि अध्यक्ष प्रचण्डले सुनाए। उनले भने, 'अब केपीजीसँग कुरा गर्छु। पार्टी हाइकमाण्डमा छलफल गरेर करेक्सन गर्ने कोसिस गर्छु।'

अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा भएको समझदारीलाई आफूले नभुल्ने बताए। उनले ती सहमति भुलेर आफूले हतार वा गडबढ नगर्ने स्पष्ट गरे। उनले थपे, 'म हतार गरेर अर्को कदम चाल्दिनँ। हुँदै भएन भने त्यही बेला सोचौँला।'

पार्टी एकता

अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा सरकारको नेतृत्व आलोपालो हुने सहमति भएको स्मरण गरे। 'महाधिवेशनसम्म आलोपालो गर्ने नै हो। सरकारको पनि त्यही हो। पार्टीको पनि त्यही हो। अहिलेसम्म कन्फ्युजन छैन', उनले संभावित भविष्यबारे भने, 'भोलि के हुन्छ थाहा छैन।'

संघीयता कार्यान्वयन

करिव सवा घण्टा पत्रकारहरूसँग बिताएका अध्यक्ष प्रचण्डले संघीयता कार्यान्वयनमा देखिएको चुनौतीबारे पनि चिन्ता व्यक्त गरे।

संघीयतालाई इमान्दार भएर कार्यान्वयनमा लाग्न आग्रह गर्दै प्रचण्डले यसबारेको छलफल रचनात्मक हुनुपर्ने बताए।

संघीय र प्रदेश सरकारबीच दूरी बढेको बारे उनले भने, 'मुख्यमन्त्रीहरू धेरैजसो केपीजीप्रति लोयल नै हुनुहुन्छ। अहिले पनि उहाँहरूलाई पार्टीको जिम्मेवारी दिइएको छ। पोखरामा मुख्यमन्त्रीहरूको भेला केपीजीलाई मनपरेनछ। त्यसो नगरेको भए हुने थियो भन्ने उहाँलाई लागेको हुनुपर्छ। त्यसै कारणले केही असझदारी देखियो।'

मुख्यमन्त्रीहरूले नै प्रधानमन्त्रीसँग भेट्न नपाएको सन्दर्भमा प्रचण्डले 'प्रधानमन्त्रीले भेटेको भए राम्रो हुने थियो, म भए बोलाइहाल्ने थिएँ' भन्ने टिप्पणी गरे।

उनले संघीयताको कम्तीमा १० वर्ष अभ्यास गरेर मात्र त्यसबारे छलफल गर्न उचित हुने धारणा राखे। विगतका परम्परागत शक्तिहरूलाई संकेत गर्दै उनले भने, 'संघीयतामा देशलाई लैजानुपर्छ भन्ने र संघीयता ठीक त होइन तर आइहाल्यो अब मान्नुपर्छ भन्नेबीच फरक हुन्छ। समावेशी र समानुपातिक पद्धति चाहिन्छ भन्नु र अब परिवर्तन भइहाल्यो मान्नुपर्छ भनेर स्वीकार गर्नुबीच धेरै फरक हुन्छ।'

भारत-चीन सम्बन्धबारे

पत्रकारहरूसँगको भेटमा प्रचण्ड भारत र चीनसँगको सम्बन्धबारे अत्यन्तै संयमित ढंगले प्रस्तुत भएका थिए। उनले नेपालको परराष्ट्र सम्बन्ध भारत र चीन दुवैसँग सन्तुलित हुनुपर्ने मान्यता राखे। आफ्नो भारत र चीन भ्रमणको सन्दर्भ जोड्दै उनेले भने, 'एक दशकसम्म विकासका लागि सन्तुलित विदेश नीति लिएर अगाडि बढ्नुपर्छ।'

भारत, चीन र नेपालबीच त्रिदेशीय समझदारीको पक्षमा आफू पहिलेदेखि रहेको स्मरण गर्दै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि त्यस पक्षमा रहेको र चीनले पनि त्यसलाई सकारात्मक मानेको बताए।

१६ हजार मेघावाट बढी क्षमताको तल्लो कर्णालीलगायतका ठूला आयोजना त्रिदेशीय समझदारीमा बनाउन सके आपसी विश्वास र विकास दुवै हुने धारणा उनले राखेका थिए।

दुई त्रुटि स्मरण

नेकपाका अध्यक्ष प्रचण्डले विगतका आफ्ना दुई गल्ती पुन: स्मरण गरेका छन्।

पहिलो गल्ती उनले सम्झिए, 'मैले गिरिजाबाबुलाई राष्ट्रपति बनाउनै पर्थ्यो। त्यसो गरेको भए दुई वर्षमा संविधान पनि आउने थियो। शान्ति प्रक्रिया पनि चाँडै टुंगोमा लाग्ने थियो। मुलुकले गति लिने थियो।'

अर्को गल्ती भने भारतसँग जोडिएको थियो। आफू पहिलो पटक प्रधामन्त्री हुँदा भारतसँग दूरी बढ्नुलाई उनले फरक शब्दमा गल्ती भने,'१२ बुँदे समझदारी जहाँनेर गरिएको थियो. जोसँग जस्तो समझदारीमा गरिएको थियो। तिनीहरूलाई चिढ्याएर जानु हुँदैनथ्यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.