गाईको पूजा गरेर फलिफाप

|

काठमाडौं : आइतबार बिहान अनामनगरबाट बानेश्वर हाइटतर्फ जाने सडक छेउमै मानिसहरु गाईपूजा गरिरहेका थिए। दुईवटा साना बाच्छीहरु सडक किनारामा किला ठोकेर बाँधिएका थिए। घरघरबाट थालीमा पूजा सामग्री र गाईलाई खानेकुरा लिएर मानिसहरु पूजा गर्न आएका छन्। गाईको घाँटी मालाले भरिइसकेको छ।

'अब यी बाच्छीलाई भित्र लगेर अरु ल्याउने हो कि?' छेउमा बसेर पूजा हेरिरहेका नगेन्द्र पराजुलीले पत्नी शोभालाई भने। 'पख्नुस् न घाम लाग्न दिनुस्, एक छिन घाम पनि तापोस्' उनले भनिन्। खासमा यी बाच्छीहरु उनीहरुको गोठका रहेछन्। सडकदेखि एक कान्लामुनि उनीहरुको गोठ छ।

त्यहाँ ११ वटा माउ र ५ वटा बाच्छाबाच्छी छन्। 'गोठमा गएर पूजा गर्न साँघुरो हुन्छ। यहाँ गोठ छ भन्ने धेरैलाई थाहा पनि छैन। 'त्यसैले हामी वर्षेनी गाईतिहारको दिन सडक छेउमै गाई निकालिदिने गरेका छौं' नगेन्द्रले भने।

हिन्दु धर्माबलम्बीहरुमा गाई पवित्र जनावर मानिन्छ। कुनै पूजाआजाका लागि गाईको गोबरले भुइँ लिप्ने, गाईको दूध चढाउने र धार्मिक कार्यमा गाईदान गर्ने चलन छ। त्यसैले पूजाआजाका लागि दूध र गोबर लिन आउनेहरु पनि धेरै हुन्छन्।

तर पराजुली परिवारले खास गाई पालेको भने दूध बिक्री गर्नकै लागि हो। यो काम उनीहरुले १५ वर्षअघि संखुवासभाबाट काठमाडौं आउने बित्तिकै सुरु गरेका थिए। तर व्यवस्थित रुपमा ठूलो आकारमा गरेको भने ४ वर्षमात्र भयो।  

'तपाईँले गर्नुभयो त गाईपूजा?' प्रश्नमा नगेन्द्रको जवाफ थियो- 'हामी त हरेक दिन गाई पूजा नै गरिरहेका छौँ।'

संखुवासभाबाट काठमाडौं

संखुवासभाको मकालु गाविसबाट १५ वर्षअघि काठमाडौं आएका थिए पराजुली दम्पत्ति नाबालक छोराहरु पढाउन। अरु पेशा गर्नुभन्दा गाउँघरमा हुँदा जानेको पशुपालन नै गर्ने योजना बनाए। त्यसै अनुसार १ लाख १० हजारमा गाई फार्म नै किने। तर १ महिनामा नै बेच्नुपर्‍यो। 'जसले बेचेको हो उसले सँधै आएर किचकिच मात्र गर्‍यो। म अरुको किचकिच धेरै सुन्न सक्दिन अनि उसैलाई बेचिदिएँ' नगेन्द्रले सुनाए।

त्यसपछि नगेन्द्र पैसा कमाउन कतार गए। शोभाले दुई वटा गाई पालेर छोराछोरी पढाउन थालिन्। नगेन्द्रले विदेशमा राम्रो कमाउन सकेनन्। उनी विदेश गएको ऋण तिरेर मात्र फर्किए। 'कतारमा मैले एक वर्ष त तलब नै नलिई काम गरेको छु खान पनि राम्रोसँग पाइएन। त्यहाँबाट भागेर अर्को ठाउँमा गएर विदेश जाँदाको ऋण तिरेँ त्यसपछि फर्किएँ', उनले भने।

फर्किएपछि नगेन्द्रले पत्नीले सुरु गरेकै कामलाई नै अगाडि बढाउने संकल्प गरे। थप गाई किनेर ल्याए। 'अहिले त्यहाँ (कतारमा) भन्दा डबल तिर्बल कमाएको छु, अरुको काम गर्नु भन्दा त बरु गोबर सोहर्नु ठीक' उनले गाईपालनमै सन्तुष्टि ब्यक्त गरे।  

उनीहरुले दिनमा ५० लिटर दूध बेच्छन्। लिटरको ९० रुपैयाँको दरमा। किन्ने मान्छेहरु घरमै आउँछन्। दुई छोरालाई पढाउन यसैबाट खर्च जुटाएका छन्। जेठा छोरा विशालले बीबीए सिध्याए भने कान्छा खगेन्द्रले प्लस टु सिध्याए।

नगेन्द्रले गाई पाल्न वर्षमा २ लाख रुपैयाँको त पराल नै किन्छन्। मासिक ७० हजार रुपैयाँको चोकर किन्छन्। १ रोपनी जमिनको भाडा महिनाकै १० हजार तिर्छन्। पानीको मासिक ५ हजार तिर्छन्। 'खर्च चर्को छ, धेरै फाइदा त छैन' उनले भने।

गाईको स्याहार सुसार, गोठको सरसफाइ र घाँसपानी नगेन्द्रका पति पत्नी र दुई छोराले नै भ्याएका छन्। गाईतिहारको दिन पराजुली दम्पत्ति गाईपूजामा ब्यस्त भएका बेला छोराहरु विशाल र खगेन्द्रले पानी र पिठो घोलेर खुवाए, अनि पराल हालिदिए। 'यिनीहरुलाई फुर्सद भएका बेला सघाउने हुन्। नभए हामी दुई जनाले मात्र हो' छोराहरुतिर देखाउँदै नगेन्द्रले भने। बिहान बेलुका गाईलाई घाँस पानी खुवाउन छोराहरुले सघाउने गरेका छन्। गाईको भकारो सोहर्ने, दिउँसो घाँस काट्ने नगेन्द्रकै पतिपत्नीले हो। काठमाडौंमा यति धेरै गाईलाई घाँस जुटाउन भने समस्या नै छ। खोला किनार र सिंहदरबारभित्रका खाली ठाउँबाट घाँस ल्याउँछन् उनीहरुले।

उद्यमको नशा

नगेन्द्रका जेठा छोरा विशालको पनि गाई फार्ममा नै मन गढेको छ। उनले देशका गाई फार्महरुको भ्रमण गर्नुका साथै विदेशका फार्महरुको पनि इन्टरनेटबाट अध्ययन गरेका छन्। 'हामीजस्तो युवाहरुले २०/३० हजारको जागिर खानुभन्दा त यसरी व्यवसाय नै गर्नुपर्छ' उनी भन्छन्। उनीसँग गाई पालनका ब्यवसायिक योजना पनि छ तर अहिले सार्वजनिक गर्न चाहँदैनन्। बुबाकै पेशालाई निरन्तरता दिने विचार छ कि भन्ने प्रश्नमा उनी भन्छन् ' म गाई नै पाल्छु भन्ने त छैन तर म उत्पादनमुलक क्षेत्रकै व्यवसाय गर्छु' भर्खरै बीबीए सकेका उनले भने।

छोराहरु गाई पालनमा नै लागुन् भन्ने चाहना बुबा नगेन्द्रको पनि छैन। उनलाई लाग्छ नेपालमा सबैभन्दा दुखको पेशा पशुपालन नै हो। 'अरु पेशामा बिदा हुन्छ, बिरामी हुन पनि पाइन्छ, तर यो पेशामा बिरामी हुन पनि पाइँदैन' उनले भने। नेपालमा सबैभन्दा पिछडिएको र हेपिएको पेशा पशुपालन नै हो भन्छन् नगेन्द्र। तर उनी यसैमा रमाइरहेका छन्। उनी निकै मेहनतले गाई स्याहार सुसार गर्छन्। सानातिना स्वास्थ्य समस्याको उपचार र औषधीमुलो आफै गर्छन्। 'मेरोमा गाई सितिमिति मर्दैन, म गाईलाई एकदम माया गर्छु' उनले भने।

सरकारलाई एउटै सुझाव छ नगेन्द्रको 'कम्तिमा किसान चिनोस्। अनुदानभन्दा समयमा र सस्तो दरमा सेवा दिनुपर्‍यो।' एउटा गाईलाई कृत्रिम गर्भाधान गराउन नगेन्द्रले सरकारी डाक्टरलाई एक हजार रुपैयाँसम्म तिर्नुपरेको छ। 'डाक्टरहरुले सेम केसमा पनि फरक फरक रेट लगाइरहेका छन्। सेवा सजिलो बनाइदेओस्।' गाई फार्म धितो राखेर सुलभ दरमा ऋण लिन पाउने व्यवस्था गर्न पनि उनको सुझाव छ।

नगेन्द्रलाई छोराहरुले पढाइ पूरा गरेर आफ्नो खुट्टामा उभिन सक्ने भएपछि गाउँ फर्किने चाहना छ।  उनको गाउँमा माध्यमिक तह पढाउने स्कुल पनि छैन। सडक पनि पुगेको छैन। 'म जस्ता दुई चार जना गाउँमा नभएसम्म डोजर पनि पुग्दैन' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.