|

काठमाडौं : नेपाली सेनाका क्याप्टेन दीपक बोहोराले दशैँमा घर गएर जमरा र टीका नथापेको १९ वर्ष भयो। सुदूरपश्चिम प्रदेशको बैतडी पुरचौडी नगरपालिका-३ मा जन्मिएका उनी हाल नेपाली सेनाको श्री गरुड गण डडेल्धुरामा कार्यरत छन्। यसअघि सेनाको जंगी अड्डा भद्रकालीमा कार्यरत उनी केही महिनाअघि मात्र डडेल्धुरा पुगेका हुन्।

नेपाली सेनाको क्याप्टेन हुनुपूर्व दीपक तत्कालीन माओवादी पार्टीले संचालन गरेको १० वर्षे सशस्त्र युद्धका बटालियन कमाण्डरसमेत हुन्। १० वर्षे युद्धबाट देश शान्ति प्रकिया हुँदै तत्कालीन जनसेना नेपाली सेनामा समायोजन र माओवादी पार्टी नै राजनीतिक मूलधार हुँदै सरकारको नेतृत्व गर्दै नेकपा एमालेसँग पार्टी एकीकरण हुँदासम्म उनले दशैँको टीका थाप्न भनेर घर पुगेका छैनन्।

‘१९ वर्ष भयो घर गएर दशैँ तिहारको टीका थापेको छैन। एक दशक युद्ध र संघर्षको मैदानमा बित्यो। त्यतिखेर जीवनको आशा थिएन। न बस्ने बासको न एक छाक खानाकै ठेगान हुन्थ्यो। कतिखेर कहाँ के हुने हो, थाहा हुँदैनथ्यो। त्यो समयमा केको दशैँको वास्ता हुन्थ्यो?’, उनले थपे, 'पार्टीले शान्ति प्रक्रियाको बाटो लिएपछि नेपाली सेनामा समायोजन गरियो। पल्टनेको दशैँ कहाँ घरमा हुन्छ? पल्टनभित्रै सामान्य रमझम गर्‍यो, त्यही हो हाम्रो दशैँ’, बोहोराले भने।

दशैँ नेपालीहरूको महान् चाड हो। वर्षमा एकचोटि हर्षोल्लासका साथ मनाइने गर्छ। दशैँमा वर्षौंसम्म टाढा रहेका आफन्तजनहरू जमघट भई एकआपसमा सुखदु:ख साटासाट गर्दै शुभकामना र आशीर्वादसमेत आदान प्रदान गर्ने गरिन्छ।

तर क्याप्टेन बोहोराले भने करिब दुई दशकसम्म घरपरिवार र आफन्तहरूसँग दशैँ मनाउन पाएका छैनन्। उनी भन्छन्, ‘दिनरात भोकतिर्खा, दु:खकष्ट, घरपरिवार, आफन्त नभनी देशको शान्ति र सुरक्षामा खटिनुपर्छ। दु:ख मानेर नहुनेरहेछ।’

बोहोरा २०५६ सालबाट पूर्णकालीन माओवादीका जनसेना भएका थिए। जनसेनाका बटालियन कमाण्डरसमेत भइसकेका हुन् उनी। २०६९ सालबाट भने बोहोरा नेपाली सेनाका क्याप्टेन भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.