१३ वर्षदेखि किसान संघको महाधिवेशन भएन, तरुण दल चार सदस्यीयमै सीमित

|

काठमाडौं : नेपाली कांग्रेसभित्र अहिले नेपाल विद्यार्थी संघको विवादले द्वन्द्वको रूप लिएको छ। नेविसंघको विवादका कारण पार्टीका नेताहरू समूहत रूपमा विभाजित भएर एकअर्काको आरोप प्रत्यारोपमा लागेका छन्।

विशेष गरेर नेविसंघमा सभापति शेरबहादुर देउवा समूहले ३२ वर्षे उमेर हद लगाउँदै विधान पारित गरेपछि पार्टीभित्र नेताहरूबीच मनमुटावको अवस्था आएको हो। मंसिर २ भित्र नेविसंघको महाधिवेशन नभए नेविसंघ नै विघटन हुने अवस्थामा पुग्छ। दुई वर्षे कार्यकालमा नेविसंघले केही उल्लेख्य प्रगति गर्न सकेन तर पनि यो संगठनको निकै चर्चा छ। कांग्रेसभित्र १३ वटा भ्रातृ संगठन छन् तर जति नेविसंघको चर्चा छ, त्यति अरूको  छैन।

केही मात्रामा नेपाल महिला संघ र तरुण दलका बारेमा कहिलेकाहीँ चर्चा हुने गर्छ। अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन नभएको वर्षौं भइसक्यो तर ती संगठका बारेमा खासै चर्चा हुँदैनन्। कांग्रेसका सबै भ्रातृ संगठनको अवस्था डामाडोल छ। आन्तरिक चुनावहरू समयमा नगर्ने ‘कांग्रेसी चरित्र’ सबै भातृ संगठनहरूमा सरेको छ।

नेविसंघ पार्टीका नेता उत्पादनको थलोका रूपमा लिइन्छ। त्यस कारण पनि अरू भ्रातृ तथा शुचेच्छुक संस्थाभन्दा बढी नै चर्चामा आएको कांग्रेस नेता डा. शेखर कोइराला बताउँछन्। ‘नेविसंघलाई पनि के सक्रिय भन्ने र! अहिले विवादले मात्र चार्चामा अएको छ। कामचाहिँ केही गर्न सकेको छैन’, उनले भने, ‘नेविसंघ कांग्रेसको प्रोडक्सन हाउस भएकाले पनि अलिक चर्चामै आउँछ।’

नेपालको हरेक आन्दोलनमा नेविसंघको योगदान भएका कारण पनि सधैँ चर्चामा आउने गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महत बताउँछन्। ‘नेविसंघले हरेक आन्दोलमा सहभागिता जनाएको छ’, उनले भने, ‘अझ नेविसंघको नेतृत्व गर्ने सबैजसो पार्टीको नेतृत्व तहमा छन्। त्यस कारण पनि नेविसंघ चर्चामा आउने गरेको छ।’

कांग्रेसका अन्य भ्रातृ संगठनको निकै लामो समयदेखि महाधिवेशन हुन सकेको छैन तर यस विषयमा न पार्टी नेतृत्वको चासो छ, न सम्बन्धित नेतृत्वको नै। कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघको महाधिवेशन नभएको १३ वर्षभन्दा लामो समय भइसक्यो। यस संस्थाको अध्यक्ष नै संगठनका बारेमा बेखबर छन्। ‘एक वर्षअघि महाधिवेशन तयारी लागि बैठक बोलाएको थिएँ’, किसान संघ अध्यक्ष भानु सिग्देल भन्छन्, ‘मेरो बुबा बिरामी भएर महाधिवेशन गर्न सकिएन। फेरि गर्ने तयारी गर्दै छु।’ 

समयमा महाधिवेशन नगरेको भन्दै तत्कालीन सभापति सुशील कोइरालाले २०६८ सालमा सबै भ्रातृ संस्था विघटन गरेका थिए। त्यसपछि महाधिवेशनका लागि भन्दै तदर्थ समिति गठन गरियो। अहिलेसम्म १३ वटा भ्रातृ संस्थामध्ये छवटाको मात्र महाधिवेशन भएको छ। नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल महिला संघ, नेपाल भूतपूर्व सैनिक संघ, मुस्लिम संघ नेपाल र नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन भएको छ। 

तीमध्ये नेविसंघको मंसिर २ गते कार्यकाल सकिँदै छ। यस्तै, भूतपूर्व सैनिक संघको पनि दुई वर्षे कार्यकाल सकिएको छ। चैतसम्ममा महाधिवेशन गर्ने सैनिक संघको तयारी रहेको अध्यक्ष धनबहादुर मास्किरानाले जानकारी दिए। 

महाधिवेशन भएका भ्रातृ संगठन पनि विवादमा छन्। ती भ्रातृ संगठनले आफ्नो आन्तरिक बैठक पनि बोलाउन सकेका छैनन्। करिब ढेड वर्षअघि पोखरामा उद्घाटन भएको तरुण दल अधिवेशनले बन्दसत्रबाट नेतृत्व नै चयन गर्न सकेन। त्यसबेला शीर्ष तीन नेताले आफूअनुकूलका मान्छे राख्दै चार पदाधिकारीको तरुण दल बनाएका थिए। त्यसपछि त्यो समिति थपिनै सकेको छैन। 

नेपाल दलित संघको पनि अवस्था उस्तै छ। अध्यक्ष मीन विश्वकर्मा पार्टी राजनीतिमा छन्। संगठनको छ वर्षदेखि महाधिवेशन हुन सकेको छैन। नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन नभएको एक दशक नाघिसक्यो तर अहिलेसम्म महाधिवेशन हुन सकेको छैन। ससाना विषयले महाधिवेशन रोकेको अध्यक्ष टंकप्रसाद कँडेलको गुनासो छ। ‘महाधिवेशन गर्ने भनेको गत वर्ष चुनावले रोक्यो। अब संघीयता पनि आएको छ’, उनले भने, ‘पार्टीको महासमिति बैठक बसेपछि मात्र तयारी सुरु गर्छौँ।’

यस्तै, नेपाल आदिवासी जनजाति संघको महाधिवेशन नभएको दुई दशक हुनै लाग्यो। २०५८ सालमा महाधिवेशन भएदेखि उक्त भ्रातृ संगठनको महाधिवेशन भएकै छैन। गत वर्ष नै महाधिवेशन गर्ने भनेर ५५ वटा जिल्लाको अधिवेशनसमेत गरेको अध्यक्ष ईन्द्रबहादुर गुरुङले जानकारी दिए।  

राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पनि स्थापनादेखि महाधिवेशन हुन सकेको छैन। २०६६ सालमा संघ स्थापना भएको थियो। एक दशक हुनै लाग्दासम्म महाधिवेशन हुन सकेको छैन। पार्टीले विभिन्न समयमा महाधिवेशन गर्न खोज्दा पनि पार्टीले रोकिदिएको अध्यक्ष भोजराज श्रेष्ठको गुनासो छ। ‘महाधिवेशन गर्ने भनेको पार्टीले नेविसंघ तरुण दलको त हुन सकेको छैन भन्दै रोक्यो’, उनले भने, ‘५० वटा जिल्लामा अधिवेशन सकिएको छ। अब तयारी गर्छौं’
यस्तै, नेपाल तामाङ संघको पनि अवधि सकिएको छ। अब महाधिवेशनको तयारीमा रहेको अध्यक्ष केवलबहादुर तामाङले जानकारी दिए। ‘महाधिवेशनको समय भएको छ’, उनले भने, ‘अब चैतसम्म गर्ने तयारी छ।’

यस्तै, अर्को भ्रातृ संस्था हो- नेपाल ठाकुर समाज। यसको पनि अवस्था उस्तै छ। २०६७ सालमा महाधिवेशन भएपछि यसको पनि महाधिवेशन हुन नसकेको अध्यक्ष अनिरुद्रप्रसाद ठाकुर बताउँछन्। ‘महाधिवेशन नभएको लामो समय भयो। सबै भ्रातृ संगठनमा पार्टीको गुटगत प्रभाव परेको छ’, उनले भने, ‘पार्टीमा भएको नेताको गुटको समस्याले यहाँ पनि महाधिवेशन गर्न अप्ठ्यारो बनाएको छ।’

यता, महाधिवेशन हुन नसक्नुमा पार्टी नेताहरूको भने आआफ्नै तर्क छ। नेतृत्वले पार्टी चलाउन नजानेका कारण संगठनको अवस्था भद्रगोल बनेको पार्टी नेता डा. शेखर कोइराला आरोप लगाउँछन्। ‘सभापतिले पार्टीलाई जस्तै भ्रातृ संस्थालाई पनि चलाउन जान्नुभएन’, उनले भने, ‘एक पटक निर्वाचन जितेपछि सकियो भन्ने शैलीमा उहाँ अघि बढ्नुभयो। सबै भ्रातृ संस्थाहरू भद्रगोल अवस्थामा छन्। कुनै सक्रिय छैनन्।’

तर सभापतिले पार्टी चलाउन नजानेको स्वीकार गर्न तयार छैनन् पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महत। सभापतिले भ्रातृ संस्थाका प्रमुखहरूलाई जिम्मेवारी दिएको उनी बताउँछन्। ‘कांग्रेसमा यस्तो त पहिलादेखि नै हुन्थ्यो। सभापतिले त महाधिवेशन गर्न सम्बन्धित भ्रातृ संस्थाका प्रमुखलाई जिम्मेवारी दिनुभएको छ’, उनले भने, ‘१३औँ महाधिवेशनबाट नेतृत्व आएपछि पनि छवटा भ्रातृ संस्थाका महाधिवेशन त भए नि!’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.