|

तेह्रथुम : जिल्लाका धेरै युवा वर्सेनि रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ। विदेशमा धेरै कमाइ हुन्छ भन्ने सोच थुप्रैमा देखिन्छ। तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःखकष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन सक्छन्। विदेश सुन्नेबित्तिकै आजकालका प्राय: युवा उत्साहित भई चाँडोभन्दा चाँडो विदेश जान लालायित हुने गर्छन्।

धेरै विदेश जान चाहन्छन् त थोरै यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न चाहन्छन्। त्यस्ता युवामध्ये एक हुन्- जनमुक्ति सेनाका कम्पनी कमाण्डर तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका निवासी विनोद अधिकारी। उनले फस्ट डिभिजन विप्लव श्रीजन स्मृति ब्रिग्रेड, इलामको दानाबारीमा २०५८ सालदेखि दुई वर्ष काम गरेका थिए।

२०६३ देखि २०६४ सम्म दुई वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सेक्युरिटी टिमको सदस्य भई काम गरेका अधिकारी २०६२/०६३ को जनआन्दोलनपश्चात् विस्तृत शान्ति सम्झौता भएपछिको सेना समायोजनबाट बाहिरिएका थिए। त्यस कारण पनि उनी पछिल्लो समय सामान्य राजनीतिक जीवनयापन गर्ने क्रममा व्यवसायतर्फ आकर्षण बढेको बताउँछन्।

धेरै कमाउने सोचले अलिअलि भएको पैसा म्यानपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसियाको चक्करमा लाग्नुभन्दा आफ्नै ठाउँमा उत्पादनमूलक व्यवसाय संचालन गर्ने विचारले कृषि क्षेत्रमा लागेको उनले बताए। नेपालमा पनि काम गरे पैसा कमाउन सकिने भन्दै आफू यही देशमा केही उदाहरणीय काम गरेर देखाउने योजनामा रहेको उनको भनाइ छ।

२०७४ सालमा टिना जडिबुटी बहुद्देश्यीय कृषि फर्म दर्ता गरी व्यावसायिक बनेका अधिकारीले अहिले कृषि फर्ममा थुप्रै जातका जडिबुटीहरू लगाएका छन्। फर्ममा चिराइतो, पाखनवेद, नागबेली, ठूलो ओखती, लोक्ता, मझिटो इन्द्रेणी, लोठसल्ला, सतुवा, वन लसुन, अलैँचीलगायत पचास बढी जातका जडिबुटीहरू पाइन्छ। यसका साथै चियाको नर्सरी पनि गर्ने गरेको अधिकारी बताउँछन्।

सुरुवातमा पाँच लाख ५० हजार रुपैयाँले थालेको जडिबुटी खेतीमा हालसम्म २८ लाख रुपैयाँ बढी लगानी भइसकेको उनले बताए। ५० रोपनी आफ्नो जग्गा र लिजमा लिएको १५ रोपनी जग्गामा संचालित फर्मबाट उनले वार्षिक १० लाख रुपैयाँ मुनाफा कमाउने लक्ष्य राखेको पनि बताए। उनलाई व्यवसायमा सघाउँदै आएकी श्रीमती मथुराले दुई जनाले फर्मको काम गर्ने गरेको बताइन्।

‘घर, परिवार तथा देशभन्दा टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन’, उनी भन्छन्, ‘अझ म त पुरानो राज्य व्यवस्था परिवर्तनका लागि लडेँ, परिवर्तन पनि आयो तर नेताहरूमाथि पुगे पनि नेपाली जनताका लागि भने खुसीका दिन आउन बाँकी नै छन्।' कति दिन भोकभोकै हिँड्नुपरेको, अँध्यारा कति रातहरू कठ्याङ्ग्रिएर बिताउनुपरेको उनले सम्झिए। व्यवसाय थालेको छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका अधिकारी सन्तुष्ट देखिन्छन्।

बिहानदेखि साँझसम्म अधिकारी जडिबुटी रोपण, हेरचाह, पानी हाल्ने तथा गोडमेलमै व्यस्त रहने गर्छन्। ‘पैसा कमाउन जागिरै खानुपर्छ अनि विदेशै जानुपर्छ भन्ने सोच त्याग्नुपर्छ’, उनी भन्छन्, ‘जनयुद्धको क्रममा कम्पनी कमाण्डरको रूपमा पश्चिमका मनाङ, मुस्ताङ तथा पूर्वका इलामलगायतका जिल्लाहरूमा जाँदा देखेभोगेका अनुभवलाई समेटेर यस व्यवसायतर्फ लागेको हुँ। हुनत मसँग बन्दुक पड्काउने कला पनि छ तर काम लागेन।’

चिया नर्सरीका लागि मेन्छ्यायेम गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडबाट २५ हजार रुपैयाँ प्राप्त गरेको अधिकारीले जानकारी दिए। व्यवसायलाई अझै बढाएर लैजाने र उत्पादित वस्तुहरूलाई नेपालका स्थानीय बजारका साथै छिमेकी राष्ट्र चीन र भारतसम्म पनि बिक्री गर्न लैजाने योजना रहेको अधिकारीले बताए।

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा निर्माण भएको संघीय व्यवस्थामा राज्य संचालित छ। सिंहदरबारको अधिकार गाउँगाउँमा आएको छ। अधिकार सम्पन्न स्थानीय सरकार पनि कार्यान्वयनमा रहेको यस समयमा कृषिप्रधान मुलुकमा कृषि क्षेत्रमा गुरुयोजनासहित लगानी गर्न सके आर्थिक उपार्जन तथा नागरिक स्वरोजगार बन्नुका साथै राष्ट्र पनि समृद्ध बन्ने पक्का भएको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.