|

दाङ : कलिलो उमेरमै व्यवसायमा लागेर सफल व्यवसायीका रूपमा आफ्नो परिचय बनाएका छन्- विनिल केसीले। दाङ तुलसीपुरका केसी व्यवसायमा प्रवेश गर्दा १७ वर्षका थिए। अहिले उनको उमेर ३२ पुग्यो।

केसी निजी व्यवसायमा मात्रै केन्द्रित छैनन्। व्यावसायिक संघसंस्थाहरूमा पनि उनको उपस्थिति गणानायोग्य रहेको छ। उनी प्रदेश ५ नेपाल उद्योग वाणिज्य महासंघ घरेलु तथा साना उद्योग समितिको सदस्य, तुलसीपुर उद्योग वाणिज्य संघका सचिव पनि हुन् भने सामाजिक संस्थाका रूपमा हेरिने रोटरी क्लब तुलसीपुरको महासचिव र रोट्र्याक्ट क्लब तुलसीपुरका संस्थापक अध्यक्ष हुन्।

सानै उमेरमा व्यवसायमा प्रवेश गरेका उनलाई व्यावसायिक जीवनमा उतारचढाव, दु:ख, कष्ट नपर्ने कुरा भएन। अहिले भने उनी अध्ययनसहितको गतिशील व्यवसायमा केन्द्रित छन्। पारिवारिक व्यवसाय गणेश पाउरोटी उद्योगसहित फ्लोर मिललगायतका उद्योगहरू उनले संचालन गरेका छन्।  

उनको उद्योगमा अहिले १५० बढीले १२ महिना रोजगारी पाएका छन् भने कामको चापअनुसार छुट्टै श्रमिक खटाउने गरेको उनको भनाइ छ।

व्यवसायमा प्रवेश

केसी दाङमा 'प्लस टु' पढ्दै गर्दा व्यवसाय गर्न सुरु गरे। पारिवारिक व्यवसायमा लाग्न उनलाई समस्याको विषयमा भएन। केही समय व्यवसायमा व्यस्त भएपछि त्यसमा मात्रै केन्द्रित हुन उनको मनले मानेन। उनी केही वर्ष शिक्षण पेसामा लागे। केही वर्ष काम गरेपछि पारिवारिक व्यसायासँगै एकल लगानीमा समेत उद्योग संचालनमा केन्द्रित भएको उनी बताउँछन्।

'सानैदेखि नै आफ्नै व्यवसाय देखेकाले आफूलाई पनि व्यवसाय गर्नुपर्छ भन्ने प्रेरणा मिलेपछि व्यवसायमा नै केन्द्रित भएँ', केसी भन्छन् , 'मैले यो व्यवसाय सम्हालेपछि आधुनिक टेक्नोलोजीको प्रयोगमार्फत संचालन गर्दै आएको छु।'

उनको सपना

उनको सपनामा भनेको रोजगारी बढाउनु र धेरै काम गर्नु मात्रै छैन, आफ्नै उमेर समूहका व्यक्तिलाई रोजगारीमा लाग्न प्रेरित गर्ने उनी बताउँछन्। केही वर्षभित्र रोजगारीको संख्या कम्तीमा पाँच गुणा वृद्धि गर्न चाहन्छन् उनी। नयाँ उद्योगमा लगानी विस्तार गर्ने योजना पनि रहेको उनले बताए।

'सबैका सपनाहरू हुन्छन् तर काम गर्दै जाँदा त्यो अवश्य पूरा हुन्छ', केसीले भने, 'राम्रो काम गर्दै जाँदा एक दिन मैले पालेको सपना पनि पूरा हुनेछ।' इच्छा शक्ति र मिहिनेत हुँदा कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न समस्या नहुने उनको बुझाइ छ। उनले आफूले काम गर्ने सबै क्षेत्रमा उदाहरणीय काम गरेर देखाउने गरेको र देखाउने प्रतिवद्धतासमेत रहेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.