बागलुङ : प्रशस्तै पर्यटकीय सम्भावना बोकेको भए पनि जिल्ला सदरमुकामनजिकै रहेको प्राकृतिक तथा पौराणिक संसारकोट ओझेलमा परेको छ। बागलुङ नगरपालिकाको ७ नम्बर वडामा पर्ने संसारकोट प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो।
सामुद्रिक सतहदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको संसारकोट बागलुङका दुई र म्याग्दीको एक गरी धौलागिरीका तीनवटा स्थानीय तहको संगमस्थल हो। यहाँ रहेको प्राकृतिक सुन्दरता, देशका कैयौँ ठाउँहरु देख्न सकिने उचाइका कारण आन्तरिक तथा बाह्य पर्यटकको उपयुक्त गन्तव्य भएको स्थानीय बताउँछन्।
बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको संसारकोटको विकासमा तिनै स्थानीय तहले लगानी गर्न सके पर्यटक भित्र्याउने माध्यम बनाउन सकिने स्थानीय जयबहादुर कार्कीले बताए। बागलुङ नगरपालिकाकै अग्लो स्थानमा रहेको संसारकोट पञ्चकोट मध्यको एक कोट हो।
स्वामी कमलनयन आचार्यले यस क्षेत्रमा रहेका ताराजाल कोट, कारी कोट, माझकोट, रायँरायँकोट र संसारकोटको संरक्षण तथा धार्मीक पर्यटकीयस्थल बनाउने अभियान थालेका थिए। धार्मिक पर्यटनको हिसाबले उपयुक्त गन्तव्य बनाउने उद्येश्यले पञ्चकोट नामाकरण गरेर संरक्षणको कार्य थालनी भए पनि राँयराँयकोट र संसारकोटमा अहिलेसम्म कुनै पनि संरचना नबनेका कारण संसारकोट ओझेलमा परेको स्थानीय बताउँछन्।
गत वर्ष संसारकोटमा मोक्ष लक्ष्मीको मन्दिर स्थापना गर्ने योजना बनाएर काम थाल्ने भनिएको भए पनि हालसम्म कुनै काम हुन सकेको छैन। पर्यटकीय सम्भावना बाकेको यो क्षेत्रमा भौतिक पूर्वधार निर्माण हुन नसक्दा पर्यटक प्रवर्द्धन हुन नसकेको स्थानीय बताउँछन। पञ्चकोट मध्येको सबैभन्दा ठूलो कोट संसारकोट हो। यहाँ परापूर्व कालका केही पोखरी चौतारी तथा अन्य विभिन्न संरचना रहेका छन्। पौराणिक महत्व बोकेका सबै संरचना संरक्षणको पर्खाइमा रहेका छन्।
‘हामीले स्रोत साधनको अभावमा पौराणिक महत्व बोकेका संरचना जोगाउन सकेनौँ, सबै संरचनाहरु विस्तारै मासिँदै गएका छन्।’ स्थानीय जयबहादुर कार्कीले भने । बागलुङ बजारदेखि पञ्चकोट हुँदै करिब ३ घण्टाको पैदल यात्रापछि संसारकोट पुग्न सकिन्छ। संसारकोट नजिकै सडक सञ्जालसमेत भएकाले केही समयको सवारीको यात्रा र बाँकी पहाड पैदल यात्रा गरेर पनि संसारकोट पुग्न सकिने कार्कीले बताए।
निर्माणाधीन विश्वशान्ति सर्वसिद्धधामबाट कारिकोट, पवित्र मालिका मन्दिर, माझकोट, रायँरायँकोट हुँदै संसारकोट सम्मको ट्रेकिङ रुट बनाई होमस्टे
सञ्चालनको आवश्यक रहेको स्थानीय पदमबहादुर क्षत्रीले बताए। पूर्वाधार निर्माण गर्न सके दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने जैविक विविधतायुक्तस्थलको रूपमा संसारकोट रहेको संसारकोट सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष रहेका क्षत्रीले बताए। संसारकोटबाट धौलागिरी, माछापुच्छ्रे लगायतका हिमश्रृंखलाका साथै बागलुङ, पर्वत, म्याग्दी, कास्की, स्याङजा गुल्मी जिल्लाका सबै उच्च पहाडी क्षेत्रहरूको अवलोकन गर्न सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।