|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले टिप्पणी गर्ने क्रम सकिएको छ।

बैठकमा बोल्ने नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’का बारेमा सरकार र पार्टी नेताको सहभागीताको विषयमा प्रश्न उठाएर चर्को आलोचना गरेका थिए। सम्मेलनमा सहभागी भएर गलत भएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नुपर्ने माग चर्कोरूपमा बैठकमा उठेको छ।

यसैक्रममा बैठकमा उठेको प्रश्नहरूका सन्दर्भमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्याशीफिक सम्मेलनबारे उठेका प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन्। आइतबार धुम्बाराहीमा बसेको बैठकमा नेता नेपालले सम्मेलनबारे स्पष्टीकरण दिँदै युनिफिकेशन पिस फेडेरेशन नराम्रो संस्था नभएको बताएका छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र आफू दुई जनाको सल्लाहमा कार्यक्रम भएको भन्दै नेता नेपालले यसो गर्दा कतिपय प्राविधिक कुराहरू आगामी दिन गर्दा अलिकति ध्यान पुर्‍याउनुपर्ने बैठकमा बताएका छन्। तर कार्यक्रममा कुनै गल्ती नभएको नेता नेपालले बताएको बैठकमा सहभागी ती नेताले बताए। 'त्यो कार्यक्रम गरेर कुनै गलत भएको होइन। यसको प्रभाव गलत पर्न गएछ', नेता नेपाललाई उदृढ गर्दै ती नेताले भने 'यहाँ सबै धर्मका बौद्ध, हिन्दु धर्मका गुरूहरू सहभागी थिए। विभिन्न देशका नेता प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरू विभिन्न धर्मका आएका छन्। यसमा विविधता छ।'

सम्मेलनले नेपाललाई कुनै नराम्रो नगरेको भन्दै नेता नेपालले आफु उक्त संस्थाको कार्यक्रममा मात्र ६ पटक सहभागी भएको स्पष्टीकरण दिएको बैठकमा सहभागी ती जानकारी दिए। सम्मेलनमा कुनै निश्चित धर्म भन्ने नरहेको भन्दै नेपालले कुनै संस्थाको विशेष इन्ट्रेष्ट भएको भए फरक कुरा र हेको बताए। 'सम्मेलनमा सहभागी हुन विदेशी राष्ट्रप्रमुख समेत सहभागी थिए। कार्यक्रममा सहआयोजकको हैसियतले आइक्याप (एसियाली राजनीतिक पार्टीहरूको संस्था)का तर्फबाट बैठकको अध्यक्षता गरेको हुँ', नेपालको कुरा उदृढ गर्दै ती नेताले भने 'कृष्णप्रसाद भट्टराईको पालादेखि कार्यक्रम हुँदै आएको छ, अहिले आएर मलाई मात्रै विवादित पार्न खोजियो।'

नेता नेपालले आफूले सरकारले अह्राएको र सरकारले दिएको जिम्मेवारी पूरा गरेको बताउँदै राष्ट्रअध्यक्षहरू समेत सहभागी भएको कार्यक्रम सफल पार्नु सरकारको दायित्व भएको समेत दाबी गरे।

कार्यक्रममा विदेशी पाहुनाको स्वागत सत्कार मात्रै गरिएको भन्दै नेता नेपालले आफ्नो नियतमाथि शंका नगर्न बारबार आग्रह गरेको ती नेताले बताए। 'यो कार्यक्रम कुनै गलत मनशायबाट प्रेरित थिएन। जिम्मेवार देश हुनुको नाताले सबै धर्म समूदायप्रति हाम्रो सद्भाव पनि छ,' नेपालले दिएको स्पष्टीकरणबारे जानकारी दिँदै नेताले भने 'धर्मनिरपेक्षताप्रतिको हाम्रो मान्यता, दृष्टिकोणप्रति हामी कटिद्ध छौ।'

बैठकमा सम्मेलनबारे नेता नेपालले स्पष्टीकरण दिएपनि सहभागी स्थायी कमिटीका सदस्यहरूले पनि चित्त बुझ्दो नभएको बताइएको छ। युनिफिकेशन चर्च मातृ संस्था रहेको युनिफिकेशन पिस फेडेरेशनको सम्मेलनको संलग्नतालाई नेता नेपालले बैठकमा सफाई दिएका हुन्। बैठकमा अघिकांश स्थायी सदस्यहरुले अध्यक्षद्धयको राजनीतिक प्रतिवेदनबारे टिप्पणी गर्ने क्रममा प्याशीफिक सम्मेलनबारे प्रश्न उठाएका थिए।

नेता नेपालले बैठकमा आफ्नो सफाई दिएलगत्तै नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाल, रघु पन्त, अग्नी सापकोटा लगायतका नेताहरूले थप प्रश्न वर्षाएको एक नेताले बताए। उनीहरुले नेतृत्व र नेपाल दुवैले समिटमा आफ्नो संलग्नतालाई लिएर स्पष्टीकरण नै दिनु पर्ने माग समेत गरेका थिए। स्थितीलाई साम्य पार्न अध्यक्ष ओलीले समिटमा आफ्नो संलग्नताबारे उठेको प्रश्नको जवाफ नदिई अब यस मामिलालाई चर्काउन नहुने र केही कुरा गर्नु परेमा आगामी राजनीतिक प्रतिवेदनमा समावेश गरिने भन्दै तातिएको माहोलालाई शान्त बनाउने कोशिस गरेका थिए।

प्रधानमन्त्री ओलीले सम्मेलनको बचाउ गरेपछि नेकपा प्रवक्ता श्रेष्ठले सन् २०१२ को प्रसंग उठाउँदै आफु परराष्ट्रमन्त्री भएका बेला एकनाथ ढकाललको यस्तै कार्यक्रम गर्ने प्रस्ताव अस्वीकार गरेको बताएका थिए। होटल र्‍याडिसनमा योजना बने देखिनै उक्त समिटिको बिरोध गर्दा पनि नेतृत्वले गम्भीररुपमा नलिएको गुनासो गरेका थिए।

गएको मंसिर २९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटीको बैठक आईतबार बिहान बसेर सकिएको छ। बिहान ८ बजेदेखि शुरू भएको बैठकमा नेता प्रदीप ज्ञवालीले आफ्नो विचार राखेपछि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ।

बैठकमा नेताहरूले बोल्ने क्रम शुरू भएपछि अब दुई अध्यक्षले स्थायी कमिटीका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्। बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ नेता ओली र प्रचण्डले आज अपरान्ह ४ बजे बस्ने पार्टी स्थायी समिति बैठकमा दिने कार्यक्रम रहेको छ।

अध्यक्षद्यको कार्यव्यस्तताका कारण प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन अपरान्ह ४ बजे पुनः बैठक बोलाइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

४५ सदस्यीय स्थायी समिति बैठकमा बोल्ने धेरैजसो नेताहरुले पार्टी एकीकरणको कामलाई अझै पूर्णता दिन नसकेको भन्दै पार्टी नेतृत्वको र जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.