|

काठमाडौं : पुसको चिसो। मंगलबार अपरान्ह १२ः३० बजे। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल। सदा झैं विभिन्न सांस्कृतिक कार्यक्रम हुने मञ्चभरी फूलैफूलले भरिएको छ। मञ्चको दायाँपट्टी अलि अग्लो बोर्ड राखिएको छ, जसमा लेखिएको छ, नयाँ वर्ष नयाँ पाइला, बालबालिकासँग प्रधानमन्त्री। 

फूलैफूलको अगाडि चारवटा कुर्सी र एउटा टेबुल राखिएका छन्। विद्यालयको पोशाकमा सजिएका २ जना बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यलाई आमन्त्राण गर्छन् कुर्सीमा बिराजमान रहन। सँगै एउटा बालक एउटा बालिका विद्यालयको पोशाकमै छेउतिरका कुर्सीमा आएर बस्छन्। यतिञ्जेल करिब १ बजिसकेको हुन्छ। 

मञ्चको अघिल्तिर रहेका सहभागीतर्फका कुर्सीहरू भरिभराउ छन्। जसले घाँटीमा स्काउट चिन्ह रहेको रूमाल बाँधेका छन्। मञ्चमा प्रधानमन्त्रीसँगै बसेका ती दुई बालबालिका उक्त कार्यक्रमको सञ्चालक हुन्। आज उनीहरूकै निर्देशनमा कार्यक्रम हुनेवाला छ। प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै उनीहरूले कार्यक्रमको आरम्भ हुन्छ। 

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाइको बाल्यकाल कसरी बित्यो बताइदिनुस न?

प्रश्न सकिन नपाउँदै प्रधानमन्त्री ओलीले मन्द मुस्कान छोड्छन्। निकै उत्साहित मुद्रामा देखिने उनी बालबालिकासँग रम्न पाउदा सायद बढी नै खुसी भएको हुनुपर्छ। उनले लामो भूमिका बाँध्दै प्रश्नको उत्तरतर्फ अगाडि बढ्छन्। नयाँ वर्षको शुभकामना, बुद्धको देश, विश्वशान्तिको कामना गर्दै उनले आफू पूर्वी पहाड तेह्रथुम जिल्लाको छातेढुंगामा जन्मिएको र त्यो ठाउँ प्राकृतिक रूपमा निकै सुन्दर रहेको बताउँछन्। 

सञ्चालकले अर्को प्रश्न गर्छिन। तपाई कक्षामा कस्तो हुनुहुन्थ्यो?

प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली भन्छन्, 'म केटाकेटी हुँदा केटाकेटी जस्तै थिएँ'। प्रधानमन्त्रीले यति भन्दैगर्दा प्रज्ञा प्रतिष्ठानको हल हाँसोको फोहराले गुञ्जायमान भइसकेको हुन्छ। 

उनी फेरि थप्छन्, पढ्न भन्दा खेल्न मन लाग्ने। अभिभावकले भनेपछि चाहिं पढ्ने। कक्षामा म आफूलाई नजान्ने त ठान्दैनथे। तर म सरदर विद्यार्थी हुँ। मैले पढ्दा ट्युशन कोचिङको क्लास सुनिदैनथ्यो। मैले २ प्रकारका होमवर्क गर्थे। एउटा स्कुलमा सरहरूले दिएको होमवर्क घरमा गएर गर्थे। अर्को स्कुलले नदिएको होमवर्क गर्थे। त्यो भने घरमा उब्जिएको काम गर्थे मैले। 

अलि ठूलो भएपछि घरको सम्पूर्ण कामहरू सिके। खाना बनाउने, घर सफा गर्ने, लुगा धुने सबै-सबै कामहरू गर्थे। तर मैले पछि मात्रै थाहा पाए कि यी कामहरू हाम्रो समाजमा काम गरेको मानिदैन रहेछ।

यत्तिकैमा जेभियर इन्टरनेशनलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रनिश घिमिरेले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, प्रधानमन्त्री ज्यु अहिले विदेशीने युवाहरूको संख्या ठूलो छ। बाध्यतावस ती विद्यार्थीहरू अहिले बाहिरिन बाध्य छन्। ती युवाहरूलाई रोक्नका निम्ति तपाइसँग कस्ता योजना छन्?

यो प्रश्न आउदैगर्दा प्रधानमन्त्री अलिक भावुक अनि जिम्मेवार देखिए। लामो सास फेर्दै उनले उत्तर दिए-मसँग केही दीर्घकालीन योजनाहरू छन्। अहिलेपनि थुप्रै युवाहरू विदेशिएका छन्। अहिले नै हामीले यसलाई चटक्कै रोक्न सक्दैनौँ। तर यसलाई हामी बिस्तारै कम गर्छौं। पछि पनि जानै नहुने भन्ने होइन। तर अहिले बेग्लै परिस्थितिका कारण जान्छन्। भविष्यमा हामी दक्षता बेच्ने हिसाबले विदेश जान्छौ। हाम्रो समस्या भनेको अरबका देशमा कम पारिश्रमिकमा विदेशिने युवालाई कसरी रोक्ने भन्ने समस्या हो। यसलाई रोक्न हामी विशेष योजनाका साथ काम गरिरहेका छौँ। केही समय लाग्छ तर हामी यो काम गर्छौ‌ं।

जेपी आइस्कुलका अनिश कोइरालाले प्रधानमन्त्रीलाई प्रश्न गरे, अहिले सामुदायिक विद्यालयहरूले जबर्जस्त अंग्रेजी भाषामा पढाइरहेका छन्। यसले हाम्रो राष्ट्रिय भाषाको संरक्षणमा असर गर्दैन ?

प्रधानमन्त्रीले मुस्कुराउँदै उत्तर दिए, हामीसँग हाम्रो मातृभाषा छ। हाम्रो सरकारकारी कामकाजको भाषा नेपाली छ। सँगै अब हामीले अन्तराष्ट्रिय रूपमा सम्पर्कका निम्ती अंग्रेजी भाषा पनि जान्नुपर्ने छ। यसको अर्थ हामीले आफ्नो भाषा विर्सिने होइन। अंग्रेजी भाषा सिक्दै गर्दै आफ्नो नेपाली भाषा चट्क्कै बिर्सिने कुरा भने गलत भएको प्रधानमन्त्री ओलीले बताए। उनले राष्ट्रिय भाषा नजान्नुलाई गर्वको रूपमा लिने प्रवृत्ति गलत भएको बताए। उनले विश्वमा अहिले सबैभन्दा बढी बोलिने भाषा चीनीयाँ (२३%) रहेको बताउदै तर यो सम्पर्कका हिसाबले अंग्रेजी भाषाजस्तो नभएको बताए। 

कार्यक्रममा प्रश्नकै क्रममा आइडियर स्कुलकी रश्मी थापाले प्रश्न गरिन। प्रधानमन्त्री ज्यु निर्मला पन्तको हत्या भएको लामो समय भइसक्यो। तर यति लामो समय भइसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन। यस्तो अवस्थामा सरकारबाट हामी कसरी सुरक्षाको महसुस गर्न सक्छौँ?

बालिकाको यस्तो प्रश्नले प्रधानमन्त्री ओली केही भावुक देखिए। उनले भने ‘बलात्कार जस्तो कुरा अत्यन्तै दुखद् कुरा हो। बलात्कार बेग्लै मानसिकताको कुरा हो र हत्या बेग्लै मानसिकताको कुरा हो। मानवीय चेतना, सभ्यताको पतनको दृष्टान्त हो, तर हामीले हत्यारा पत्ता लगाउने कोसिस गरिरहेका छौं।’  

निर्मला पन्त हत्याकाण्ड मानव जाति, मानव सभ्यता र चिन्तनको लागि घिनलाग्दो चुनौति भएकोसमेत उनले बताए। यो घटना जो अपराधीले गरे, ती अपराधीले छुट नपाउने पनि ओलीले बताए। ‘सरकारले कारबाही गर्छ। अपराधीले कुनैपनि हालतमा छुट पाउँदैनन्’ ओलीले भने।   प्रहरीले शुरुमा केही गल्ती गरेको पनि उनले बताए। पछिल्लो समय एआइजीको नेतृत्वमासमेत अनुसन्धान टीम पठाइएको उनले बताए।

केही आश्चर्यजनक र अविश्वसनीय घटनाहरु भइरहेको भए पनि अपराधी पक्राउ पर्ने उनले बताए। ‘अपराध यसरी गर्यौं भनेर भन्छ तर डिएनए मिल्दैन,’ ओलीले भने, ‘घटनाको छानबिन गर्ने संस्थाले स्वतन्त्र ढंगले गर्न पाएको छैन।’  कतिपयले आफ्नो झण्डा बोकेर आफ्नो ढंगले प्रभावित गरिरहेको पनि उनले बताए। जसले गर्दा अध्ययन अनुसन्धानमा अवरोध भएको र आमरुपमा नेपाल प्रहरी अनुसन्धानमा सक्षम नै रहेको उनले बताए। ९५ प्रतिशतभन्दा बढी अपराधी पत्ता लागेको पनि उनले स्मरण गरे।

प्रिमियर स्कुलका आरभ नेपालले प्रधानमन्त्रीलाई प्रश्न गर्दै समयमा पाठ्यपुस्तक पाइदैन। तपाइले डिजिटल नेपालको कुरा गरिरहनुभएको छ। यस्तो अवस्थामा त्यो कसरी सम्भव छ? 

जसको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने, समयमा पाठ्यपुस्तक पुर्‍याउने कुरा इतिहास बन्छ। यही वर्षदेखि लागु गर्छौं। कतिपय लागु भइसकेको छ। जहाँ भएको छैन त्यो पनि यसवर्षदेखि अन्त्य हुन्छ। उनले डिजिटल नेपाल बनाउने कुरा एक ठाउँमा मात्र नभएर सबै ठाउँमा लागु हुने बताए। 

कार्यक्रममा सञ्चालकले पुनः प्रश्न गरे, प्रधानमन्त्री ज्यु तपाइले सबै जनतालाई खुसी बनाउनुहुन्छ। तर तपाइ आफ्नो लागि चै खुसी भनेको के हो? 

प्रधानमन्त्रीले प्रश्न लगत्तै जवाफ फर्काउछँन्, नेपालका बालबालिकाको आँखामा खुसी देखे भने म खुसी हुन्छु। मैले यहाँका सबै जनता खुसी भएको हेर्न चाहन्छु। उनीहरूले राम्रोसँग बस्न पाएको, खान पाएको, राम्रो स्कुल पोशाक लगाएर स्कुल गएको हेर्न चाहान्छु। त्यसपछि म खुसी हुन्छु। समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्य जुन लिएका छौ, यो पुरा भएपछि म खुसी हुन्छु। 

कार्यक्रमको अन्तिमतिर बालबालिकाले प्रश्न गरे, तपाइको आदर्श व्यक्ति को हो? प्रधानमन्त्री ओलीले आफुले नक्कल नरूचाउने भन्दै मानव जातिको निम्ति, मानव समाजको विकासका निम्ति, मानव सभ्यता अगाडी बढाउन योगदान गर्ने तमाम पुर्खा आफ्नो आदर्श भएको बताए। उनले भने, 'म मूर्ती पूजा गर्दिन। म व्यक्ति पूजा गर्दिन। त्यसकारण यो नै मेरो आदर्श भन्ने कोही पनि छैन। तर म तिनी पुर्खाहरूलाई मान्छु जसले यो समाज, सभ्यता अगाडी बढाउन योगदान गरे।'

मंगलबार नेपाल स्काउटले आयोजना गरेको 'बालबालिकासँग' प्रधानमन्त्री कार्यक्रममा उपस्थित भएर करिब सवा १ घण्टा प्रधानमन्त्री ओलीले बालबालिकासँग सवालजवाफ गरे। बालबालिकाले गरेको प्रश्नको उत्तर दिँदै उनले सबै बालबालिकासँग फोटो समेत खिचाएर। प्रथम महिला राधिका सहित उपस्थित भएका प्रधानमन्त्री ओली कार्यक्रममा प्रसन्न देखिएका थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.