|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीलाई रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्।

राष्ट्र निर्माणको अभियानमा सहभागी हुनसमेत आग्रह गर्दै प्रधानमन्त्रीले प्रतिपक्षीलाई भने 'तपाईंहरू कसरी यो अभियानमा कसरी रचनात्मक भूमिका खेल्नुहुन्छ। त्यसका निम्ति सरकारले कस्तो भूमिका खेल्नुपर्छ? प्रतिपक्षलाई अनुकूल वातावरण बनाउन सरकार तयार छ। के गर्नुपर्छ। आउनुस् राष्ट्रनिर्माणको यस अभियानमा सहकार्य गरौँ।'

रचनात्मक भूमिकाका साथ प्रस्तुत हुन प्रधानमन्त्रीले आग्रह गरेका हुन्। अहिले देश चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै उनले अहिले पर्खिने स्थिति नभएको बताए। 'मलाई तर्क, वितर्क, वादविवादमा रूची छैन। देश विकास गर्ने ठोस नीति, ठोस योजना र ठोस कार्यमा रुची छ', प्रधानमन्त्रीले भने, निर्माणका कार्यमा विकासका कार्यमा त कोही प्रतिपक्षी हुनै सक्दैन। हामी अगाडि बढौँ।'

प्रतिपक्षीको कुरा सुन्न सरकार तयार रहेको भन्दै उनले प्रतिपक्षीको छनोटलाई सरकार साथमा लिएर अगाडि बढ्न तयार रहेको बताए।

मलाई तर्क र बहसमा अल्झिन रूची छैन

प्रधानमन्त्री ओलीले आफूलाई कुनै तर्क र बहसमा अल्झिरहने फुर्सद नभएको बताएका छन्। पछिल्लो समयमा अनौठो व्यवहारको महसुस गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई काममा रूची भएको तर कुनै तर्क र बहसमा रूची नभएको बताए। 'मलाई कुनै तर्क र बहसमा रुची छैन। गर्नु पनि छैन। गर्नु छ त यो देशको विकास। अहिले पनि यो देशको विकास गरेनौं भने कहिले गर्नु', उनले भने।  

अब मुलुकमा राजतन्त्र नभएको जनताले ल्याएको गणतन्त्र र आफैँले छानेको लोकतान्त्रिक प्रणाली भएको भन्दै प्रधानमन्त्री ओलीले जनताले छानेको बहुमतको सरकार भएको बताए। त्यसकारण तर्क र बहसमा अल्झिरहन आवश्यक नभएको उनको भनाइ थियो। भने, 'त्यसकारण म कुनै तर्कहरूमा अल्झन चाहान्न। यी तर्क र बहसहरुमा अल्झिनुभन्दा पनि यस आर्थिक वर्षमा गरेका नीति, कार्यक्रम र बजेटका विषयमा बोल्छु।'

सरकार यस आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको अर्धवार्षिक समीक्षामा जुटेको भन्दै प्रधानमन्त्रीले मुलुकको समृद्धिको सपना देखेर सरकारले कुनै गल्ती नगरेको बताए। सत्ता सञ्चालनको जिम्मेवारीको हिसाबले सोही मिसन र भिजनमा अगाडि बढिरहेको बताउँदै उनले कानुनी संरचनाका दुई सीमा र दुई पक्षहरूअन्तर्गत गएको असोजमै मौलिक हकलाई कार्यान्वयन गर्ने कानुनहरू निर्माण गरेर कार्यान्वयनमा ल्याएको बताए।

अहिले १६५ कानुन अध्यावधी भएको भन्दै उनले ५६ विधेयकहरू र संघीयता कार्यान्वयनसँग सम्बन्धित १०९ वटा कानुनहरू तर्जुमा भइसकेको समेत संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बताए।

प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका निम्ति कमर्चारी समायोजनसम्बन्धी अध्यादेश लिएको बताउँदै उनले ३४ हजार ३५७ कर्मचारीले आफ्नो वैयक्तिक कानुन अद्यावधिक गराएको जानकारी गराए। प्रतिपक्षीका तर्फबाट कर्मचारी समायोजनसम्बन्धी अध्यादेश किन ल्याएको? भनेरसमेत प्रश्न गरेको भन्दै प्रधानमन्त्रीले स्वेच्छिक अवकासमा गएको भए ५०/६० व्ययभार सदाका लागि बोक्नुपर्ने अवस्था आउने बताए। उनले राज्यको हितका निम्ति गरेको कार्यलाई लिएर धमिलो पानिमा माछा नमार्नसमेत आग्रह गरे। 'धमिलो पानीमा माछा मार्ने प्रयास नगरेको भए उपयुक्त हुन्थ्यो', उनले भने।

राष्ट्रपति माथिको हमला गणतन्त्रमाथिको हमला  

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालयमाथि गरेको हमला गणतन्त्रमाथिको हमला भएको बताए। राष्ट्रपतिसम्बन्धी सम्पूर्ण निर्णय सरकारले गर्ने गरेको भन्दै उनले हरेक विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउनले कार्य गलत भएको बताए। 'राष्ट्रपतिसम्बन्धी सम्पूर्ण निर्णय सरकारले गर्छ त्यो संस्थाले होइन', उनले भने, 'त्यो संस्थाको गरिमा अनुसारको अभ्यास आचरण हुन्छ र त्यो सरकारले गर्छ।'

जानकारी नै नभएको राष्ट्रपतिको कार्यालयलाई मुछेर हल्ला गर्नुपर्ने कुनै कारण नभएको प्रधानमन्त्रीको भनाइ थियो। उनले संस्थाको मर्यादा रहेन भने लोकतन्त्र धरासायी हुनेसमेत बताए।

निर्मलालाई सरकारले न्याय दिन्छ

कञ्चनपुरको निर्मला पन्त घटनालाई सरकारले न्याय दिने प्रधानमन्त्री ओलीले बताए। सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न आफू लागिरहेको भन्दै उनले आफूले कुनै कसर बाँकी नराख्ने बताए।

अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले ४६ प्रतिशत सफलता हासिल गरेको भन्दै प्रधानमन्त्रीले केही प्रतिशत अपराध अपवाद रहेको बताए। अन्यायमा परेका छोरीचेलीहरूलाई सरकारले न्याय दिने बताउदै उनले निर्मला पन्तलाई सरकारले न्याय दिएर छाड्ने बताए। 'निर्मला लगायतका पीडित चेलीहरूलाई न्याय सरकारले दिन्छ। जसको नेतृत्व मैले गरिरहेको छु। सडकमा पोखिएर सडकले न्याय दिने होइन', उनले भने।

यसवर्ष ८ प्रतिशतको आर्थिक वृद्धिदर

संसदमा बोल्दै प्रधानमन्त्री ओलीले यसवर्ष आर्थिक वृद्धिदर ८ प्रतिशत हुने अनुमान गरिएको बताएका छन्। गत आर्थिक वर्षको ५ महिनाको तुलनामा यस आर्थिक वर्षको २ महिनामा ३२ प्रतिशत राजस्व संकलन वृद्धि भएको भन्दै प्रधानमन्त्रीले सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको बताए। यसमा मितव्यीताको नीति अवलम्बन गरिएको उनले बताए।

गत वर्षभन्दा मूल्यवृद्धि घटेको बताउँदै प्रधानमन्त्रीले कूल वैदेशिक सहायता १६२.७२ प्रतिशतले वृद्धि भएको बताए। उद्योगतर्फ मानिसहरुको आकर्षण २५ प्रतिशतले वृद्धि भएको भन्दै उनले उत्पादनशील क्षेत्रमा १३.४ बाट ३२ प्रतिशत बैंकको लगानी बढेको बताए। निर्याततर्फ यसवर्ष १२.९ प्रतिशत वृद्धि भएको बताउदै उनले निर्माण सामग्री र औद्योगीक वस्तुको खरिदमा भने बढेको बताए। तर यो उत्पादन र विकासका दृष्टिमा सकारात्मक भएको उनले बताए।

कृषि उत्पादनका सरकारले विशेष जोड दिएको भन्दै प्रधानमन्त्रीले यसवर्ष धान उत्पादक ९ प्रतिशतले वृद्धि भएको बताए। विभिन्न २३ प्रकारका विशादी प्रयोगमा रोक लगाएको भन्दै उनले फास्ट ट्रयाककको प्रगति उत्साहजनक रहेको बताए।  

'डिजिटल एक्शन रूम'

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा डिजिटल एक्शन रूममा निर्माण भइरहेको जानकारी गराए। जसले राष्ट्रिय गौरवका आयोजनाहरूलाई सञ्चालन गर्ने उनले बताए। राष्ट्रिय परिचयपत्रको काम गर्न विभागको व्यवस्था गरिएको भन्दै उनले तर यस्तो संवेदनशिल विषयलाई पनि संशयको दृष्टिले हेर्ने गरिएको भन्दै दुःख व्यक्त गरे।

सामाजिक सुरक्षा नयाँ युगको सुरूवात

यसैगरी सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रम नागरिकको हक भएको बताए। योगदानमा आधारिक सामाजिक सुरक्षा योजना सरकारले कार्यान्वयनमा ल्याएको भन्दै उनले सबै प्रकृतिका श्रमबजारमा कार्यरत श्रमजिवीलाई समेट्दै यो कार्यक्रम अगाडि बढाइएको बताए।

यसबारे विभिन्न दलका नेताहरूले चित्त दुखाएको समेत प्रधानमन्त्रीले यो कार्यक्रममा कसैको प्याटेन्ट राइट नभएको बताए। 'मेरा पूर्वप्रधानमन्त्री शेरबहादुर ज्युले त मेरै पालामा लिएको भनेर समेत दाबी गर्नुभयो', उनले भने 'हामीले प्याटेन्ट राइटको कपि राइको कुरा हामीले गरिरहेका छैनौ।'

यो कार्यक्रम नयाँ युगको सुरूवात भएको भन्दै उनले कार्यक्रम आफ्नो एक्लै वा सरकारको नेतृत्व गरिरहेको दलको मात्र नभएको बताए। 'मैले मेरो वा मेरो दलको मात्र हो भनेर कहिले भनेको छु र? यो यसै सदनबाट पारित भएको कार्यक्रम हो', प्रधानमन्त्रीले भने, 'आफैँले ल्याएको दाबी गरिरहने साथीहरूले फेरि यो कार्यक्रमलाई खिसिट्युरी किन? मिलेर सँगै काम गरौ न।' उनले प्रतिक्रियात्मक नभएर रचनात्मक बन्न समेत आग्रह गरे।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.