सूचना गोप्य राख्‍न आचारसंहिता

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकताको प्रकृया अझै टुंगिएको छैन। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर केन्द्रमा नेकपा बने पनि यसले तल्लो तहसम्म मूर्तता भने पाउन सकेको छैन। 

तल्ला कमिटीहरूको एकीकरण, जनवर्गीय संगठनहरूको एकीकरण, विभाग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी गठनलगायतका सिंगै काम बाँकी नै छन्। न त केन्द्रीय सदस्यहरूको कार्यविभाजन नै टुंगिन सकेको छ। केन्द्रीय कमिटीको बैठक नबसेको लामो समय भइसक्यो। 

यसबीचमा लामो समयको अन्तरालमा नेकपाको स्थायी कमिटीको बैठक भने सम्पन्न भएको छ। गएको मंसिर २९ गतेदेखि शुरू भएको स्थायी कमिटी पुस १३ गते सकिएको छ। बैठकले बाँकी सांगठनिक कामहरू पूरा गर्न भन्दै ९ सदस्यीय कार्यदल गठन गरेको छ। रामबहादुर थापा, विष्णु  पौडेल, शंकर पोखेरल, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई र  रघुवीर महासेठ सदस्य रहेको कार्यदल गठन गरिएको हो। 

कार्यदलको गुपचुप बैठक

कार्यदलले खासगरी पार्टी एकताको सम्पूर्ण काम पूरा गर्ने बताइएको छ। सांगठनिक एकीकरण, विधानलगायतका विषयमा गृहकार्य गरेर सुझाव प्रतिवेदन पेश गर्नका लागि कार्यदल गठन गरिएको हो। पुस मसान्तभित्र अर्को स्थायी कमिटी बैठकद्वारा सांगठनिक एकीकरणका सबै काम पूरा गर्ने गरी निर्णय गर्नका लागि सुझाव प्रतिवेदन प्रस्तुत गर्ने गरी अहिले कार्यदलले काम गरिरहेको छ। 

त्यसो त यो कार्यदलले निकै गुपचुप रूपमा काम गर्दै आएको छ। विगतमा पनि कार्यदल गठन भए पनि विषय बाहिर आउने र विवाद हुने भएकाले त्यो खतरालाई टार्नका निम्ति अहिले कार्यदलले गोप्य रूपमा काम गर्दै आएको नेकपाका एक नेताले बताए। यसअघि पनि गठन भएका कार्यदलहरूले आंशिक काम मात्र गर्न भ्याए।

कार्यदलले गरेका कामहरू बाहिर आउँदा कतिपय विवादित पनि बने। यस कार्यदलबाट भने सम्पूर्ण कामहरू टुंग्याउने गरी काम अगाडि बढाइएको बताइएको छ। कार्यदलका सदस्यसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल छलफल निरन्तर भइरहेको बताउछन्। 'बैठक बसिरहेका छन्। छलफल अगाडि बढेको छ। राम्रै ढंगले छलफल अगाडि बढेको छ', नेता भुसालले भने, 'तर बैठकका छलफलका विषयहरू अहिले बाहिर सार्वजनिक नगर्ने कुरा भएको छ।'

स्रोतका अनुसार कार्यदलको कुनै पनि बैठकमा छलफल भएका विषयहरू बाहिर जान नदिने आचारसंहिता बनाइएको छ। सोही आचारसंहिताका कारण कार्यदलका कुनै पनि नेताहरूले यसबारेमा बोल्न चाहँदैनन्। एकैचोटी पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई देखाएर सचिवालयबाट प्रतिवेदन पास भएपछि मात्र कार्यदलका निर्णयहरू सार्वजनिक गरिने कार्यदलको तयारी छ। 

नेकपाको भविष्य कार्यदलमा निर्भर

नेकपाले पार्टी एकताको बाँकी कार्यभार पूरा गर्नका निम्ति सम्पूर्ण जिम्मा नौ सदस्यीय कार्यदललाई दिएको छ। सोही कार्यदलले विभिन्न चरणमा छलफल, बिमर्श गरेर एकताको सांगठनिक कार्य टुंग्याउनेछ। 

सोहीअन्तर्गत अहिले सैद्धान्तिक विषयमा छलफल भइरहेको स्रोतले बतायो। जसअन्तर्गत कार्यदलले जिल्लाको नेतृत्व छनोट गर्दा इञ्चार्ज, अध्यक्ष, सचिव, सहइञ्चार्य (परिस्थिति अनुसार) कसरी तोक्ने भनेर मापदण्ड बनाउनेछ। 

कार्यदलले केन्द्रमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीसँगै राष्ट्रिय परिषद्समेत बनाउने योजनामा छ। त्यस्तै केन्द्रीय सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्‍च बनाइनेछ। सिनियर लिडरलाई कसरी भूमिका दिने भन्ने विषयमा पनि कार्यदलभित्र छलफल भइरहेको छ।

त्यस्तै जिल्ला कमिटी बनिसकेपछि निर्वाचन क्षेत्रिय कमिटी,  स्थानीय तह, वडा कमिटी कसरी 'फर्मेशन' गर्ने भन्ने विषय पनि टुंगो लाग्नेछ। केन्द्रमा विभाग, जनवर्गीय संगठनहरूको एकीकरणलगायतका विषयमा यही कार्यदलले टुंगो लगाउनेछ। 

त्यसो त नेकपाले पुस मसान्तसम्म 'होमवर्क' गरेर प्रतिवेदन बुझाउन कार्यदललाई अल्टिमेटम दिएको छ। तर नेकपाको एकताको सम्पूर्ण कार्य गर्नुपर्ने भएकाले केही ढिलो पनि हुन सक्ने छ। कार्यदल सफल भएमा नेकपाको भविष्य पनि राम्रो हुने नेकपाका एक नेता बताउँछन्। 'यसअघि पनि थुप्रै कार्यदल बनेका हुन्। ती कार्यदलले सबै काम गर्न सकेनन', ती नेताले भने, 'अब एकताको सम्पूर्ण काम यही कार्यदलले टुंग्याउनेछ। यसले पनि काम गर्न सकेन भने नेकपाको भविष्य खतरामा पर्छ। त्यसकारण यसले काम गर्दैपर्छ।'

छलफलमा विधानको विषय पनि

दुई पार्टी एकता भएपछि अन्तरिम विधानको विषयमा छलफल गर्दा पार्टी महाधिवेशनमा प्रतिनिधित्वको मापदण्डको विषयमा ब्यापक चलेको थियो। खासगरी एकता महाधिवेशनमा अहिले केन्द्रीय कमिटीमा रहेका नेताहरू पनि तलैबाट निर्वाचित हुनुपर्ने भन्ने प्रस्ताव उठेको थियो। त्यो विषय विधानमा समेटिएको भनेरसमेत बाहिरियो। तर नेकपाभित्र विधानको विषय अझै टुंगिन बाँकी रहेको भनेर एकपक्षले भन्दै आएको छ। 

त्यसो हुँदा केन्द्रीय कमिटीमा  रहेका ४४१ सदस्य पनि महाधिवेशनमा प्रतिनिधि बन्न तलबाटै निर्वाचित भएर आउनुपर्छ। तर यस विषयमा एक पक्षले असहमति जनाउँदै आएको छ। उनीहरूले केन्द्रीय सदस्यले स्वतः महाधिवेशनमा प्रतिनिधि बन्न पाउनुपर्ने माग गर्दै आएका छन्। 

कार्यदलले यस विषयमा पनि छलफल गरेर बीचको बाटो निकाल्ने बताइएको छ। कार्यदललाई  विधान संशोधनका विषयमा पनि छलफल गर्ने अधिकार भएकाले यस विषयमा पनि छलफल हुने बताइएको छ।

यसअघि बनाइएका कार्यदलका सन्दर्भमा पनि एकाध विवाद भए। कार्यदलका निर्णयहरू पनि विवादरहीत हुन सकेनन। त्यसैले एकता प्रकृयाले मूर्तता पाउन सकेन। त्यसकारण यस कार्यदलमा ९ सदस्यीय कार्यदल बनाइएको छ। जसमा नेकपाका ३ शीर्ष नेता अध्यक्षद्वय ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका नेताहरू बाँडफाँड गरिएको छ। कार्यदलमा पनि यसपाली विवाद नभएकाले यसले एकताको सम्पूर्ण जिम्मेवारी पूरा गर्ने अपेक्षा गरिएको नेकपा नेताहरू बताउँछन्। 

यो पनि पढ्नुस्ः

नेकपाको ३२ घण्टे बैठक : कार्यदलमाथि कार्यदल बनाउँदै सकियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.