|

बाँके : माघे संक्रान्ति आउन दुई दिन बाँकी छ। अन्य समुदायले माघे संक्रान्तिका लागि तरुल, गन्जी, सखरखण्डको जोहो गर्न भ्याएका छैनन्। तर पश्चिम तराईका थारू बस्तीमा माघीको रौनक छ।

माघी पर्वको अवसरमा पश्चिम तराईका गाउँ गाउँमा माघी महोत्सव र माघी मिलन कार्यक्रम भइरहेका छन्। यसले पश्चिम तराईका थारू बस्तीमा माघीको रौनकता थपेको छ। अन्य समयमा सुनसान रहने थारू बस्ती माघी महोत्सव र माघी मिलन कार्यक्रमले भरिभराउ भएका छन्। माघी महोत्सवले हराउँदै गएको थारू संस्कृति, संस्कार र भेषभुषा संरक्षण तथा प्रवर्द्धनमा टेवा पुगेको छ।

थारू संस्कृति, संस्कार र भेषभुषा संरक्षण गर्न बाँकेको विकट क्षेत्र फत्तेपुरका युवाले माघी महोत्सव आयोजना गरेका छन्। तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन राप्तीसोनारी गाउँपालिका ६ र ७ का युवायुवती, बालबालिका, ज्येष्ठ नागरिक थारू पहिरनमा सजिएर महोत्सवमा सहभागी भए। कहिलै थारू पहिरन नलगाएका युवती थारू पहिरनमा सजिएर महोत्सवमा सहभागी भएको राप्तीसोनारी गाउँपालिका ६ सिधनवाकी सुस्मिता थारूले बताइन्। उनले माघी महोत्सवले थारू पहिरन लगाउन प्रेरणा दिएको बताउँदै उनले पछिल्लो समय चाडपर्वमा मात्र थारू पहिरन लगाउने गरेको बताइन्।

विद्यालयमा अध्ययनरत साथीसंगी मिलेर थारू पोशाक सिलाएको बताइन्। ‘थारू संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने लागेर थारू पोशाक सिलाएका छौँ,’ उनले भनिन्, ‘चाडपर्वका बेला उक्त पोशाक लगाएर प्रदर्शन गर्छौ।’सिद्धेश्वर मावि, सिधनवामा कक्षा ११ मा अध्ययनरत मनप्यारी थारू पनि थारू पोशाकमै माघी महोत्सवमा सहभागी भइन्। उनले थारू संस्कृति जोगाउन चाडपर्वमा थारू पोशाक लगाउने गरेको बताइन्।

‘पूर्खाको सीप, कला र संस्कृतिको संरक्षण नगरे थारू समुदायको पहिचान हराउन हराउने डर छ,’ उनले भनिन्। माघीको अवसर पारेर थारू कल्याणकारिणी सभा दाङले सदरमुकाम घोराहीमा बृहद माघी महोत्सव आयोजना गरेको छ भने दाङकै दंगीशरण गाउँपालिकाले पनि हेकुलीमा दुईदिने माघी महोत्वस आयोजना गरेर हराउँदै गएको थारू संस्कृति र परम्परा जोगाउने प्रयास गरेको छ।

महोत्सवले थारू संस्कृति संरक्षणमा टेवा पुर्‍याएको राप्तीसोनारी गाउँपालिका ७ का अध्यक्ष रामलखन थारूले बताए। उनले थारू संस्कृति, भेषभुषा चाडपर्व र महोत्सवमा सिमित भएको बताउँदै उनले थारू भेषभुषा चाडपर्वमा सीमित भइसकेको बताए। ‘युवायुवतीले चाडपर्व बाहेक अन्य समयमा लगाउँदैनन्। बुढापाकाले पनि थारू पहिरन लगाउन छोड्न थालिसकेका छन,’ उनले भने। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.