|

काठमाडौं : नेपाली औषधि कम्पनीहरूले स्वदेशी उत्पादनले नै आत्मनिर्भरता बनेको अवस्थामा विदेशी औषधि आयातमा रोक लगाउनु पर्ने माग गरिएको छ। हाल नेपालमा भएका औषधि कम्पनीहरूले नै गुणस्तर र आवश्यक औषधि उत्पादन गर्न सक्ने अवस्था रहेकाले औषधिको आयातमा रोक लगाएर आवश्यक कच्चा पदार्थ आयात गर्न औषधी उत्पादक संघ(एपोन) ले जोड दिएको हो।

विभिन्न समयका अध्ययनले समेत स्वदेशी कम्पनीलाई सम्वर्द्धन र प्रवर्द्धनका गर्न सुझाब दिएको सन्दर्भमा सरकारले प्रभावकारी नीति लिनुपर्ने एपोनको माग छ। एपोनका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार अहिले पनि नेपालमा अहिले पनि ५२  प्रतिशत औषधिको बजार भारतीय कम्पनीले ओगटेको छ। उनले नेपाली उद्योगको औषधि ४५ प्रतिशत र अन्य देशबाट आयात ३ प्रतिशत रहेको बताए। दाहालले सरकारले केही कदम चालिदिए मात्रै पनि ४५ प्रतिशतबाट ७५ प्रतिशतमा पुर्‍याउन सहज हुने भन्दै त्यसका लागि सरकारको ध्यानाकर्षण गराएको बताए।

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाका पालामा नेपालमै प्रयाप्त भएका केही औषधि बाहिरबाट ल्याउन नपाइने प्रस्ताव अघि बढेको स्मरण गराउँदै त्यसको कार्यान्वनय अहिलेको आवश्यकता रहेको बताए। उनले नियोजित रुपमा नेपाली औषधिहरू महँगा र कम गुणस्तरीय भन्ने भ्रम छरिए पनि त्यस्तो नभएको बताए। उनले नवीकरण प्रक्रियामा रहेका उद्योगहरूको डब्लुएचओ जिएमपी प्रमाणीकरणका लागि समेत न्यून गुणस्तरको भन्ने गरिएको भन्दै यो स्वाभाविक प्रक्रिया भएको बताए।

नेपालमा हाल ५३ उद्योगले तीन सय प्रकारका औषधि उत्पादन गर्दै आएका छन्। सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिने संकेत देखेरै २९ वटा नयाँ कम्पनी प्रक्रियामा छन्। अहिलेकै अवस्थामा २५ अर्बभन्दा बढीको लगानी रहेको यो क्षेत्रमा आयात प्रतिबन्ध गर्न सके लगानीवृद्धिसँगै रोजगारीको समेत सिर्जना हुन सक्ने भनाइ उद्योगीहरूको छ । विभिन्न अध्यायनले ८० भन्दा बढी प्रकारका औषधिमा नेपाल आत्मनिर्भर भइसकेको देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.