|

सिन्धुली : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारले अहिलेको सुनौलो मौकाको सदुपयोग गर्न नसकेको बताएका छन्। 

शनिबार रामेछापको एक कार्यक्रममा सहभागी भई सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको अवलोकन गर्न आएका नेता पौडेलले जिल्लाका नेता कार्यकर्तासँगको भेटघाटका क्रममा यस्तो बताएका हुन्। उनले विकास निर्माण गर्नका लागि अहिले देशमा सबै तिरबाट सहज वातावरण तयार भएको अवस्थामा पनि कम्युनिष्ट सरकारले विकासमा छलाङ मार्न नसकेको आरोप लगाए। नेता पौडेलले भने, ‘यो सरकारका लागि इतिहासमै सुनौलो मौका थियो। यो मौका सरकारले सदुपयोग गर्न सकेन। यो सरकारले अहिलेसम्म धेरै मौका गुमाई सकेको छ। देश निर्माणको यस्तो सुनौलो मौका गुमेकोमा मलार्ई दुःख लागेको छ।’ उनले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा शान्ति, सुरक्षा कायम गर्न नसकेको बताउदै देशमा भ्रष्टाचारको जँग हाल्न कम्युनिस्ट सरकार नै लागि परेको आरोप लगाए।

‘प्रधानमन्त्री समृद्धिको जग बसाल्यौं। आधारसिला खडा गर्‍यौं भन्नुहुन्छ। तर जग भ्रष्टाचारको बसेको देखिन्छ’ उनले भने, ‘भ्रष्टचारको जगमा समृद्धिको महल खडा हुन सक्दैन।' उनले सरकारले संघीयता विरोधी कदम चालिरहेको भन्दै सरकार विकेन्द्रीकरण भन्दा पनि केन्द्रीकरणतर्फ हरेक कदम चाल्दै गएको आरोप लगाए। ‘संविधानले दिएको स्थानीय प्रदेश सरकारको अधिकारमाथि खिचेर लिने र नागरिकको अधिकारलाई सीमित पार्ने काम भइरहेको छ। उनले भने, ‘विस्तारै निरंकुशतातिर अहिलेको सरकारको पाइलाहरू चलिरहेको देखिन्छ। त्यस किसिमको गलत र उल्टो बाटोमा जान हामी दिदैनौं।’ उनले पार्टीका सभापतिको कार्यशैलीतर्फ लक्षित गर्दै नेपाली कांग्रेस एजेण्डाविहीन पार्टी बन्दै गएको भन्दै कार्यकर्तासँग दुखेसो पोखे।

‘मैले पाँच, सातवटा एजेण्डा लेखेर केन्द्रीय समितिमा बुझाएको छु। त्यसलाई आगामी केन्द्रीय समितिको बैठकबाट पारित गर्ने प्रयास गर्छु’ उनले भने। आगामी चुनावमा कांग्रेसलाई जिताउने गरी संगठनमा लाग्न समेत उनले कार्यकर्तालाई निर्देशन दिए। ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गर्दै उनले साम्राज्यवादी शक्तिसँग सानो संख्यामा रहेका नेपालीले लडेर स्वतन्त्रता बचाएको ठाउँ सिन्धुलीगढी भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.