|

कैलाली : मान्छेका आ–आफ्नै रहर र चाहना हुन्छन्। त्यो रहर कसैलाई सजिलै उपलब्ध हुन्छ, कसैलाई मुस्किलले। कतिपय त त्यही रहर र चाहना प्राप्त गर्न जीवनभर संर्घष गरिरहन्छन्।

२० वर्षको उमेरमा कैलालीको घोडाघोडी नगरपालिका १ का भरत विष्टलाई अनौठौं रहर र चाहना पलायो। सामान्य ज्ञान पढ्दै गर्दा अरूका नाम र काम याद गर्ने उनी मेरो नाम र काम पनि अरूले याद गरिदिउन् भन्ने सोचमा पुगे। यही सोचले उनलाई विश्व कीर्तिमानी बनायो। 

‘सामान्यज्ञानको धेरै ठाउँमा गिनिज बुकमा नाम लेखाएका व्यक्तिहरूको बारेमा पढेको थिएँ’ त्यो पल सम्झँदै भरतले भने, ‘म पनि यसका नाम लेखाउन सक्छु भन्ने रहर पलायो र मेहनत गर्न थालेँ।’

आफू र आफ्नो राष्ट्रको पहिचान गराउने उद्देश्यले गिनिज बुक अफ दी बर्ल्ड रेकर्डमा नाम लेखाउने रहर पलाएको उनी बताउँछन्।

भरतले २०६९ सालमा ७ विधामा विश्व कीर्तिमानी रोहित तिमिल्सिनासँग सामाजिक सञ्जाल मार्फत परिचय गरे। उनले रोहितलाई गिनिज बुकमा नाम लेखाउने प्रक्रियाबारे सोधे। त्यति बेला रोहित अमेरिकामा थिए। उनले नेपालका साथीहरू सँग भेटेर यस विषयमा प्रस्ट हुन सुझाव दिए। भरतले भने, ‘रोहित दाइले चासो नदिएको भए सायद मभित्रको रहर पनि कम हुने थियो होला। तर उहाँको सुझावले थप ऊर्जा मिल्यो।’

भरतलाई कीर्तिमानको हुटहुटीले छोइसकेको थियो। उनी पुष्कर नेपाल र थानेश्वर गुरागाईँलाई भेट्न काठमाडौँ पुगे। नेपाल १३४ पटक आफ्नो निधारमा खुट्टाले हिर्काएर रेकर्ड बनाएका व्यक्ति हुन् भने गुरागाईँ १७ विधामा कीर्तिमानी व्यक्ति हुन्। ‘उहाँहरू दुवैले तिमी पनि गिनिज बुकमा नाम लेखाउन सक्छौँ भन्नुभयो’ भरतले भने, ‘त्यो मेरा लागि मार्गनिर्देश भयो।’ त्यसपछि उनी आधिकारिक  रूपमा रेकर्ड कायम गर्न लागि परेका हुन्।

असफता पछिको सफलता

एउटा सफलताको पछाडि कयौँ असफलता हुन्छ भन्ने भनाइ भरतको जीवनमा पनि चरितार्थ भयो। विश्व कीर्तिमानको लागि गरेका उनका कयौँ प्रयास असफल भए। तर उनले लक्ष्य र उद्देश्यमा भने फरक पर्न दिएनन्। उनी भन्छन्, ‘जति असफल भयो, त्यति नै सफलताको लागि चाहना बढ्दो रहेछ। त्यति नै संर्घष र मेहनत गर्न मन लाग्दो रहेछ। त्यसैले त मानिस कयौँ असफलता पछि एक सफलता भेट्छ।’

उनले सुरुमा विश्वमा फिफासँग आबद्ध रहेका २०९ वटा देशको नाम १ मिनेट १ सेकेण्डमा वाचन गरेर विश्व कीर्तिमानी राख्ने तयारी गरेका थिए। त्यसको लागि गिनिज बुकको टिम पनि पुगेको थियो। भरतले काठमाडौँको रिपोर्टर्स क्लबमा ती राष्ट्रको नाम वाचन गरे। त्यो बेला उनले १ मिनेटमा ती राष्ट्रको नाम वाचन गरेका थिए। तर पछि प्राविधिक त्रुटि भएको भन्दै उनले प्रमाणपत्र पाएनन्।

‘त्यो बेला अब म सक्दिन कि भन्ने पनि मनमा आयो’ उनी भन्छन्, ‘जहाँ ढोका बन्द हुन्छ त्यहीबाट अर्को बाटो सुरु हुन्छ भनेझैँ भयो। मैले पनि अर्को विषयमा कीर्तिमान बनाउनेबारे सोचेँ।’

२०१७ जनवरी १ मा रिपोर्टर्स क्लबमै उनले अर्को पत्रकार सम्मेलन आयोजना गरे। पूर्व डिआइजी हेमन्त मल्लको पनि सहभागिता थियो त्यहाँ। त्यो दिन १ मिनेटमा ४२ पोटी लसुन खाएर उनले कीर्तिमान बनाए। ‘त्यसको पनि आफ्नै नियम हुन्छ। नियम अनुसार २ सेन्टिमिटर लामा लसुन खाएको थिएँ’ उत्साहित हुँदै उनले सुनाए।
गिनिज बुकका लागि नयाँ रेकर्ड बनाउने भन्दा पुरानो रेकर्ड तोड्ने र आफ्नो नाममा दर्ता गराउने अभियानमा आफू लागेको उनी बताउँछन्।

उनी भन्छन्, ‘नयाँ कीर्तिमानको लागि रकम भुक्तानी गर्नुपर्छ त्यो रकम नेपालबाट पठाउन मिल्दैन। विदेशमा आफन्त नभएपछि नयाँ बनाउनुभन्दा पुरानो रेकर्ड तोड्नमा लागेको छु।’ अमेरिकी नागरिकको कीर्तिमान उनले तोडेका हुन्।

एक मिनेटमा ९० जनालाई अङ्कमाल गरेर उनी अर्को रेकर्ड बनाउने योजनामा छन्। ‘भारतीय नागरिक कृष्ण कुमारले ७६ जनालाई एक मिनेटमा अङ्कमाल गरेका थिए। उनको रेकर्ड अमेरिकी अभिनेताले तोडे। उनले १ मिनेटमा ८६ जनालाई अङ्कमाल गरे’ भरतले भने, ‘अब म ९० जनालाई अङ्कमाल गरेर त्यो रेकर्ड तोड्ने योजना बनाउँदै छु।’

बाबुछोरा नै कीर्तिमानी

भरत मात्रै होइन, उनका ६ वर्षका छोरा जनार्दन विष्ट पनि विश्व कीर्तिमानी हुन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। दुई वर्षअघि ४ वर्षको उमेरमा जनार्दश विष्टको नाममा एउटा कीर्तिमान बनेको छ। 

विश्व कीर्तिमानका लागि दुइटा संस्था प्रचलित छन्। ‘गिनिज बुक आफ द वर्ल्ड रेकर्ड’ र ‘रेकर्ड सेन्टर’।

भरतले दुवै निकायमा कीर्तिमान बनाएका छन्। उनका ४ वर्षका छोराले भने अमेरिकाको रेकर्ड सेन्टरमा कीर्तिमान बनाएका हुन्। ४ वर्षमा जनार्दनले आफ्नो मुखमा ४० पेन्सिल १० सेकेन्डसम्म होल्ड गरेर रेकर्ड सेन्टरमा नाम लेखाएका हुन्।

यसरी राखे पेन्सिल मुखमा

जनार्धन अहिले भारतको चर्चिक कलर्स सोमा कीर्तिमान कायम गर्नेहरूमध्ये उत्कृष्ट ४ मा परेका छन्। भरत भन्छन् ‘छोरालाई पनि दुई वटै निकायमा नाम दर्ता गराउने सपना छ।’ 

कम समयमा अङ्ग्रेजीमा नेपाल लेखेर गिनिज बुक आफ द वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारी भइरहेको उनले सुनाए। ‘६ वर्षको उमेरका बालबालिका निकै सुस्त लेख्छन् तर छोरालाई छिटो लेखाउन सिकाइरहेको छु’ उनले भने ‘यसरी देश पनि चिनिन्छ छोरो पनि।’

नेपालबाट कम उमेरमा गिनिज बुकमा नाम लेखाउने ३ जना छन्। सानो उमेरमा गीत गाएकी अतिथि केसी, व्यावसायिक फोटोग्राफीमा रिरेन्द्र श्रेष्ठ र कम उमेरमा चलचित्र निर्देशन गरेका सौगात विष्ट गिनिज बुक आफ द वर्ल्ड रेकर्डमा दर्ता भएका छन्।

रेकर्ड सेन्टरमा नेपालका ५ जना बालकको नाम दर्ता छ। आयुस्मान न्यूरे, कम समयमा रोमन अङ्क लेखेर सुरभी ढकाल, छिटो अङ्गुर खाएर नेहारिका बोहरा, उल्टोबाट ४ सकेण्डमा एबीसीडी वाचन गरेर आयुष ऐर र ४० पेन्सिल १० सेकेन्डसम्म मुखमा राखेर जनार्दशन विष्टले रेकर्ड सेन्टरमा नाम राखेका हुन्। 

यी ५ जना बालबालिकालाई भरतले कीर्तिमानको लागि पहल गरेका हुन्। घोडाघोडी नगरपालिका १ स्थित सप्तश्री विद्यालयमा अध्यापन गराउँदा उनको प्रेरणाबाट पाँचै जना बालबालिकाले रेकर्ड कायम गरे।

आफैँ गुमनाम

भरत अहिले टीकापुरको रेडियन्ट मन्टेश्वरी इंलिस स्कुलमा सामाजिक विषय पढाउँछन्। दुई वर्षदेखि कक्षा ८ सम्मका विद्यार्थीलाई पढाइरहेका उनी आफैँ भने गुमनाम छन्। ‘लक्ष्य एउटा थियो काम अर्कै गर्नुपर्ने बाध्यता आयो’ उनी भन्छन्, ‘त्यही कारणले पनि म ओझेलमा परेको हुँला।’ 

समय अभावले पनि समस्या भएको उनको बुझाइ छ। ‘थप कीर्तिमान बनाउने रहर छ तर समय छैन’ उनी भन्छन्- ‘रोजीरोटीको लागि भए पनि यहाँ पढाउनु पर्छ।’
भरतले भावुक हुँदै ‘गिनिज बुकमा नाम लेखाएपछि सबैले चिने पनि जीवन धान्न भने कठिन भइरहेको' बताए।

उनका लागि शिक्षण पेसा बाध्यता भएको छ। रहर त उनलाई संसारमा आफू र आफ्नो मुलुकलाई चिनाउने छ। ‘अन्य धेरै राष्ट्रमा कीर्तिमानी बनाउनेलाई सरकारले सम्मान दिन्छ। पारिश्रमिक नै दिन्छ। यहाँ क्षमता भएकाले पनि खुम्चिएर बस्नु परेको छ', उनले भने- ‘मेरो ठुलो फोटो र प्रमाण पत्र घरको भित्तामा झुण्डिएको छ, त्योभन्दा ठुलो रहर र सपना मेरो मनमा झुण्डिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.