विचार

दीपेन्द्रसँग त्यो छोटो मित्रता

चैत २८, २०७५

    समयको छालले मानिसलाई कहिले कहाँ र कता हुत्याउँछ भन्न सकिँदैन। कसको नजिक र टाढा पुर्‍याउँछ, त्यो पनि अलिखित नै छ। तर, यही समयले छाडेर गएका सम्झना कहिलेकाहीँ साह्रै मिठो याद बनेर रहन्छन्। तर, जिन्दगीमा त्यसको महत्त्व खासै हुँदैन। त्यस्ता सम्झनाले एकछिन मस्तिष्क भने झन्झन्याउँछ।

    कुरो २०४४ साल आसपास कै हुनुपर्छ। म भानुभक्त मेमोरियल माध्यमिक विद्यालयको स्काउट टोलीमा पनि थिएँ। त्यही वर्ष नेपालमा स्काउटको अन्तर्राष्ट्रिय भेला (ज्याम्बोरी) भएको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा। झन्डै एक साता त्यहीँ बसियो, त्यही खाइयो।

    अहिले जहाँ अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ, त्यही स्थानलाई ज्याम्बोरीको मुख्य केन्द्र बनाइएको थियो। उद्घाटनदेखि समापनसम्म त्यही मैदानमा भएको थियो। त्रिविमा त्यसबेला बनाइएका अत्याधुनिक भवनहरूमा विदेशी विद्यार्थीको बसोबास र खानपानको व्यवस्था थियो। हामी नेपाली भने दोस्रो दर्जामा गनियौँ। बाँसको संरचनालाई कर्कटपाताको छत अनि सुत्नका लागि भुइँमा पराल ओछ्याइएको। त्यस्तो थियो, हाम्रो रात बिताउने ओछ्यान। तर पनि, विद्यालयले राम्रै रकम लिएको थियो, हामीसँग, त्यो अनुभव बटुल्न।

    किम्बदन्ती झैँ लाग्थे, दरबारियाहरू। कस्ता होला उनीहरूको रहनसहन, खानपान। दु:खभन्दा लाखौँ कोस टाढाको जीवन बाँच्छन् होलान् झैँ लाग्थ्यो। उनीहरूले सुत्ने ओछ्यान, हेर्ने आकाश र टेक्ने धर्ती पनि हामीले महसुस गर्नेभन्दा फरक हुन्छ होला झैँ लाग्थ्यो। तर, मिथ्या रहेछ, उनीहरूको जीवन पनि। दरबार हत्याकाण्डले त्यो पनि प्रस्ट पार्‍यो।

    हुनत हामीलाई ज्याम्बोरीमा जानुभन्दा केही दिन अगाडि नै पशुपतिको श्लेषमात्मक वनमा सुरुवाती तालिम दिइएको थियो। त्यो पनि नाम मात्रको। पशुपतिस्थित शारदा माविको चिसो छिँडीमा सुताएर। अनि के के सिकाए जस्तो गरेर श्लेषमात्मक वनमा रहेको पुरानो ८ फिटे खानेपानीको टंकी चढाएर ‘रक क्लाइम्बिङ’ सिकाइयो। चाबहिलको बासिन्दा म। अलिअलि त पशुपतिका बाँदरले पनि चिन्थे होला। अनि अरू बेला हामीले हाम फाल्ने खोँचहरूमा ‘टार्जन जम्प’ गर्न सिकाइयो। के नै सिकियो होला र खै? हाँसेर भुतुक्क हुनुसिवाय। 

    स्काउटका हाम्रा गुरु थिए बमबहादुर मोक्तान। हामीले उच्चारण गर्ने हाम्रो विद्यालय र उनको नाम एउटै बनाएका थियौँ। बिबिएमएसएस। अर्थात् एउटा भानुभक्त मेमोरियल सेकेन्डरी स्कुल अनि अर्को बमबहादुर मोक्तान स्काउट सर। अहिले उनको पद फेरिएको रहेछ, सम्बोधन भने उही गरे हुन्छ। नामको पछाडि ‘स्कुल सर’ अर्थात् आजकाल बिबिएमएसएस प्रिन्सिपल रहेछन् भानुभक्तको। उनीसँगै विद्यालयको बसमा चढेर ज्याम्बोरी जान हामी जति उत्सुक थियौँ, परालमा सुत्नुपर्ने देखेर त्यति नै खिन्न पनि बन्यौँ। तर, घरबाटै लिएर गएको म्याट ओछ्याएर सुतियो। छात्राका लागि भने केही भिन्न व्यवस्था थियो। त्यहाँ दिने खानाको त के कुरा! छ्या पनि भनियो तर खाइयो।

    घरमा आमालाई घुर्काएर खाइरहेको बानी। भान्छामा गएर थाल थाप्दा सबैभन्दा पहिले नाक खुम्चाउनुपर्ने गरेर गिलीपित्ती भएको भात फ्यात्त दिन्थे। अनि त्यति नै शब्द खर्चिनु जसरीले बेसारले रंगिएको नाम मात्रको दाल र तरकारी। खान सके पो। दिनभरि अनेकौँ कार्यहरूमा सहभागिता जनाउनुपर्ने भएकाले घरको खाना सम्झँदै अलिअलि खाइन्थ्यो। साह्रै सम्झियो, आफ्नी आमालाई त्यो एक साताभरि। फकाइ-फकाइ खुवाएको। दिउँसोको खाजा भने आफैँले व्यवस्था गर्नु पर्थ्यो। घरबाट पैसा लगिएकै थियो। नलगेको भए पनि फरक पर्दैनथ्यो। त्यहीँ रहेको नेपाल बैङ्कमा मेरा मामाका छोरा जागिरे थिए। खाजा भने उनलाई मुडिन्थ्यो। दिनभरिको खानामा मिठो भनेको त्यही खाजा हुन्थ्यो।

    बिबिएमएसएस भने परालमा सुतेको हामीले देखेनौँ। शायद मास्टरहरूका लागि राम्रै व्यवस्था थियो कि? तर पनि, दिनहुँ कता सुत्न जान्थे वा घर नै कि भाग्थे, थाहा भएन। शारदा माविमा रात बिताउन नसकेर उनी घरतिर भागेको भने थाहा छ। म चाबहिलकै रैथाने हुँदा पनि त्यहीँ सुतेँ।

    त्यो ज्याम्बोरीमा अर्का दुई जना भीभीआइपी छात्रले पनि सहभागिता जनाएका थिए। पञ्चायतका युवराज दीपेन्द्र शाह र शाहज्यादा पारस शाहले। हाम्रो छाप्रो नजिकै उनीहरूका लागि भव्य टेन्टको व्यवस्था थियो। बेलुका हुने ‘क्याम्प फायर’मा उनी सबैको केन्द्र बन्थे। नबनुन् पनि कसरी राजाका छोरा जो थिए। हुनत उनले एसएलसी दिइसकेका थिए। तर, काठमाडौं जिल्लाको नेतृत्व उनले नै गरेका थिए। उनकै नेतृत्वमा हामीले काठमाडौंको तर्फबाट मार्चपास पनि गरेका थियौँ।

    सेलिब्रेटी त हुने नै भए। मनका पनि राजा रहेछन्। उनको नजिक हुने चाहना कसको नहोला र? अझ सभ्रान्त विद्यालयका छात्राहरू उनको निकैनजिक जान रुचाउँथे अनि उनले पनि खुल्ला हृदयले स्वागत गरेको धेरैले देखे, चियोचर्चो गरे। अरूतिर त फूलको वरिपरि भँवरा मडारिन्थे। त्यहाँ त भँवराको नजिक जान फूल नै लालायित देखिन्थे। त्यसैले त्यो भँवराको वरिपरि फूलहरूको घुइँचो सधैँ देखिन्थ्यो। विशेष गरेर उपत्यकाका नाम चलेका ठुला विद्यालयका फूलहरूको। जसमा केही त भविष्यमा नेपाली रजतपटका सेलिब्रेटीसमेत बनेका थिए।

    मैले दीपेन्द्रको अटोग्राफ पनि लिएँ। उनले अटोग्राफमा हस्ताक्षरको मुन्तिर नाम र नारायणहिटी दरबार लेखे। एउटा फोन नम्बर पनि दिएका थिए। दुवैको बोली वचन निकै सद्भावपूर्ण, मिठो लाग्यो। कुनै दिन फोन गरेर भेट्न आउनु है! भने। हुन्छ भनेर टाउको हल्लाइयो। तर, कहिल्यै भेट्ने प्रयास पनि गरिएन। के चिन्लान् र खै भन्ने मनमा लागेर।

    हुनत राजदरबार प्रेमको मन्दिर जस्तो हुन्छ रे। जहाँबाट देशमाथि मात्र होइन हुलका हुल सुन्दरीका मनमाथि पनि शासन हुँदो रहेछ। सुनेको, राजदरबारभित्रै काम गर्ने एक जना चिने जानेकाको मुखबाट। त्यहाँ जन्मिने हरेक पुरुषको पुरुषत्वमा कमी नआओस् भनेर उनीहरूका मन र शरीरलाई माझ्न एउटा निश्चित उमेरदेखि फूलहरूको व्यवस्था गरिएकै हुन्छ रे! कुनै प्रचीनकालमा सुरु भएको त्यो प्रथा कहिल्यै बन्द भएनछ। अनि ज्याम्बोरीमा भाग लिँदा त दीपेन्द्र त्यही उमेरको सेरोफेरोमै थिए। अनि किन ‘फ्लट’ नगरुन् त। मज्जाले गरे। हामी जस्ता लिच्चडहरूको काम त चियाएर हेर्ने मात्र त थियो, हेरियो पनि। एक त उमेर नै त्यस्तो, त्यसमाथि सामाजिक उचाइ पनि आकाश छुने जस्तो। उनका लीला देखेर एक चोटि त लागेको पनि थियो। कोही पनि हामी जस्ता नजन्मिउन्, यो संसारमा। त्यस्तो जिन्दगी पो जिन्दगी। हाम्रो जिन्दगी त के जिन्दगी। मात्र भोजपुरी फिल्मको डाइलग झैँ, ‘जिन्दगी झन्डवा, फिर भी घमण्डवा’! कामना गरिएको थियो, सबैले दीपेन्द्रकै झैँ जिन्दगी जिउन पाउन्। तर, भविष्यमा त्यो कामना मनबाट ‘डिलिट’ गरियो। दरबार हत्या काण्डपछि।

    कहिलेकाहीँ अकल्पनीय अचम्म हुन्छ। सधैँ फूलको वरिपरि रमाउने दीपेन्द्र र पारससँग त्यही ज्याम्बोरी म र मेरा एक मित्रले ३–४ घण्टा समय कटाउने अवसर पायौँ। हामीलाई देखेर किन हो उनी फिसिक्क हाँसे। शायद पहिलो हाँसो हाम्रै ओठमा चढेको हुनुपर्छ। अनि कता जान लागेको भनेर सोधे पनि। हामीले ‘रक क्लाइम्बिङ’ गर्न भन्यौँ। उनीहरूले हामी पनि त्यतै जान लागेको ल आउँ भने। त्यो भेटमा हुनत हामीसँग उनीहरूलाई सोध्ने प्रश्नका चाङ थिए। तर, हामीभित्र उनीहरूसँग बोल्न सक्ने साहसको कमी थियो। किम्बदन्ती झैँ लाग्थे, दरबारियाहरू। कस्ता होला उनीहरूको रहनसहन, खानपान। दुखभन्दा लाखौँ कोस टाढाको जीवन बाँच्छन् होलान् झैँ लाग्थ्यो। उनीहरूले सुत्ने ओछ्यान, हेर्ने आकाश र टेक्ने धर्ती पनि हामीले महसुस गर्ने भन्दा फरक हुन्छ होला झैँ लाग्थ्यो। तर मिथ्या रहेछ, उनीहरूको जीवन पनि। दरबार हत्याकाण्डले त्यो पनि प्रस्ट पार्‍यो।

    त्यो ज्याम्बोरीमा उनीहरूको पाइलामा पाइला मिलाएर हिँड्दा हामीले केही सोध्ने आँट गरेनौँ। बरु हामीलाई सोधिएका हरेक प्रश्नको सही जवाफ दियौँ, बस्। उनका एडिसीहरू त कतै देखिएनन् तर, मनमा डर भने भइरह्यो। किन सँगै हिँडेको? भनेर हप्काउलान् कि भनेर। मैले दीपेन्द्रको अटोग्राफ पनि लिएँ। उनले अटोग्राफमा हस्ताक्षरको मुन्तिर नाम र नारायणहिटी दरबार लेखे। एउटा फोन नम्बर पनि दिएका थिए। दुवैको बोली वचन निकै सद्भावपूर्ण, मिठो लाग्यो। कुनै दिन फोन गरेर भेट्न आउनु है! भने। हुन्छ भनेर टाउको हल्लाइयो। तर, कहिल्यै भेट्ने प्रयास पनि गरिएन। के चिन्लान् र खै भन्ने मनमा लागेर।

    केही बेरपछि उनीहरू नजिकैको एउटा भट्टीमा छिरे। हामीलाई बिदा गर्दै। के खाए थाहा भएन। तर, उनीसँगको त्यो छोटो मित्रताले मनलाई सधैँ उत्साही बनाइ रह्यो। आयु छोटै रहे पनि त्यो मित्रताको सम्झना गहिरो बन्यो।

    ०००

    श्रीसगरमाथा दैनिक प्रकाशन भइरहेको बेला भारतको मद्रासमा सातौँ दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो। सन् १९९५ मा। हुनत पहिलो दक्षिण एसियाली खेलकुद नेपालमै भएको थियो। तर, त्यो बेलासम्म साफ खेलकुदको संरचनामा निकै परिवर्तन आइसकेको थियो। आयोजना पनि खर्चिलो बन्दै गएको थियो। हामी त्यही एउटा ‘बुढो’ दशरथ रङ्गशालाले मुलुकभरिको खेल हाँकिरहेका थियौँ। भन्ने हो भने अहिले पनि अवस्था त्यति फरक छैन।

    नेपालले १९९७ मा आठौँ साफ आयोजना गर्छु भनेर दाबी गर्‍यो। पायो पनि। तत्कालीन खेलकुद सहायक मन्त्री पाल्टेन गुरुङले मद्रासबाट साफको झन्डा बोकेर ल्याए। न भौतिक पूर्वाधार, न त बनाउन सक्ने नै हैसियत। न रङ्गशाला न त स्तरीय कभर्डहल। साफ खेलकुद गराउन सक्ने सम्भावना न्यून थियो। नेपालले गराउन सक्दैन तर, हामी सक्छौँ भनेर श्रीलङ्का आयोजनाका लागि तम्सिरहेको थियो। नेपाल ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष रुक्मसम्सेर राणाले श्रीलङ्काको प्रस्तावमा सहमतिसमेत जनाइसकेका थिए।

    जसरी भए पनि नेपालमै साफ खेलकुद आयोजना गर्छु भन्ने मुढेबलबाट नेपाल पनि पछि हटेको थिएन। त्यसको लागि जनतालाई जुवाको आधुनिक स्वरूप लोट्टो खेलाएर पैसा उठाउने अभियानसमेत चलाइयो। ‘फ्लप’ खायो, त्यो योजनाले। शायद खेलकुदको सार नबुझेरै होला, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा चौरमा खेलाएर भए पनि साफ गराइ छाड्छु भनेर कुर्लिन्थे। 

    त्यही बेला चीनका तत्कालीन राष्ट्रपति जियान जेमिङले तत्कालीन राजा वीरेन्द्रमार्फत नेपाललाई आर्थिक सहयोग गर्ने प्रस्ताव राखे। चीनले दिएको त्यही सहयोग रकम खेलकुदको पूर्वाधारमा खर्च गरिने निर्णय गरियो। चीन सरकारले सहयोग गरेपछि बल्लतल्ल त्यही बुढो रङ्गशालालाई नयाँ स्वरूप दिइयो। सातदोबाटोमा नेपाल राष्ट्र बैङ्कले टक्सार विभाग ग्लोबर टेन्डर मागिसकेको जग्गा जबरजस्ती सरकारले कब्जामा लियो। जुन जग्गामा अहिले अन्तर्राष्ट्रिय खेल परिसर निर्माण भएको छ। जसले गर्दा सन् १९९९ मा नेपालले आठौँ साफ खेलकुद गर्न सक्यो। तर, त्यो बेला दशरथ रङ्गशालाको पुनर्निर्माणमा जति रकम खर्च गरियो, त्यति नै खर्च गरेको भए अर्को एउटा भव्य रङ्गशाला निर्माण गर्न सकिन्थ्यो। २०७२ सालमा भूकम्पले ध्वस्त भएको त्यो रङ्गशालाले फेरि पुनर्निर्माणको नाममा त्यही नियति भोगिरहेको छ।

    भोलिका राजामा हुनु नपर्ने अवगुणहरूलाई दरबारले ढाकछोप गरी नै रह्यो। जे जसरी लोकप्रिय बनाउन सक्छ दरिबारिया टोलीले त्यसमा सफल कार्य पनि गर्‍यो। तर, मेरा ती मामाका अनुसार दीपेन्द्रको मनमा फैलिरहेको वितृष्णाका विषलाई मार्न भने दरबार सफल भएन। त्यसैको फाइदा अरूले उठाए। दीपेन्द्रलाई गोटी बनाएर। त्यसमाथि एक पक्षीय दरबारियाले निराजनलाई युवराज घोषित गर्न लागेको हल्ला फैलाएर उनलाई अझै आक्रोशित पार्ने काम पनि गरेकै रहेछन्।

    साफ खेलकुदको त्यो आठौँ आयोजनामा पनि दीपेन्द्रको सक्रियता प्रशंसालायक नै रह्यो। उनले त्यो खेलकुदका हरेक खेलमा नेपाली खेलाडीलाई ‘चियर! गरे। शायद त्यो पनि राजनीतिको कुनै दाउपेच हुनसक्छ। २००६ को दोहा एसियाडको उद्घाटन समारोहमा घोडा चढेर ओलम्पिक ज्वाला बाल्दै त्यहाँका राजकुमारले पनि आफ्नो सेलिब्रेटिपन देखाएका थिए। त्यो बेला मलाई लागेको थियो, दीपेन्द्रले पनि ‘पपुलर’ बन्न कै लागि खेलकुदमा आफ्नो पकड जमाउन चाहेका त थिएनन्?

    भनिन्छ, जसलाई खेलकुदमा रुचि छ,त्यो निकै अनुशासित हुन्छ। तर, भविष्यमा दीपेन्द्रले आफ्नोसहित सारा परिवारको ज्यान लिएको घटना सम्झँदा उनी दोहोरो चरित्रका थिए कि भन्ने लाग्नु पनि स्वाभाविकै हो। हुन पनि साफ खेलकुदका बेला खेल मैदानमा अति चरित्रवान् देखिने दीपेन्द्रका गाडीको डिकीमा उनले पिउने ब्रान्डका रक्सीका बोतल हुन्थे। त्यो पनि आफ्नै आँखाले देखियो। त्यो आयोजनामा उनीसँग औपचारिक बाहेक केही कुराकानी हुन सकेन। उनीसँग मेरो मित्रताको आयु त ज्याम्बोरीताका नै समाप्त भइसकेको थियो। आँखा जुध्दा आफ्नो जनतासँग जो कोही शासक मुसुक्क हाँस्छन् नै। त्यति मै उनीसँग फेरी घनिष्ठता बढ्यो भन्न पनि मिलेन नै।

    नाताले मेरा मामा पर्ने एक जना दरबारमा लामो समय काम गरेका थिए, दरबारको गुप्तचरका रूपमा। अवकाश पाउने बेला कर्नेल थिए। दरबार हत्याकाण्डभन्दा निकै अगाडि उनले अवकाश पाइसकेका थिए। जब भेट हुन्छ, म उनीसँग दरबारभित्र हुने क्रियाकलापबारे निकै चाख राखेर कुरा गर्छु। खासमा त्यहाँभित्रको माहौल बुझ्ने मेरो प्रयास रहन्छ। दरबारले गरेका अनेकौँ नाजायज काण्डका फेहरिस्त उनको मनमा छ तर, चाहिनेभन्दा बढी कसैलाई बताउँदैनन्। सेनाको मर्यादालाई उनले चुक्न दिएका छैनन्। 

    त्यही पनि दरबार हत्याकाण्ड लगत्तै उनले केही बताएका थिए। गुप्तचर नै भएर काम गरेका हुनाले अनि दीपेन्द्रलाई बाल्यकालदेखि नजिकबाट नियालेको नाताले उनी त्यो हत्या दीपेन्द्रले गरेको भन्ने कुरामा ढुक्क थिए। त्यो काण्डका बेला र अहिले कतिपयले जे ठानिरहेका छन्, ठीक त्यसको विपरीत। दीपेन्द्रको बाल्यावस्था कि विद्यालयमा बित्यो, कि त सुसारे र अङ्गरक्षकहरूको सामिप्यमा। उनले सुरुवाती शिक्षा उनीहरूबाटै पाए। साह्रै दुष्ट थिए रे, बाल्यकालमा। नेवारी, नेपाली र अङ्ग्रेजी भाषाका अश्लील गालीका महारथी थिए रे! बन्दुकप्रति अत्यधिक लगाव पनि। दरबारभित्र आउने बिरालो जस्ता जनावरलाई मारेरसमेत आनन्द लिने खालका।

    सबैभन्दा प्रमुख कुरो त छोरा र आमाबीच सधैँ आत्मीय सम्बन्धको कमी नै रह्यो। बाबुआमाको मायामा आफू ठगिएको उनलाई लाग्दो रहेछ। दरबारभित्र आफू ‘डोमिनेन्ट’ भएको महसुस गर्थे रे। श्रुति र निराजनको अगाडि। त्यही भएर श्रुतिभन्दा पनि निराजनलाई त्यति मन पराउँदैन रहेछन्।

    त्यसैले दरबारमा रहँदा उनको बढी समय कि तल्लो तहका कर्मचारी कि त आफ्ना हनुमानहरूकै नजिक बित्दो रहेछ। जसमा पारस शाह पनि एक थिए। बन्दुक चलाउने मात्र होइन, गाडी र हेलिकोप्टर चलाउन पनि उनी सौखिन थिए। सेनाका पाइलटबाटै उनले हेलिकोप्टर उडाउन सिकेका थिए। दरबारभित्रको माहौलबाट मुक्ति पाउन उनी बिस्तारै बाहिर निस्किए। भोलिका राजामा हुनु नपर्ने अवगुणहरूलाई दरबारले ढाकछोप गरी नै रह्यो। जे जसरी लोकप्रिय बनाउन सक्छ दरिबारिया टोलीले त्यसमा सफल कार्य पनि गर्‍यो। तर, मेरा ती मामाका अनुसार दीपेन्द्रको मनमा फैलिरहेको वितृष्णाका विषलाई मार्न भने दरबार सफल भएन। त्यसैको फाइदा अरूले उठाए। दीपेन्द्रलाई गोटी बनाएर। त्यसमाथि एक पक्षीय दरबारियाले निराजनलाई युवराज घोषित गर्न लागेको हल्ला फैलाएर उनलाई अझै आक्रोशित पार्ने काम पनि गरेकै रहेछन्। मामा कै मुखबाट सुनेको। 

    कहिलेकाहीँ आफूले विश्वास गर्न नसकेको कुरा सुन्दा पनि दिमाग झन्झनाउँछ। मामाको कुरा सुन्दा मेरो मन मात्र चस्किएन, मस्तिष्कसमेत चेतनाविहीन बनेको थियो, केही क्षणका लागि। तर, वास्तवमा भन्ने हो भने मैले मामाको कुरामा कहिल्यै पत्याउन सकिन, चाहे त्यो सही नै किन नहोस्। किनकि ज्याम्बोरीका बेला उनीसँग बिताएको त्यो ३–४ घण्टाले मलाई उनीप्रति सधैँ सकारात्मक मात्र बनायो। त्यसैले पनि अधिकांश नेपाली झैँ म पनि उनलाई नराम्रो मान्न सक्दिन।

    खेलकुदमा देखाएको सक्रियताले उनको मात्र होइन, दरबारको लोकप्रियतामा पनि वृद्धि भएकै थियो। २०५८ सालमा काठमाडौँ पाँचौँ राष्ट्रिय खेलकुद गर्ने तयारी गरियो। त्यसमा पनि उनको सक्रियता प्रशंसा गर्न लायक नै थियो। तर, जुन दिन पाँचौँ राष्ट्रिय खेलकुदको उद्घाटन थियो, त्यसको एक दिनअघि दरबारभित्र त्यो अकल्पनीय घटना घट्यो।
    ०००

    मैले भनें दरबार हत्याकाण्डपछि दीपेन्द्रको मृत्युलाई छोटो मित्रताको अन्त्यका रूपमा लिएँ। श्रद्धाञ्जलि चढाएँ। उनी मेरा लागि अहिले नेपालीले अछुतो झैँ बनाएको राजसंस्थाका सदस्यभन्दा फरक व्यक्तित्व बनेर मनमा गढिरहेका छन्। जसलाई जरैदेखि उखेलेर फाल्न असम्भव नै छ। जसरी राजसंस्थालाई फालिएको थियो।

    हुनत खेलकुदमा दरबारको शासन पञ्चायतकालदेखि कै हो। खेलकुदलाई राम्रोसँग बुझेकै कारण दरबारले यसलाई आफ्नो लोकप्रियताका लागि प्रयोग गर्‍यो। जसमा अहिलेका शासक चुकेका छन्। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आठौँ साफ खेलकुदमा स्वर्ण पदक जितेका खेलाडीहरूलाई घडेरीसहितको प्याकेज उपहार दिन्छु भनेको वचन कहिल्यै पुरा हुन सकेनन्। कुनै सरकारले पुरा गर्न पनि चाहेन।

    घामलाई हत्केलाले छोप्न सकिँदैन भने झैँ हुन पनि बृहत् राष्ट्रिय खेलकुदको परिकल्पना र पहिलो तीन आयोजना पञ्चायती कालमै भएको थियो। त्यसबेला बृहत् राष्ट्रिय खेलकुदको आयोजना जुनजुन सहरमा भयो, त्यहाँ खेलकुदका राम्रै भौतिक पूर्वाधार पनि निर्माण भए। त्यसपछि थप चार पटक त्यो खेलकुद भइसकेको छ। तर, भौतिक पूर्वाधारका नाममा कुनै गर्व गर्न लायक कार्य भएनन्। तर, कागज पल्टाउने हो भने हरेक सहरमा स्तरीय संरचना तयार छन्। तर कता छन्, कसैलाई थाहा छैन। त्यो कालो भनिने व्यवस्था ढलेको ३० वर्ष नाघ्दासमेत कुनै सरकारले नेपालको कुनै भेगतिर औँला तेर्स्याएर त्यहाँ हामीले गर्व गर्न लायक खेलकुद पूर्वाधार बनाएका छौँ भनेर भन्न सक्दैनन्, अहिले पनि। आठौँ साफका बेला बनाइएको अन्तर्राष्ट्रिय खेल परिसरलाई समेत खेलकुद परिषद्को कार्यालय बनाइएको छ।

    जीवन यस्तै हो। कसैलाई फापेको अत्तरले अर्को कोहीलाई ‘एलर्जी’ गराउँछ। दरबारले सुझबुझका साथ प्रयोग गरेको खेलकुदलाई बहुदलका शासकले कहिल्यै बुझ्नै सकेनन्। सत्य तितो नै हुन्छ, त्यसैले होला पञ्चायती व्यवस्थालाई नेपाली खेलकुदको स्वर्णिम युग भन्नुपरेको। दुख मनाएर के गर्नु? हामी अहिले पनि त्यही व्यवस्थामा बनेका पूर्वाधारलाई तोडमरोड गरेर २१औँ शताब्दीको खेलकुद चलाइरहेका छौँ। त्यसैलाई भत्काएर पुनर्निर्माण गरे झैँ गर्दै सोहोर्न पाए जति कनिकाले घरमा भात पकाइरहेका छौँ। दीपेन्द्रको चरित्र जस्तो भए पनि उनले एउटा मापदण्ड तयार पारेर गए। संरक्षक गतिलो भएमात्र त्यो क्षेत्रको भविष्य पनि उज्ज्वल रहन्छ भन्ने उदाहरण दिएर गए। 

    मैले भने दरबार हत्याकाण्डपछि उनको मृत्युलाई छोटो मित्रताको अन्त्यका रूपमा लिएँ। श्रद्धाञ्जली चढाएँ। उनी मेरा लागि अहिले नेपालीले अछुतो झैँ बनाएको राजसंस्थाका सदस्यभन्दा फरक व्यक्तित्व बनेर मनमा गढिरहेका छन्। जसलाई जरैदेखि उखेलेर फाल्न असम्भव नै छ। जसरी राजसंस्थालाई फालिएको थियो।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]