|

कपिलवस्तु : देशैभर विद्यार्थी भर्ना अभियान सञ्चालन भए पनि जिल्लामा आवश्यकता भन्दा थोरै शिक्षक र धेरै विद्यार्थी हुँदा पठनपाठनको समस्या ज्यूँकात्यूँ छ। शिक्षक अभावकै कारण शिक्षाको लगानी अनुत्पादक हुनुका साथै गुणस्तरीय शिक्षा चुनौती बनेको छ।

अहिले जिल्लामा ४९८ शिक्षक दरबन्दी अभाव छ। सरकारले तराईका जिल्लामा ५० विद्यार्थी बराबर एक शिक्षकको अनुपात राखेर पठनपाठनको व्यवस्था गरेको छ। तर यहाँ यहा भने एक शिक्षकले ६५ विद्यार्थीलाई पढाइरहेका छन्। प्रावि र निमावि १–८ कक्षामा शिक्षक विद्यार्थी अनुपात एक शिक्षक बराबर ६५ विद्यार्थी छ। मावि र उच्च मावि तहमा पनि एक शिक्षकले ५० भन्दा बढीलाई पढाउनु परेको छ।

सरकारले एउटा प्राविमा न्यूनतम तीन, निमाविमा न्युनतम चार र माविमा न्युनतम ५पाँच शिक्षक दरबन्दी हुनु पर्ने प्रावधान राखेको छ। तर यहाका १०५ प्राविमा एउटा पनि स्थाई शिक्षकको दरबन्दी छैन। ६५ निमाविमा एउटा पनि सरकारी दरबन्दी छैन्। त्यस्तै १७ माविमा एउटा पनि सरकारी दरबन्दी छैन्। निजि स्रोतको भरमा चलेका छन्। यी विद्यालयले चन्दा सहयोग उठाएर र विद्यालयलाई शिक्षा कार्यालयबाट पठाउने अनुदान मसलन्द रकमबाट तलब लिने गरेका छन्। त्यो पनि अति न्यून रकममा पढाउँछन्।

सरकारी दरबन्दी नभएका विद्यालयलाई पीसीएफ (प्रतिविद्यार्थी फण्ड) भनेर एकमुष्ठ अनुदान दिइन्थ्यो। त्यो पनि एक दुई वर्ष यता आएर रोकियो। अघिल्लो दुई वर्ष शिक्षकका लागि कुनै पनि नाममा अनुदान आएन्। गत आवमा भने शिक्षण सहयोग अनुदान भनेर तीन करोड ५५ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय ईकाईका जिशिअ बाबुराम भटराईले बताए। ‘त्यो पनि सबैलाई दिन सकिएन। शून्य सरकारी दरबन्दी भएकालाई प्राथमिकतामा राखेर रकम दियौँ’, उनले भने, ‘४५ प्रावि, ७६ निमावि र १८ माविलाई दियौँ’ उनले भने। तलब नहुँदा शिक्षक राम्ररी पढाउँदैनन्’, विद्यालय निरीक्षक अर्जुन कुवँरले भने, 'यसको असर विद्यार्थीको भविष्यमा पर्छ।

जिल्लामा अहिले एक हजार ९८८ दरबन्दीमा मात्र शिक्षक कार्यरत छन्। ४९८ दरबन्दी अभाव छ। दरबन्दी अभावको प्रत्यक्ष असर एसईईमा गएर पर्ने गरेको छ। अघिल्लो आवमा ४० प्रतिशत विद्यार्थीले न्युनतम १.६ जीपीए पनि ल्याउन सकेनन्। त्यसकारण उनी माथिल्लो कक्षामा पढन वञ्चित भए। त्यस्तै गत आर्थिक वर्षमा पनि ३४ प्रतिशत विद्यार्थीले न्यूनतम १.६ जीपीए पनि ल्याउन नसकेपछि उनीहरु पनि माथिल्लो कक्षामा पढ्न पाएनन्।

सरकारले सजिलै १० कक्षा उत्तिर्ण हुने व्यवस्था गरे पनि कपिलवस्तुमा भने समस्या बनेको छ। यहा प्राविमा ९९२ स्थायी र ४२९ राहत, निमाविमा १५९ स्थाथी र १०२ राहत, माविमा १४० स्थायी र ९६ राहत तथा उच्च माविमा २३ स्थायी र ४७ राहत शिक्षकको दरबन्दी छ। प्राविदेखि उच्च माविसम्म पढने विद्यार्थी ९९ हजार ६५५ रहेका छन्। पाँच लाख ७१ हजार ९३६ जनसंख्या रहेको जिल्लामा प्रावि २७७, निमावि ७८, मावि ३८ र उमावि ३७ गरी ४३१ मात्र सामुदायिक विद्यालय छन्।

४०० भन्दा बढी विद्यार्थी पढ्ने महाराजगञ्ज नगरपालिका–१ मा रहेको दुर्गा भवानी कन्या निमाविमा एक जना पनि दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या भइरहेको गुनासो गर्छिन् प्रअ चन्द्रकला चौधरी। ‘निजी स्रोतमा राखेका सात शिक्षकलाई घर चाहरेर चन्दा सहयोग मागेर अति न्युन तलब दिएका छौँ’ उनले भनिन्, ‘पारिश्रमिक थोरै हुँदा शिक्षकहरू धेरै टिक्दैनन्।’ महिला मात्र पढाइ हुने विद्यालयमा पठनपाठन सुचारु बनाउन निक्कै गाह्रो भइरहेको उनले गुनासो गरिन्। 

२०४७ पछि जिल्लामा धेरै विद्यालय स्थापना भए पछि शिक्षक दरबन्दी अभावका कारण शिक्षक–विद्यार्थीको अनुपातमा ठूलो फरक परेको जिशिअ भट्टराईले बताए। ‘शिक्षक–विद्यार्थीको अनुपातमा ठूलो अन्तर छ’ उनले भने, ‘यस्ले गुणस्तरिय पठनपाठनमा समस्या थप्छ।’ सिकाइ उपलब्धि अपेक्षित हुन सक्दैन्। पढाइमा समस्या थप्छ।

‘नीति अनुसार शिक्षकको व्यवस्थापन हुन सकेन’ उनले भने, ‘विषयगत शिक्षकको अभावमा राम्रो पठ्नपाठन हुन सकेको छैन्।’ शिक्षक अभाव हुँदा एउटै शिक्षकले २\३ कक्षा कोठामा गएर पढाउनु परेको छ उनले भने। यसले विद्यार्थी कमजोर बन्छन्। कहीँकहीँ बहुकक्षा शिक्षण विधिबाट पढाइन्छ। शिक्षक अभावकै कारण सिकाई उपलब्धी घट्दै गएसँगै कतिपय स्थानिय तहले तत्कालका लागी स्थानीय तहको बजेटमा सहयोगी शिक्षक नियुक्तिका प्रक्रिया समेत अघि बढाएका छन्।

जिल्लाका १० पालिकामा अभियान सुरु

कपिलवस्तुमा ६ नगरपालिका र ४ गाउँपालिकामा सोमबार देखि एकै साथ भर्ना अभियान सुरु हुने शिक्षा विकास तथा समन्वय इकाई समिति कपिलवस्तुका प्रमुख बाबुराम भट्टराईले जनाए। सोमबार  सुरु भएको भर्ना अभियान वैशाख १४ गते सम्म सञ्चालन हुने भट्टराईले जानकारी दिए।

पहिलो चरणको अभियान सञ्चालन गरे पछि अरु छुटेका विद्यार्थीलाई घरदैलोमार्फत भर्ना विद्यालयको पहुँचमा ल्याउने योजना रहेको उनको भनाइ छ। भर्ना अभियानसँगै विद्यार्थीले नयाँ पुस्तक पनि प्राप्त गर्नेछन्।  विद्यार्थी भर्ना संगै पाठ्यपुस्तक सँगसँगै दिने व्यवस्था भए पनि कपिलवस्तुमा वैशाख ५ गते पुस्तक वितरण गरिने उनले जनाएका छन्। यो वर्ष पाठ्यपुस्तक प्रयाप्त भएको कारण पुस्तकको कुनै अभाव नहुँने भट्टराईको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.