|

जनकपुरधाम : नेपालबाट लुकिछिपी भारततर्फ लैजाँदै गरेको २८ बालकलाई भारतको बिहार राज्यको सितामढी जिल्लाबाट उद्धार गरिएको छ।

सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका २८ बालकलाई नेपालको सिमाना कटाई भारतको बिहारअन्तर्गत सितामढी हुँदै चेन्नइको मद्रास जाने क्रममा भारतको सितामढी बस स्टेण्डबाट उद्धार गरी राखिएकोमा ती बालकालिकालाई नेपाल फर्काइएको छ।

कामको शिलशिलामा जाँदै गरेका बालकलाई भारत सितामढी जिल्लाको प्रशासनको चाइल्ड प्रोटेक्सन युनिटले २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिको समन्वयन तथा ग्रोविङ नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायको पहलमा भारतबाट उद्धार गरिएको हो। चारवटै जिल्लाको अलग–अलग सिमानाकाबाट भारत प्रवेश गरी सितामढीबाट रेल्वे चढाएर लैजादै गरेको अवस्थामा उनीहरूलाई भारतीय चाईल्ड प्रोटेक्सन युनिटले २८ मार्च (चैत २४ गते ) नियन्त्रणमा लिएको छ।

विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई उद्धार गरी भारतको बिहार राज्यको सीतामढी अन्तर्गत बरियारपुरको बालगृह (बालक) मा राखिएको अवस्थामा उनीहरूको उद्धार गरिएको अध्यक्ष रायको दाबी छ। यसरी सितामढीको विभिन्न बाल आश्रममा रहेका बालकलाई शुक्रबार केन्द्रीय बाल कल्याण समिति, छोराछोरी नामक गैरसरकारी संस्था र ग्रोविङ नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले उद्धार गरेको दाबी गरे।

गत महिनाका चैत १४ गते भारतको विहार स्थित सीतामढी नाका हुँदै चेन्नईमा रोजगारीका लागि लैजान लागिएका क्रममा भारतको सीतामढी प्रशासनले नियन्त्रणमा लिएका आवश्यक सोधखोज तथा नेपालको आधिकारिता पश्चात सीतामढी प्रशासनले बालकलाई महोत्तरी सीमानाका भिट्ठामोडमा नेपाललाई हस्तान्तरण गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिरहाका ३ र सर्लाहीका २ जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो। १४ देखि १७ वर्ष उमेरका ती बालक मध्ये दलित समुदायका २३, चार जना यादव र मुस्लिम समूदायका १ जना रहेका थिए। उद्धार गरिएका बालकहरू मध्ये सबैलाई सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिस लिएर अभिभावकलाई जिम्मा लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.