|

काठमाडौं :  वरिष्ठ मिर्गौलारोग विशेषज्ञ प्राडा. दिव्या सिंह शाह इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्यमा निर्वाचित भएकी छन्। प्राडा. शाह दक्षिण एसियाली क्षेत्रबाट उपाध्यक्षमा निर्वाचित हुँदै काउन्सिलको केन्द्रीय समिति सदस्यमा पुगेकी हुन् ।

त्यसअघि उपाध्यक्षमा चुनिनका लागि काउन्सिलले दक्षिण एसियाली क्षेत्रबाट मिर्गौला रोगको क्षेत्रमा उत्कृष्ट काम गरेका तीन जनाको सूची तयार पारेको थियो। सो सूचीमा बंगलादेश र पाकिस्तानका दुई मिर्गौला रोग विशेषज्ञसहित नेपालबाट प्राडा. शाह परेकी थिइन्।

उनले यो प्रतिस्पर्धामा भाग लिन दुईवटा विषय अघि सारेकी थिइन्। पहिलो, मष्तिस्क मृत्युपश्चात् हुने प्रत्यारोपणलाई बढाउने र दोस्रो, दक्षिण एसियामा मिर्गौला रोगका विभिन्न आयामको डाटा संकलन गरी यसलाई कम गर्न नीति तयार गर्ने। जसमा तीन जनाबीच अनलाइन भोटिङबाट भएको निर्वाचनमा प्राडा शाह उपाध्यक्षमा निर्वाचित भएकी हुन्। अनलाइन भोटिङ गत मे महिनाभर भएको थियो। यद्धपि नतिजा भने गत साता अष्ट्रेलियाको मेलवर्नमा आयोजित सम्मेलनमा सार्वजनिक गरिएको थियो।

उपाध्यक्षमा निर्वाचित भएकी प्राडा शाह अबको दुई वर्षपछि यस क्षेत्रको अध्यक्ष बन्नेछिन्। काउन्सिलमा उपाध्यक्ष बनेको दुई वर्षपछि त्यस क्षेत्रको स्वत: अध्यक्ष हुने प्रावधान छ।

प्राडा शाहले भनिन्, ‘यो मेरो लागि मात्रै होइन देशको लागि ठूलो सफलता हो, समग्र दक्षिण एसियाली क्षेत्रकै लागि खुसीको कुरा हो, यसले मिर्गौला रोग नियन्त्रण गर्ने योजनामा अझ राम्रो वातावरण बन्न सक्‍छ।' हाल शिक्षण अस्पतालको नेप्रोलोजी विभागको प्रमुखसमेत रहेकी प्राडा शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.