यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने

|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबारबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक चीन भ्रमणपछि नेपाल–चीन द्बिपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास दिलाएका छन्। 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे। मन्त्री ज्ञवालीले भने,‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्बिपक्षीय सम्बन्ध थप नयाँ उचाइमा पुग्छ।’ उनले अघि थपे,‘राष्ट्रपतिको यो भ्रमणले सदियौंदेखि रहँदै आएको नेपाल-चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ। चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ।’

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाए। उनले भने,‘बेल्ट एण्ड रोड ईनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढी राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू सहभागी हुन्छन्। त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुने छ। पहिलो उहाँले उदघाट्न सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुने छ। र दोस्रो चिनियाँ राष्ट्रपति सि जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नु हुनेछ।’

मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्बिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्ने पनि जनाए। उनले भने,‘त्यो दिन प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।’ त्यस्तै मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचीन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत जनाए। उनले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्ने पनि जनाए।

राष्ट्रपति भण्डारीको भ्रमण र भेटवार्ताले नेपाल-चीन सम्बन्ध अझै उचाइमा बढाउने विश्वास रहेको पनि मन्त्री ज्ञवालीले सुनाए। त्यस्तै, उनले नेपाल-चीन सम्बन्धमा अहिले कुनै समस्या नरहेको जिकिर गरे। उनले भने,‘हामीबीच सौहार्दपूर्ण र समझदारीपूर्ण सम्बन्ध छ।’

चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको विगत मन्त्री ज्ञवालीले कोट्याए। उनले भने,‘अब भने हामी चीनसँग सार्थक रुपमा आर्थिक लाभ लिनेगरि अघि बढ्छौं।’ आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल-चीन विकासको ‘फ्रेमवर्क’ तय भइसकेको पनि ज्ञवालीले सुनाए। उक्त ‘ट्रान्स हिमालयन मल्टि-डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सीमा वारपार रेल, सडक, बन्दरगाहा, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरू पर्ने पनि उनले सुनाए। उनले भने,‘यसअन्तर्गत अघि बढ्नको लागि हाम्रो प्रधानमन्त्रीको गत असारमा भएको भ्रमणमा पनि अझ कम्प्लिट बनाएका छौं।’

हालै नेपालले चीनसँग बिआरआइअन्तर्गत आफूहरूले गर्न खोजेका कामका सूचीसमेत आदान–प्रदान गरिसकेको उनको भनाई छ। ‘त्यसमा हामीले अहिले छलफल सुरु गरेका छौं। फण्डिङ मोडालिटी, लगानीको ढाँचा के हुनेछ? कति अनुदानमा र कति सफ्ट लोनमा निर्माण होलान्,'मन्त्री ज्ञवालीले भने, 'कति चिनियाँ लगानीकर्ताको प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत आउलान्, कति संयुक्त लगानीको रुपमा आउलान्? कति बहुपक्षीय वित्तीय संस्थाबाट ऋण सहयोगबाट आउलान्। कुन-कुन परियोजना कुन मोडालिटीमा गर्ने भन्नेबारे अहिले हामी एकदमै सघन छलफलमा छौं।’ उनले आफूहरूले अघि सारेका सबै योजनाहरू र त्यसभित्र केरुङ–काठमाडौं रेल उच्च प्राथमिकतामा रहेको सुनाए। उनले भने,‘त्यसको प्रि–फिजिविलिटी अध्ययन सकिएको छ। सम्भवत हामी फिजिविलिटी अध्ययन र यसको निर्माण कार्य सुरु गर्न सक्ने गरी निश्कर्षमा पुग्न सक्छौं भन्ने मलाई विश्वास छ।’ त्यस्तै कोशी, कालगण्डकी र कर्णाली आर्थिक कोरिडोर जसभित्र सडक र विभिन्न उत्पादनका पकेटहरू र त्यहाँको जनताको जीवनस्तर माथि उठाउने कुरालाई पनि आफूहरूले अगाडि बढाएको मन्त्री ज्ञवालीले विश्वास दिलाए। 

मन्त्री ज्ञवालीले योग्य जनशक्तिको निर्माण गर्नु अहिलेको आवश्यकत्ता रहेको सुनाउँदै त्यसको लागि प्राविधिक र वैज्ञानिक शिक्षामाकेन्द्रित रहेको बहुआयामिक विश्वस्तरीय विश्वविद्यालय बनाउन चाहेको पनि सुनाए। उनले भने,‘त्यो विश्वविद्यालयमा बिआरआई परियोजनाअन्तर्गत १०० वटा त्यस्ता विश्विद्यालयहरू बनाउने सोच पनि छ। त्यसमा नेपालले त्यो ढंगले सहकार्य गर्न चाहेको छ।’

राष्ट्रपति भण्डारीको यो भ्रमणमा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्न लागेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए। उनले भने, ‘त्यो प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाकाहरु उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेरपनि हामीले चीनका चारवटा समुद्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाहा प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं। र, त्यसले हाम्रो पारवहन सुविधालाई विविधता बनाउन र एकपक्षीय निर्भरता अन्त्य गर्न एउटा ठूलो भूमिका खेल्नेछ। ’यसका अलवा अन्य थुप्रै समझदारीपत्रहरूमा हस्ताक्षर गर्न लागेको र उपयुक्त समयमा जानकारी गराईने उनले विश्वास दिलाए। 

मन्त्री ज्ञवालीले आगामी मे महिनामा तातोपानी नाका खुल्ने जानकारी गराए। मन्त्री ज्ञवालीले भने,‘हामी कुनै क्याम्पमा छैनौं। हामी कुनै एक कित्तामा उभिएर अर्को कित्तालाई असर पार्ने गरी हाम्रा विदेश नीतिलाई सञ्चालन गर्दैनौं। हामी सन्तुलित र सबैसँग मित्रतापूर्ण सम्बन्ध अघि बढाउँछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.