सुरुवाती नतिजा भाजपाको बलियो अग्रता

|

काठमाडौंः विभिन्‍न चरणमा भएको भारतीय लोकसभा निर्वाचनको परिणाम आउन थालेको छ। बिहीबार बिहानदेखि सुरु गरिएको गणनाको परिणामले प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारुढ दल भारतीय जनता पार्टीलाई झन् बलियो बनाउने देखिएको छ। 

चुनाव अगाडिसम्म सत्ता टिकाउन अनुदार बनेको आरोप झेलेका मोदीकै पक्षमा आगामी ५ वर्षका लागि जनताले जनमत प्रकट गरेको सुरुवाती मतपरिणामले देखाएको छ। 

सुरुवाती नतिजा अनुसार ५४२ लोकसभा सिटमध्ये भाजपाले ३३४ सिटमा अग्रता बनाएको छ। अघिल्लो लोकसभा चुनावमा भाजपाले ३३६ सिट जितेर बहुमतको सरकार बनाएको थियो। 

राहुल गान्धी अध्यक्ष रहेको आई कांग्रेसले सोचे भन्दा कम्जोर परिणाम ल्याउने देखिएको छ। यसअघि भएका १० मध्ये ९ एग्जिट पोलले भाजपाले यो पटक पनि बहुमत ल्याउने देखाएको थियो। एग्जिट पोलमा गरिएको अनुमान अनुसार नै भाजपा बहुमत भन्दा माथि देखिएको हो। 

भारतीय लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ। तर भाजपा अहिले ३३४ सिटमा अग्रता बनाइरहेको छ। अर्कातिर प्रमुख प्रतिपक्षी कांग्रेसले १०३ सिटमा अग्रता बनाएको छ। गत वर्षभन्दा परिणाममा सुधार गर्ने संकेत देखिए पनि कांग्रेस भाजपाका अगाडि कम्जोर देखिएको छ। 

कहाँ कसको अग्रता ? 

वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदीले १ लाख ४४ हजार ८६० भोटसहित अग्रता बनाएका छन्। अमेठीमा स्मृति इरानी ७६०० मतले अगाडि देखिएकी छन्। वाराणसीमा भाजपा कार्यकर्ताले खुसियाली मनाइरहेका छन्।

पञ्जाबको गुरदासपुर सिटमा भाजपाका उम्मेदवार सन्नी देओल ४८७७४ भोटसहित अगाडि छन्। पञ्जाबकै बठिन्डामा केन्द्रीय मन्त्री हरसिमरत कौर बादल ८८१६ भोटले अगाडि छन्। 

केरलाको तिरुवनन्तपुरम सिटमा कांग्रेसका शशी थरूर १३००० भोटले अगाडि छन्। मध्यप्रदेशको छिन्दवाडा सिटमा  मुख्यमन्त्री कमलनाथका छोरा नकुलनाथ १५७७८ मतले अगाडि छन्। यो प्रदेशका बाँकी २८ सिटमा भाजपाको अग्रता छ।

जम्मु-कश्मीरको अनन्तनाग सिटमा नेशनल कान्फ्रेन्सका गुलाम अहमद मिर अगाडि छन्। महबुबा मुफ्ती तेस्रो नम्बरमा छन्। भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगर सिटमा १ लाख २५ हजार मतले अगाडि छन्। 

उडिसाको पुरी सिटमा भाजपाका सम्बित पात्रा पछि परेका छन्। उत्तरप्रदेशको मुजफ्फरनगर सिटमा राष्ट्रिय लोकतान्त्रिक दल प्रमुख अजीत सिंह र बागपतबाट उनका छोरा जयन्त चौधरी पछि परेका छन्।

हरियाणाको सबै १० सिटमा भाजपा अगाडि छ। महाराष्ट्रमा भाजपा-शिवसेना गठबन्धनलाई ३७ सिटमा अग्रता मिलेको छ।

भोपालमा भाजपाकी प्रज्ञा सिंह ठाकुर कांग्रेसका दिग्विजय सिंहभन्दा ३० हजार भोटले अगाडि छन्। इन्दौरमा भाजपाका शंकर लालवानी कांग्रेसका पंकज संघवीभन्दा ९० हजार भोटले अगाडि छन्। 

अमेठीमा स्मृति इरानी २००० भोटले अगाडि देखिएका छन्। यहाँ कांग्रेस अध्यक्ष राहुल गान्धी पछि परेका छन्। राजस्थानको बाडमेर सिटमा केन्द्रीय मन्त्री राज्यवर्धन सिंह राठौड कांग्रेसका मानवेंद्र सिंहभन्दा अगाडि छन्।

रामपुरबाट भाजपाकी जयाप्रदा अगाडि छिन्। फतेहपुर सिकरी सिटमा कांग्रेसका राजबब्बर पछि परेका छन्। भाजपा दिल्लीका सबै सातै सिटमा अगाडि देखिएको छ। 

दक्षिण बेङ्गलुरुबाट भाजपाका तेजस्वी सूर्या, कांग्रेसका कार्ति चिदम्बरम तमिलनाडुको शिवगंगा सिटमा अगाडि छन्। श्रीनगरबाट फारूक अब्दुल्ला र पञ्जाबको उधमपुर सिटमा केन्द्रीय मन्त्री जितेन्द्र प्रसाद अगाडि छन्।

पश्चिम बंगालमा ममता बनर्जीका भतिजा र तृणमूल उम्मेदवार अभिषेक बनर्जी अगाडि छन्। बिहारको पटना साहिब सिटमा कांग्रेसका शत्रुघ्न सिन्हा भाजपाका रविशंकर प्रसाद भन्दा पछि छन्।

पूर्वी दिल्लीबाट भाजपा उम्मेदवार गौतम गम्भीर अगाडि छन्। बिहारको बेगूसराय सिटमा भाजपाका गिरिराज सिंह अगाडि छन्। सीपीआईका कन्हैया कुमार तेस्रो नम्बरमा छन्।

पञ्जाबको बठिन्डा सिटमा केन्द्रीय मन्त्री हरसिमरत कौर बादल र गुरुदासपुरबाट भाजपाका सनी देओल पछि परेका छन्। लखनउबाट गृहमन्त्री राजनाथ सिंह र जयपुर शहरबाट भाजपा उम्मेदवार रामचरण वोरा अगाडि छन्।

बरेलीमा केन्द्रीय मन्त्री सन्तोष गंगवार र सारणबाट राजीव प्रताप रूडी अगाडि छन्। तिरुवनन्तपुरमबाट कांग्रेसका शशि थरूर पछि परेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.