काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा करिब तीन खर्ब ६६ अर्ब रुपैयाँ वैदेशिक सहायता परिचालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटको लागि अन्तिम तयारीमा जुटेको सरकारले यो रकम वैदेशिक सहायताबाट जुटाउने गरी तयारी गरेको हो।
बहुपक्षीय तथा दुई पक्षीय दातृ निकायले विभिन्न समयमा जनाएको प्रतिवद्धता र बजेट निर्माणको क्रममा गरिएको प्रतिवद्धता अनुसार बजेट स्रोतमध्ये तीन खर्ब ६६ अर्ब वैदेशिक सहयताबाट जुट्ने भएको हो। अर्थमन्त्रालयको उच्च स्रोत भन्छ ‘चालु आर्थिक वर्षको तुलनामा करिब ५५ अर्ब रुपैयाँ वैदेशिक सहयता बढ्छ।’
चालु आर्थिक वर्षको बजेटमा वैदेशिक सहायता तीन खर्ब ११ अर्ब रुपैयाँ रहेको छ। जसमा ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदान रहेको छ भने न्युन बजेट पूर्तिको लागि दुई खर्ब ५३ अर्ब दुई करोड ८२ लाख वैदेशिक ऋण उठाएको थियो।
आगामी आर्थिक वर्षमा अनुदान रकम बढाइएको दाबी अर्थ स्रोतको छ। स्रोतकाअनुसार ७५ अर्ब रुपैयाँको अनुदान र दुई खर्ब ९१ अर्ब रुपैयाँ ऋण बाट जुटाउने गरी प्रतिवद्धता लिइएको छ। बजेटको प्रमुख स्रोतका रुपमा रहेको राजश्व अपेक्षित रुपमा बढ्न नसकेको अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडा बैदेशिक सहयता बढाउन बढी केन्द्रित देखिएका थिए।
बैदेशिक सहायतामा सबैभन्दा ठूलो योगदान बहुराष्ट्रिय दातृ निकाय विश्व बैंक र एसियाली विकास बैंकको रहेको छ। ‘यसै पनि दुई बहुराष्ट्रिय दातृ निकायको सहायता बढी छ अहिले बढेको सहयतामा पनि यिनै निकायको बढी योगदान रहेको छ’ अर्थ स्रोतले भन्यो।
बैदेशिक सहायता बाहेक सरकारले राजश्व र आन्तरिक ऋण बाट बजेट जुटाउछ। यो वर्ष राजस्व सबा नौ खर्बसम्म उठ्न सक्ने लक्ष्य अर्थमन्त्रालयले निर्धारण गरेको छ भने करिव दुई खर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको छ। स्रोत आधारलाई हेर्दा बजेट १५ खर्ब रुपैयाँको मात्रै पुग्छ। तथापि आन्तरिक ऋण बढाएर बजेटको आकार बढाउने संभावना रहेको देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।