धुर्मुस भन्छन् : फूलमालाले स्वागत गर्नेले नै यस्तो व्यवहार गरे

|

चितवन : चितवनको रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरको तारबार भत्काउने मुख्य आरोपी प्रकाश कँडेल पक्राउ परेका छन्। उनलाई बुधबार राति रामपुरबाटै प्रक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

उनि अहिले प्रहरीको हिरासतमा रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए। यसअघि बुधवार बार भत्काउने कार्यमा संलग्न रहेको आरोपमा १६ जना पक्राउ परेका थिए। उनीहरूमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ। 

काम गर्न चुनौती

क्रिकेट रंगशाला निमार्णस्थलको तारबार केही असन्तुष्ट स्थानीयले भत्काएपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ। जनप्रतिनिधि, स्थानिय सर्वसाधारण, देश विदेशमा रहेका नेपालीलगायत सरोकार निकायले घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

छलफलबाट समस्या समाधान गर्नुपर्नेमा तोडफोडमा उत्रिएपछि निर्माणको जिम्मा लिएको धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले यस्तो प्रवृत्तिले निर्माणका विभिन्न काम गर्न असुरक्षा भएको बताएका छन्। 

उनले यसअघि पनि धम्क्याउने गरेको भन्दै कट्टेलले काम गर्न असुरक्षित महसुस गरेको बताए। यद्यपि उनले कसैको जग्गा मिचेर, राजनीतिक झण्डा ओढेर नबसेकाले राष्ट्रका लागि एक मुठ्ठी सास रहेसम्म लड्ने दृढता व्यक्त गरे। यो घटनाले आफुलाई भावुक बनाएको बताउँदै उनले देश विदेशबाट रंगशाला निर्माणका लागि सहयोग गर्ने  सहयोगी दातालाई निर्धारित समयमा निर्माण सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गरे। 

स्थानीयले उठाएको बाटोको विषयमा छलफल भइरहेको सन्दर्भमा यसरी तोडफोड हुनु लज्जास्पद भएको भन्दै धुर्मुसले फुलमालाले स्वागत गर्नेहरूले नै आज अवरोध गर्दा साह्रै दुःख लागेको उनको भनाइ छ। 

शिर झुकाउने काम भयो

यसैबीच वडा नं. १५ का अध्यक्ष शम्भुबहादुर भण्डारीले यो घटनाले स्थानीय र समग्र जिल्लाबासीको शिर झुकाएको बताएका छन्। उनले यस्ता घटना कहिँ कतैबाट हुन नहुने बताए। उनले छलफलको माध्यमबाट निस्कर्षमा पुग्न सबैलाई आग्रह गरे। यस्तै स्थानीयले घटनाले आफूहरूलाई आत्माग्लानि भइरहेको बताएका छन्।

स्थलगत निरीक्षण

यसैबीच भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, वडाअध्यक्ष, स्थानिय, फाउण्डेसनका प्रतिनिधि लगायतले बुधवार साँझ स्थलगत रूपमा निरीक्षण\अवलोकन पनि गरेका थिए। सो अवसरमा महानगर प्रमुख दाहालले समस्याको समाधान छलफलबाट गर्न सबैसँग आग्रह गरेका छन्। 

यसकारण भत्काएका थिए

शीतलचोकबाट रामपुरतर्फ जाने कच्ची सडक फराकिलो बनाउन रंगशालातर्फको बाटो छाड्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए। पछि बाटो फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने डरले एकातर्फका केही असन्तुष्ट स्थानीयले रंगशालाको जस्तापातासहितको तारबार बुधवार भत्काइदिएका हुन्। यसअघि पटकपटक छलफल गर्दा पनि माग सुनुवाइ नभएको भन्दै अन्तिम कदमका रूपमा तोडफोडमा उत्रिएको उनीहरूले बताए।

निर्माणकै चरणमा रहेका राष्ट्रको गौरवको आयोजनास्थलमा तोडफोड हुँदा निर्माण सम्पन्न गराउन समस्या हुनसक्ने भन्दै सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.