जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ स्थित सरस्वती माध्यमिक विद्यालयका छात्रालाई ‘आत्मरक्षा’ तालिम दिन थालिएको छ।
समाजमा बलात्कार, हिंसा, कुटपिट, हत्याजस्ता अपराधिक घटना बढिरहेको भन्दै आफ्नो रक्षा स्वम गर्नसक्ने उद्देश्यले ‘आत्मरक्षा’ तालिममा दिन सुरु गरिएको हो। सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको तालिममा कक्षा ८ देखि १२ सम्मका १ सय बढी छात्रा सहभागी छन्।
जन विकास स्रोत केन्द्र जनकपुरको आयोजनामा सुरु भएको तालिमको उद्घाटन आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै मन्त्री यादबले अहिले समाजमा विभिन्न खालका अराधिक घटना बढेको भन्दै ‘आत्मरक्षा’ तालिम लिइसकेपछि छात्रा अपराधीसँग स्वयं सामना गर्न सकिने विश्वास व्यक्त गरे। ‘पुरुषजस्तै क्षमता महिलामा पनि हुने गर्छ’, उनले भने, ‘तर त्यो खालको वातावराण बनाउन सक्नुपर्छ। प्रदेश सरकार यसका लागि तयार छ।’
यस्तै, मन्त्री साहले प्रदेश २ मा हिंसाबाट बच्न छात्रालाई आत्मरक्षा तालिम दिने कार्यक्रम ल्याएको बताए। प्रदेश २ का कुनै पनि छात्रा हिंशामा नपरोस् भन्ने प्रदेश सरकारको चाहना रहेको उनले बताए। उनले भने, ‘हामी महिलालाई आत्मनिर्भर बनाउन चाहेका छौँ।’
सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा केन्द्रले प्रदेश २ का आठै जिल्लामा आत्मरक्षा तालिम मंगलबारबाट सुरु गरिएको छ। प्रत्येक जिल्लाका ८ विद्यालयका करिब १ सय छात्रालाई आत्मरक्षा तालिम दिने मन्त्रालयको लक्ष्य छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।