|

काठमाडौं :  जापानस्थित चुकुबा विश्वविद्यालयमा प्राध्यापनरत डा. कमल लामिछानेको पुस्तक अन्तर्दृष्टि लोकार्पण गरिएको छ। काठमाडौंस्थित ब्रिटिस काउन्सिलमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनिषा गौचन र लेखक लामिछानेले पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा आख्यानकार गौचनले पुस्तकमा लेखकको इमानदारी प्रस्ट देखिने बताइन्। १२ वर्षसम्म विद्यालय नपुगेको लामिछानेले आफ्नो संघर्षबाट हासिल गरेको उपलब्धिलाई नेपालीहरूकै गौरवको विषय रहेको उनले बताइन्।

पुस्तकले लामिछानेका बाल्यकाल, देशदेखि विदेशसम्म अध्ययन गर्न जाँदाका कठिनाइ, उनका संघर्ष, मिहिनेत एवं कामप्रतिको समर्पणलाई देखाएको गौचनको भनाइ छ। नेपाली समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण एवं उनीहरूलाई धार्मिक मूल्यमान्यताले कसरी असर गर्छन् भन्ने कुरा पनि पुस्तकमा उजागर गरिएको उनले बताइन्।  

अर्का वक्ता आख्यानकार न्यौपानेले दृष्टिविहीनहरूले आफ्नो जीवनलाई हेर्ने दृष्टि विशाल रहेको बताए। दृष्टिविहीहरू जीवनभर ध्यानमा रहने गरेको र लामिछानेले पनि यो पुस्तक त्यही ध्यानसाधनाबाट लेखेको उनको भनाइ छ। प्रत्येक मानिसभित्र एउटा संसार हुने र त्यो दृष्टिविहीनहरूको अझ ठूलो संसार रहने उनले बताए। यो पुस्तक कहीँकतैबाट पनि दृष्टिविहीनले लेखेको भन्ने नलाग्ने उनको भनाइ छ।

कार्यक्रममा शिक्षाविद् माथेमाले पुस्तकमा गाउँघर, किसान, सहर, विकासलाई सूक्ष्म दृष्टिबाट प्रस्तुत गरेको बताए। साथै दृष्टिविहीन व्यक्ति, उनीहरूलाई समाज एवं परिवारले हेर्ने दृष्टिकोण आदिलाई सूक्ष्म रुपमा खुलाइएको उनको भनाइ छ। कुनै पनि देशको विकासका लागि नियमकानुन, त्यसको परिपालना आदिले महत्त्वपूर्ण भूमिका खेल्ने र त्यसो भए मात्र समृद्धितर्फ अघि बढ्न सकिने  कुरा पुस्तकमा उल्लेख भएको उनले बताए। आफूलाई पुस्तकले असाध्यै प्रभावित  गरेको र सबैका लागि उपयोगी भएको उनको भनाइ छ। विशेषगरी युवाका लागि पुस्तक अझ बढी उपयोेगी भएको धारणा छ। संघर्ष, सफलता, लगाव, प्रतिबद्धताजस्ता विषयले उनलाई सफलतातर्फ अघि बढ्न सघाएको उनले बताए।

पुस्तकका लेखक लामिछानेले आफूले किन पुस्तक लेखें भन्ने विषयमा प्रस्ट्याएका थिए। अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने हेयपूर्ण दृष्टिकै कारण आफू पुस्तक लेखेर केही व्यक्तिको मात्र भए पनि सोचाइ परिवर्तन गर्न सकियो भने पनि त्यो आफ्नो जीवनकै एउटा सफलता हुने ठानेर यसतर्फ लागेको उनले बताए। अपांगता भएका व्यक्तिसँग ‘वर्किङ टुगेदर वाकिङ टुगेदर’ को भावना जगाउने आफ्नो उद्देश्य रहेको र त्यसका लागि आफू लागिपरेको उनको भनाइ छ। आफू जहिल्यै पनि चुनौतीसँग जुध्न मन पराउने उनले बताए।

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.