|

काठमाडौं : निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा डुबान हुनुका साथै पहिरो खस्दा विभिन्न राजमार्गहरु अवरुद्ध भएका छन्। नदीहरुमा पानीको सतह बढेर खतराको सतह नजिक पुगेका छन्।

सिन्धुलीको रातामाटा र काभ्रेको नेपालथोकलगायत विभिन्न स्थानमा पहिरो झरेपछि वीपी राजमार्ग अवरुद्ध भएको छ। बिहानैदेखि राजमार्ग बन्द हुँदा गाडीहरु बीचबाटैमा रोकिएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

भारी वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ। पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ।

अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए।

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हुँदै आएको छ। सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ।

यस्तै,  पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहापुरस्थित पुर्वी लच्का सडक डुवानमा पर्दा सवारी आवागनम ठप्प भएको छ। भारी बर्षापछि बाढी आउँदा गाडी चल्न नसकेका हुन्।

एक घन्टादेखि पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधन रौतहटमै रोकिएका छन्। अहिलेपनि ठूलो पानी परिरहेकाले सडक सञ्चालनमा ल्याउन समस्या परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

 यस्तै, मकवानपुरको देउरालीलगायत विभिन्न स्थानमा पहिरो गएपछि काठमाडौं–कुलेखानी–हेटौंडा सडक पनि अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं र हेटौंडाबाट छुटेका गाडी विच बाटैमा रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

सडकका विभिन्न ठाउँबाट लेदो माटो खसिरहेको र पानी पर्न पनि नरोकिएकाले पहिरो हटाउन समस्या भएको उहाँले बताउनुभयो। पहिरोका कारण सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ अझै खुलेको छैन।

मकवानपुरको भीमफेदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि लोकपथ अवरुद्ध भएको हो। पहिरोका कारण रोकिएको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड भने एकतर्फी खुलेको छ। तीन दिनदेखि लगातार वर्षा भइरहेकाले हिजो बेलुका सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो।

डोजर लगाएर पहिरो हटाएपछि केहिबेर अघिदेखि एकतर्फीरूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

वर्षा जारी

अहिले पनि देशका अधिकांस स्थानमा पानी परिरहेको छ। पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारि वर्षा हुने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाका मौसमविद सुवास रिमालले बताए। उनका अनुसार देशका केही स्थानमा हावाहुरीको पनि सम्भावनो छ। मुलुकभर अझै दुई/तिन दिनसम्म मनसुन अति सक्रिय भएर पानी पर्ने विभागले जनाएको छ।

भारी वर्षाको कारण प्रदेश नम्बर १,२ र ३ का चुरे र पहाडको क्षेत्रबाट बहने प्राय नदीहरूमा जलसतह सतर्कता तह आसपास पुगेका छन्। पानी पर्न नरोकिएकाले नदीहरुमा पानीको सतह अझै बढ्ने भन्दै महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शर्तक रहन आग्रह गरेको छ।

बागमतीको पधेरादोभान बाढी मापन केन्द्रमा आज विहान जलसतह सतर्कता तहमा  पुगेका कारण रौतहट र सर्लाही जिल्लाका तटिय क्षेत्रमा बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन भनिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.