|

काठमाडौं : चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गर्दा लिने शुल्क अर्थात् फी बढाउने तयारी भइरहेको छ। मेडिकल काउन्सिल लगायतका संस्थाको पहलमा  सरकार चिकित्सकहरूको परामर्श शुल्क पुनरावलोकन गर्ने तयारीमा लागेको हो।

 मुद्रास्फिति र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा ५ वर्षपछि शुल्क पुनरावलोकन गर्ने तयारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  लागेको हो। स्वास्थ्य मन्त्रालयमा बिहीबार पाँच वर्षमा बसेको शुल्क पुनरावलोकन सिफारिस कार्यदलको बैठकले चिकित्सकहरूको योग्यता र अनुभवका आधारमा शुल्क बढाउने प्रस्ताव गरेको हो।

मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डाक्टर विकास देवकोटाको संयोजकत्वमा चिकित्सक संघ, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन), नेपाल मेडिकल काउन्सिल सहितको समितिको बैठकले शुल्क बढाउने प्रक्रिया अगाडि बढाएका हुन्।

छलफलमा देवकोटासहित, संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासचिव डा लोचन कार्की, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी, अफिनका अध्यक्ष वसन्त चौधरी, नेपाल मेडिकल काउन्सिका कार्यवहाक अध्यक्ष डा नारायण विक्रम थापा लगायतको उपस्थिति थियो।

 देशको बढेको महँगीका साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार दुई/दुई वर्षमा शुल्क पुनरावलोक गर्नुपर्ने भएका कारण शुल्क वृद्धि गर्न लागिएको मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डा विकास देवकोटाले बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय  मान्यतामा  पनि दुई दुई वर्षमा शुल्कमा परिमार्जन गर्ने नियम छ हाम्रोमा पाँच वर्षदेखि शुल्क बढेको छैन जसले अब पुनरावलोकनको लागि लागेका हौँ।'

छलफलले एमबिबिएस उत्तीर्ण गरेर पनि ५ वर्ष सेवा अनुभव नपुगेका चिकित्सकको ३ सय ३५ रुपैयाँ, एमबिबिएस गरेर ५  वर्षको अनुभवपछि ३ सय ९० रुपैयाँ एमबिबिएस गरेर फेलोसिप गरेको चिकित्सक ५ सय ३५ रुपैयाँ, ५ वर्षभन्दा कम अनुभव भएको एमडी (विशेषज्ञ) उत्तीर्ण चिकित्सक ५ सय ९० रुपैयाँ एमडी गरी ५ वर्षभन्दा बढी अनुभव भएको चिकित्सकले ६ सय ३५ रुपैयाँ लिनसक्ने प्रस्ताव गरिएको महाशाखा प्रमुख डा देवकोटाले बताए।

डाक्टरको परामर्श शुल्कको विषयमा पहिलोपटक डा उपेन्द्र देवकोटा स्वास्थ्यमन्त्री हुँदा निर्णय भएको थियो। तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन।

२०७१ सालमा खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा संघको मागअनुसार शुल्क निर्धारण भएको थियो। त्यसबेला एमबिबिएस  गरेर ५ वर्ष सेवा अनुभव नभएका चिकित्सकको २ सय ५० रुपैयाँ, ५ वर्ष अनुभव भएपछि ३ सय रुपैयाँ, एमबिबिएसपछि फेलोसिप गरेकाले ४ सय रुपैयाँ, विशेषज्ञ चिकित्सकलाई ४ सय ५० रुपैयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञले ४ सय ७५ रुपैयाँ परामर्श शुल्क लिन पाउने निर्णय भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.