गाउँ-गाउँमा तरकारी कुहिँदै

|

हेटौंडा : केहि दिनदेखि निरन्तर रुपमा परेको वर्षाले मकवानपुरको ग्रामीण सडक ठप्प भएका छन्। ग्रामीण सडक ठप्प हुँदा गाउँ-गाउँबाट आउने तरकारी आउन सकेका छैन।

तरकारी बजार ल्याउन नपाउँदा किसान चिन्तामा छन्। किसानले दैनिक जसो बजार पठाइरहने तरकारी अहिले गाउँमै कुहिन थालेको छ। मकवानपुरको थाहा नगरपालिकाको ग्रामीण क्षेत्र, इन्द्र सरोवर गाउँपालिकाका अधिकांश कृषि सडक अझै सञ्चालन हुन सकेको छैन। यस्तै, कैलाश गाउँपालिकाको नामटार, कालिकाटार, डाँडाखर्क, गोगनेको सडक अझै खुल्न सकेको छैन।

भीमफेदी–९ का किसान तेजबहादुर लामा गुनासो गर्छन्, 'बजारमा तरकारी छैन भनेर सुनिरहँदा हामीले उत्पादन गरेको तरकारी कुहिएर जान थालेको छ। आम्दानीको स्रोत भनेको नै यहि तरकारी हो, तरकारी नै बिक्री गर्न नसकेपछि त कसरी बाँच्नु?' लामाको मात्र होइन उक्त भेगको अधिकांश किसानको तरकारी तयारी भएको बेला बाटो बिग्रिएपछि तरकारी फाल्न बाध्य छन्।  बारीमा उत्पादन भएको काउली बारीमै फुल्न थालेको कैलाश गाउँपालिका ९ का किसान श्रीहरी बर्तौलाले बताए। उनले नामटार–चुनियाँ हुँदै हेटौँडा जाने सडक खोल्न नसक्दा गाउँका केहि किसानहरुले ४–५ घण्टा भारी बोकेर राजमार्ग निकाल्न बाध्य भएको बताए।

इन्द्रसरोवर गाउँपालिका किसानको पीडा पनि उस्तै छ। जिल्लामै थाहा नगरपछि धेरै तरकारी हुने स्थानको रुपमा रहेको इन्द्र सरोवर गाउँपालिकाको सिस्नेरीको ग्रामीण क्षेत्रको कृषि सडक लगातार अवरुद्ध हुँदा बजारमा किसानले तरकारी पठाउन नसकेको गाउँपालिका अध्यक्ष जीवन लामाले बताए। यस्तै पूर्वी मकवानपुरको बकैया, धियाँल क्षेत्रको तरकारी पनि अहिले बजार क्षेत्र आउन सकेको छैन। पश्चिम मकवानपुरको सरिखेत, काँकडा क्षेत्रमा पनि सडक अवरुद्ध रहेका छन्।

तरकारी बजारमा नआउँदा हेटौँडाका उपभोक्ताले चर्को मूल्यमा तरकारी खरिद गर्नुपरिरहेको छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष खड्गबहादुर मोक्तानका अनुसार अहिले हेटौंडामा अकबरे खुर्सानी ३ सय रुपैयाँ प्रतिकेजी, टमाटर ८० रुपैयाँ, काउली ७० रुपैयाँ, आलु ३५ रुपैयाँ, प्याज ७ सय ५० रुपैयाँ प्रतिबोरा, धनियाँ ३ सय रुपैयाँ प्रतिकेजी, कागती प्रतिगोटा १० रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ।

बिचौलियको प्रभावले अहिले अधिकांश तरकारी मूल्य थोक मूल्यको ५० प्रतिशतसम्म बढेको छ। उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले विपद्को बेला विचौलियहरूले विपद्को नाममा ठग्ने गरेको आरोप लगाए। स्थानीय सरकारसँग अधिकार छैन भन्ने र प्रदेश सरकारको कानुन नहुँदा जिल्ला प्रशासन कार्यालय पनि मौन रहेको बताए। यद्यपि उपभोक्तावादी संस्थाले अनुगमन भने गरेका छैनन्।

यता, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ भने ग्रामीण सडकहरु अवरुद्ध हुँदा कृत्रिम रूपमा तरकारीको मूल्य आकाशिएको बताउँछन्। उनले नियमति रुपमा बजार अनुगमन गर्नु पर्ने भएता पनि तरकारी नै सहज रुपमा नपाउने अवस्था रहेको बताए।  प्रजिअ तामाङले खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई बजारको मूल्य र गुणस्तरको अनुगमनको निर्देशनसमेत दिइसकेको बताए। 

अधिकांश भारतीय तरकारी

हेटौँडामा बिक्री हुने तरकारी अधिकांश भारतबाट आउने गरेको छ। मकवानपुरको तरकारीले ७५ प्रतिशत बजार धान्ने गरेको भएता पनि अहिले १५ प्रतिशत मात्रै मकवानपुरको तरकारी बजार आएकाले बाँकी भारतीय तरकारीको भरमा पर्नु परेको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष खड्ग बहादुर मोक्तान बताउँछन्। उनका अनुसार प्याजको लागि भने अन्य मौसममा पनि सधैँ भारतको भर पर्नु पर्ने छ।

मकवानपुरको बजारमा अहिले भारतबाट आएको प्याज, आलु, भिन्डी, काउली, खुसार्नी, धनियाँलगायत रहेका छन्। यस्तै, लसुन चीनबाट ल्याउनु परेको उनले बताए। उपभोक्तालाई हेर्दा राम्रो र सस्तो चाहिने भएकोले भारतीय तरकारीको बढी बिक्री हुने गरेको मोक्तानले बताए।  हेटौंडामा अहिले किनबेच भइरहेको तरकारी ८० प्रतिशत भारतीय तरकारी रहेको थोक व्यवसायीहरूको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.