|

डडेल्धुरा : अन्य वर्षको तुलनामा यस वर्ष अझै धेरै ठाउँमा रोपाइँ सकिएको छैन। असार मसान्तसम्ममा देशभर ४० प्रतिशत मात्रै रोपाइँ सकिएको छ।

साउनको पहिलो साता भइसक्दा पनि पर्याप्त पानी नपर्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको छैन। साउन पहिलो सातासम्म यहाँको कुल रोपाइँ हुने जमिनमध्ये करिब १५ प्रतिशत अझै बाँझै रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले कैलालीमा १० प्रतिशत र कञ्चनपुरमा ५ प्रतिशत क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको जानकारी दिए। सुदूरपश्चिमका ९ जिल्लामा वर्षायाममा धान लगाउने एक लाख ८१ हजार चार सय २४ हेक्टर क्षेत्रमध्ये एक लाख ५३ हजार नौ सय ४२ हेक्टमा रोपाइँ सकिएको जनाइएको छ।

सिँचाइ सुविधा नभएका ठाउँमा रोपाइँ हुन नसकेको हो। रोपाइँ हुने भूभागमध्ये सबैभन्दा बढी अछाममा ४० प्रतिशत, डोटीमा ३५ प्रतिशत र डडेल्धुरामा ३० प्रतिशत क्षेत्रमा रोपाइँ हुन बाँकी छ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने डोटी घटाल क्षेत्रमा रोपाइँ सकिएको छ। कृषिको उर्भर भूमिका रुपमा चिनिने यस क्षेत्रमा रोपाइँ समयमै सकिएको हो।  रोपाइँ सकिएपछि यो क्षेत्र हरियालीमय बनेको छ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.