|

काठमाडौं :  फिल्मको मुटु हो त्यसको कथा। कथाका लागि कयौंजनाले कठोर मेहनत गर्छन्। पात्र अनुसार कलाकार दृश्यमा देखिन्छन्। यदि दर्शकले फिल्म मन पराए कलाकार चर्चा र सपफलताको ग्राफ उकालो लाग्छ। फिल्म लेखकले पनि प्रतिष्ठा कमाउँछन्। निर्माताको अनुहार दशैँ आएको बालक जस्तो बन्छ, पुलकित हुन्छन्। निर्देशकको भागमा पनि अरू नयाँ फिल्म निर्माणको अवसर आउँछन्।

फिल्ममा धेरै व्यक्तिको पसिना बगेको हुन्छ। तर बजारमा देखिने र रातारात सेलिब्रिटी बन्ने कलाकार मात्रै हुन्। कलाकारलाई रातारात सेलिब्रिटी बनाउने भूमिका खेल्छन् पर्दा पछाडिका नायकहरूले, उनीहरू फिल्मका मेरूदण्ड हुन्। पर्दा पछाडिका नायकमध्ये एक हो सिनेमेटोग्राफर। यी पर्दा पछाडिका नायक जसको काँधमाा फिल्मको सबै जिम्मेवारी हुन्छ। तर पनि उनीहरू पर्दा पछाडिबाटै फिल्म सफल बनाइरहेका हुन्छन्। ४० वर्ष देखि फिल्म छायाँकनमा खटिएको नाम हो गौरी शंकर धुजु।

'कथा फिल्मको मुटु हो भने छायाँकन भनेको फिल्म र भिडियोको आँखा हो,' उनी आफ्नो अनुभव सुनाउँछन्। उनले १८ वटा भन्दा बढी फिल्म छायाँकन गरेका छन्। पहिलो फिल्म 'कस्तुरी' छायाकन गरेदेखि उनी पछाडि फर्केका छैनन्। कयौं टेलिफिल्ममा काम गरे उनले, तिनको गनेर साध्य छैन। महसंचारसँग सहकार्य गरेकै ३० वर्ष भन्दा बढी हनु लाग्यो। एकछिन सोचेपछि ७ देखि ८ सयवटा टेलिफिल्मको श्रृंखलामा छायाँकन गरेको बताउँछन् उनी। उनी स्वयम्ले पनि टेलिसिरियल निर्माण गरेका छन्। नारी, अग्निकुण्ड लगायतका टेलिसिरियल उनैले बनाएका हुन्। 

भर्खर भर्खर भिडियो निर्माण र टेलिभिजनको दुनियाँमा नेपाली समाज जोडिँदै थियो। मह जोडीले पनि आफूलाई स्थापित गर्न संघर्ष गरिरहेका थिए। त्यो समयमा भिडियो खिच्ने मान्छे पनि कम थिए। महजोडी संघर्ष गर्दै गर्दा उनी न्युरोडमा क्यामरा पसल चलाउँथे। एकदिन मह जोडीले '१५ गते' सिरियलको सुटिङमा धुजुलाई निम्ता दिए। तर उनी त्यसबेला फोटो खिच्नै व्यस्त थिए।  सिफ्टमा काम गरिरहेका थिए।  उनले मह जोडि प्रस्ताव स्वीकार गर्ने अवस्था नै थिएन।  अर्कातिर भिडियो खिच्ने पर्याप्त सामग्री पनि थिएनन्।  उनले साथीहरूँग मिलेर 'एड्भान्स' क्यामेरा किने। क्यामेरा जोडिसकेपछि मह जोडीसँग उनले पहिलो सहकार्य 'रात' टेलिफिल्ममा काम गरे। त्यो दिन देखि आजसम्म उनी केही विज्ञापन र टेलिसिरियल बाहेक मह जोडीसँग छुट्टिएका छैनन्। भन्छन्, 'मह सञ्चार' जस्तो आदर्श, व्यवस्थित र आदरणीय समुहसँग जीवनका सुनौला दिन बिताएँ। ती रंगित दिन सम्झिँदा अहिले पनि छाती चौडा हुन्छ।'

पुर्ख्यौली पेशा व्यापार। जिजु बुवाबाट नै व्यापारले घरको दैनिकी चलिरहेका बेला धुजु भने व्यापारको मोह छोडेर छायाँकनतिर लागे। क्यामेरा नै उनको एक मात्र शोख र नसा भयो। आफूले देखेको दृश्य क्यामराेले कैद गर्दा मात्रै उनलाई सुखानुभूति हुन थाल्यो। उनका ठूला बाले क्यामेरा चलाउँथे। त्यहा फोटो खिच्नेको भीड हुन्थ्यो। नयाँ नयाँ मान्छेहरूको भीडले उनी पनि रोमाञ्चित हुन्थे।  बाल्यकालका रमाइला ती दिनमा उनी सोच्थे, 'ओहो! कति धेरै मान्छेले ठूला बालाई घेरेका? सबैले सम्मान गर्छन्।' उनलाई लोभ लाग्थ्यो आफुलाई पनि सबैले यसरी नै घेरिदिउन्।

सम्मान गरिदिउन्। उनका समकालीन साथीहरू गल्लीमा बल खेल्दा उनी ठूला बुवाको क्यामेरामा झुम्मिन्थे। ठूलोबालाई पनि धुजुको बालशुलभ काम मन पर्थ्यो। उनी धुजुलाई क्यामरा चलाउने तरिका सिकाइदिन्थे।  जमाना रिलवाला क्यामेराको थियो। उनले कतिपय फोटो खिच्दा एङ्गल मिल्दैन थियो। लाइट मिल्दैन थियो। ठूला बुवा झर्किन्थे। फन्किन्थे। तर उनलाई केही फरक पर्दैनथ्यो। धुजु ठूला बुवाका लागि प्रिय थिए। जहाँ ठूलो बुवा त्यहाँ धुजु।  घरमा छोरोको क्यामरा लगाव देख्दा बुवाआमाले कुनै प्रतिक्रिया दिएनन्। किनभने व्यापार व्यस्त हुने अभिभावकले सन्तानलाई समय दिन सक्ने अवस्था थिएनन। 

उनको रूची  बढ्दै गयो। एसएलसी दिए। सन् १९७७ मा जन्स हप्किन्स युनिभर्सिटिको 'द वज अर्थ ग्रुप टिम' थेसिसका लागि काठमाडौं आएको थियो। बाँदरको अध्ययन उनीहरूको प्राथमिकतामा थियो। त्यसबेला उनीहरूसँग काम गर्ने मौका धुजुले पाए। उनीहरू ६/६ महिनाको अन्तरमा तीन चोटी काठमाडौं आए। तीनै पटक धुजुले काम गर्ने अवसर पाए। त्यसैबेला उनले विदेशबाट ल्याइएका गतिला क्यामेरा चलाउन पाए।

धुजुको क्यामेराप्रतिको रूचि र लगाव देखेर उनीहरूले  सुपर ८ क्यामेरा नै दिए।  उनले क्यामेरासम्बन्धी ज्ञान लिन अध्ययन गरेका होइनन्। यो त उनको रहरले जन्माएको एउटा लगाव मात्रै थियो। रहरले सिक्ने प्रेरणा दिन्छ। 'त्यसबेला क्यामेरा चलाउन पढ्नुपर्छ भन्ने ज्ञान पनि थिएन। अर्को कुरा पढ्ने स्कुल पनि त अहिलेको जस्तो कहाँ थिए र?', उनी विगत र वर्तमानको तुलना गर्छन्।

उनले क्यामेरा चलाउन थालेको थाहा पाएपछि आफन्त र साथीहरूले बिहेसहितका कार्यक्रममा फोटो खिच्न बोलाउँथे। फोटो पनि खिच्न पाइने, पैसा पनि कमाइने, दुवै हातमा लड्डु भएपछि उनलाई अरू के चाहियो? 'मैले त मेरो बिहेको फोटो पनि आफ्नै क्यामराले पो खिचेको त,' मुस्कुराउँदै उनले  विगत सम्झिए। क्यामेरा चलाउने व्यक्ति कम थिए त्यो बेला। भिडियो बनाउने चलन भर्खरै सुरू हुँदै थियो। धुजुका साथी गायक किरण प्रधानले  वि.सं. २०३६ सालमा एउटा भिडियो फिल्म बनाउने प्रस्ताव गरे। उनलाई भिडियो बनाउने कसरी थाहा थिएन। तर थाहा नभएको उनलाई थियो। अरूलाई के थाहा उनले हुन्छ भनिदिए। सुरूमा 'प्रयास' भन्ने भिडियो बनाए।  छायाँकन गर्नेको कमाई पनि खास्सै धेरै हुदैन थियो। तर धुजूलाई पैसासँग मतलव थिएन्। कामसँग थियो। 

त्यसबेलासम्म उनी व्यापारी नै थिए। त्यसपछि सबथोक छोडे। अनि लागे छाँयाकारको लामो यात्रामा। त्यसपछि रमेश बुढाथोकीको 'बाचा भुलेको छैन' टेलिसिरियल खिचे। सरोज खनाल अभिनित पहिलो फिल्म 'मौन आकाश' पनि उनैले खिचेका हुन्। सन्तोष पन्तसँग पनि काम गरे। 'पुराना रंगकर्मीहरूको टेलिफिल्ममा सायदै कोहीसँग मैले काम गर्न छुटेको होला। प्राय सबैसँग मेरो सहकार्य छ', उनी भन्छन्, 'सम्झिदाँ गज्जब नै लाग्छ। त्यतिबेला छायाँकारको संख्या सीमित भएकाले फिल्मकर्मीसँग अरू 'अप्सन' पनि हुँदैनथ्यो। आफूलाई काम जे पाए पनि गर्नुपर्छ भन्ने लाग्थ्यो।'

रहरले डोर्‍याएको बाटो व्यावसायिकता तर्फ मोडियो। आफूले क्यामरामा कैद भएका धेरै मान्छे देशका सेलिब्रिटी बने। उनी पनि पर्दा पछाडि मात्रै हराउन्नथे, आफू सुहाउँदो पात्रमा अभिनय गर्थे। सबैले चिन्ने  एक मात्रै लोभ थियो। 'मलाई पनि लोभ लाग्थ्यो, कलाकारहरू जस्तै मलाई पनि सबैले चिनिदिए हुन्थ्यो। तर आफु जुन कुरामा पोख्त छु, त्यही कुरामा काम गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि कलाकारिताको लोभ हरायो।' उनी खिस्स हाँस्दै सुनाउँदा अनुहारमा मादकता भरियो।

परिवारले बिग्रियो भने

नेवारी भाषामा सिनेमा भनेको 'बिग्री जा' भन्ने अर्थ लाग्छ। उनी सिनेमामा लागे। गाउँ घरतिर बुवा विरक्तिएको आवाजमा भन्थे, 'छोरो सिनेमा'मा लागेको छ।' सबैले जिब्रो टोक्थे। छोराले सिनेमाको काम गर्दा बुवाआमाको टाउको दुख्थ्यो।  र, पनि उनी निरन्तर यसमै लागिरहे।उनले छायाँकन गरेका फिल्म बजारमा आउन थाले। त्यसबेलामा गोरखापत्र लगायतका पत्रिकाले  उनको फोटो र कथा छापे।  टेलिभिजनमा उनको नाम देखिन थाल्यो।

टिभीमा नाम देखेपछि एकदिन बाले भनेछन्, 'काम नै राम्रो गरेर तेरो नाम आएको होकी आँखामा छारो हाल्न हो?' आफ्नो प्रशंसा पाउन थालेपछि उनी गमक्क पर्दै भन्थे, 'राम्रो काम गरेर आएको हो नाम। नाम मात्रै राख्ने भए त तपाईंको पनि आउथ्यो होला त।' 

यात्रा एभरेस्ट फिल्म एकेडेमीको

जिन्दगीको आधा समय रंग दुनियाँमा पर्दा पछाडि बिताएका धुजु अहिले एभरेस्ट फिल्म एकेडेमीमा विद्यार्थीहरूलाई छायाँकन सम्बन्धी कोर्स पढाउँछन्।  जमाना बद्लिसकेको छ। नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ।

'पहिले प्रविधिको विकास भएको थिएन। मान्छेहरू दिमाग लगाउँथे', उनी भन्छन्, 'अचेल प्रविधिको कमालले मान्छेको खुबी खेर गइरहेको छ।' उनको ढल्कँदो उमेरसँगै नयाँ नयाँ छायाँकारहरू नेपाली रंगमञ्चमा आएका छन्।

उनमा पनि पहिलेको जस्तो काम गर्ने जोश र अवस्था छैन। दिनभर घरमा बसेर दिक्क हुनुभन्दा नयाँ पुस्तासँग आफ्ना कुरा साट्नेतर्फ उनी लागेका छन्। उनी अनुभव सुनाउँदै सिकाउँदै अघि बढिरहेका छन् । 'नयाँ पुस्तासँग जोश छ जाँगर। हामीसँग अनुभव छ', उनी भन्छन्, 'यी दुवैलाई एकै ठाउँमा ल्याउने काम एभरेस्ट फिल्म एकेडेमीले गर्दैछ। म खुसी छु।' 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.