प्याराडाइज म्यान पावरमा विभागको छापा

|

काठमाडौं : वैदेशिक रोजगार विभागले नेपाल सरकारले तोकेको भन्दा बढी रकम लिई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीहरुमाथिको कारबाही तीव्र पारेको छ। 

विदाको दिनमासमेत अवैधानिक तरिकाले कामदार छनौट गर्ने गरेको गुनासो आएपछि विभागले कारबाही थालेको हो। वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुलाई अन्तर्वार्तामा बोलाउने म्यानपावर व्यवसायी संस्थाको आकस्मिक अनुगमन थालेको विभागले आइतवार पनि कारबाही गरेको छ। 

ललिपुरस्थित प्याराडाइज इन्टरनेशनल प्रालिमा आकष्मिक अनुगमन गरी कामदारबाट तोकिएको भन्दा १२ गुणा बढी सेवा शुल्क लिइरहेका बेला विभागको टोलीले रङ्गेहात फेला पारेको हो।

विभागका शाखा अधिकृत कुशल बरालको नेतृत्वमा कपिल पौडेल र सुवर्ण शाक्य सहितको टोलीले वैदेशिक रोजगारीका लागि उक्त प्रालिबाट श्रम स्वीकृति निकालेका देवेन्द्र गुरुङ, कुमार गुरुङ, सुमन सार्की र गङ्गा परियारबाट तोकिए भन्दा बढी रकम असुलेको भेट्टाएको छ। 

विभागको टोलीले श्रम स्वीकृति निकालेका कुमार गुरुङ र देवेन्द्र गुरुङबाट बुझ्दै गरेको एक लाख ५० हजार र एक लाख १० हजार रकम जफत गरेको छ। गङ्गा परियारले रकम बुझाउन आइएमईबाट मगाएको पैसा बुझाउन बाँकी रहेको खुलेको छ। सुमन सार्कीले युएईमा क्लिनर पदका लागि जान पोखरामै सविना गुरुङ्गलाई एक लाख ३० रुपैयाँ बुझाएको खुल्न आएको छ।

विभागले सञ्चालकलाई कागज गराई कामदारलाई आइतवारै वैदेशिक रोजगारीमा उडान हुने गरी पठाउन निर्देशन दिएको छ। गन्तव्यमा पुगेपछि पनि सम्झौतामा उल्लिखित सबै शर्त बमोजिम कामको सुनिश्चितता गराउने शर्तनामा गराएर छाडिएको छ। सञ्चालकलाई विभागमा वयानका लागि समेत पत्र काटेको छ।

आजै विभागले त्यही कम्पनीले पोखराको ग्रान्ड शिवालय होटलमा अवैधरुपमा अन्तर्वार्तागर्दै गरेको उजुरीका आधारमा आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको छ। 

टोली त्यहाँ नपुग्दै शाखा कार्यालयका कर्मचारीहरु बाहिर निस्किसकेका खुलेको छ। त्यसैगरी पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमासमेत टोलीले आकस्मिक अनुगमन गरेको थियो। 

बोर्ड हटाई अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाएर एक एकजनालाई भित्र बोलाई अन्तर्वार्ता लिंदै गरेको पाइएको विभागले जनाएको छ। टोलीले उक्त स्थानबाट केही कागजात र कम्प्यूटर हार्डडिस्क बरामद गरी बयानका लागि पत्र काटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.