|

जुम्ला : जुम्ला  सदरमुकामका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको बेला ग्रामीण भेगका विद्यालयमा विद्यार्थीका गुनासो सने व्यवस्था गरेका छन्। ग्रामीण भेगमा पर्ने सामुदायिक विद्यालयमा  विद्यार्थीका गुनासा सुन्न पत्र मञ्जुषा राखिएको हो।

शिक्षा विभाग र प्यालन नेपाल जुम्लाले उजुरी पेटिकाका रूपमा पत्र मञ्जुषा राख्नुपर्ने अनिवार्य नियम बनाइदिएपछि विद्यालयमा औपचारिकताका लागि झुन्ड्याइएका पत्र मञ्जुषामार्फत विद्यार्थीका गुनासो सुन्ने प्रविधि बढेको छ। सिंजा गाउँपालिका ६ जोडुमा रहेको माध्यामिक विद्यालयका प्रधानाध्यापक नरबहादुर बुढाले आफ्नो विद्यालयमा १ महिनामा सरदर १० देखि १६ वटासम्म गुनासा पर्ने गरेको जानकारी दिए। उनका अनुसार विद्यार्थीका गुनासा ती पेटिकामा खस्नुले स्कुलका समस्या बाहिर आउने बताए।

पेटिकामा शिक्षकले नपढाएकोदेखि बाटोमा हिँड्दा केटाले जिस्क्याएकोसम्मका गुनासा आउने गरेको प्रअ बुढा बताउँछन् विद्यालयमा आन्तरिक रूपमा गठन भएका गुनासो सुनुवाइ समितिले ती गुनासाको सम्बोधन गर्ने गरेको उनको भनाइ छ।  त्यस विद्यालयमा हरेक महिनाको शुक्रबार गुनासो पेटिका खोल्ने र गुनासोका बारेमा सम्बोधन गर्ने नियम बनाइएको छ। जो शिक्षकसँग नपढाएको गुनासा आए सम्बन्धित शिक्षक आफैँले जवाफ दिने गरेको विद्यालयले जनाएको छ।

शिक्षा विभाग र प्यालन नेपाल जुम्लाले गत फागुन महिनामा आयोजना गरेको कार्यशालामा सिंजा गाउँपालिकाका २२ वटा विद्यालय सहभागि भएका थिए। सिंजा गाउँपालिका गुनासो पेटिका राखी गुनासाको हल गर्ने विद्यालय मावि जोडु पहिलो विद्यालय भएको बुढाले दाबी  गरे।

शिक्षा विभाग र प्यालन नेपालको टोलीले शिक्षक, विद्यार्थीले गुनासो सुन्न विद्यालयमा उजुरी पेटिका अनिवार्य राख्नु पर्ने निर्देशनअनुसार विद्यालयमा यो नियम संचलन गरिएको माध्यामिक विद्यालय जोडुले जनाएको छ।

विद्यालयकी छात्रा विनिता बुढाले नबुझेको कुरा सोध्न शिक्षकसँग डराउने विद्यार्थी अब खुलेरै कुरा गर्न सक्ने भएको उदाहरण दिँदै गुनासो पेटिकाका कारण शौचालयमा सेनेटरी प्याडको व्यवस्था भएको पनि बताइन्। उनले भनिन्, 'शिक्षकले जान्ने र नजान्ने विद्यार्थीमाथि गर्दै आएको भेदभाव कम भएको छ, विद्यालय हातामा खानेपानीको व्यवस्था भएको छ, केटाहरूले बाटोमा हिँड्दा दुर्व्यवहार गर्न विस्तारै कम भएको छ।'

विद्यार्थीका अनुसार अझै पनि थुप्रै विद्यार्थी उजुरी हाल्न डराउने गरेका छन्। उनीहरू पीडकले अझ पीडा दिने पो हो कि भन्ने ठानेर उजुरी हाल्दैनन भने उजुरीको गोपनीयता कायम नरहन सक्ला कि भनेर पनि लिखित उजुरी हाल्न डराउने गरेका छन्।

प्रअ बुढाले उजुरीका कारण लैंगिक हिंसा कम भएको र बीचैमा कक्षा छोड्ने प्रवृत्तिमा पनि कमी आएको बताए। विद्यालयको वातावरण ठीक होस, शिक्षक समयमा कक्षाकोठा भित्र प्रवेश गरून, सिकाइ उपलब्धि वृद्धि होस भन्ने उद्देश्यले नै यसको थालनी गरिएको प्रअ बुढाको भनाइ छ। गुनासो पेटिकाले गर्दा सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय आउने त्यहाका शिक्षकहरू बताउँछन्।

खस्कँदै गएको पठनपाठन सुधार्नमा विद्यालयमा यो कार्यक्रम लागू गरिएको हो। हाल विद्यामालयमा ३ सय २० जना विद्यार्थीले नियमित रुपमा पढ्दै आएका छन्। १ महिनादेखि आएका विद्यार्थीका गुनासाहरूको शुक्रबार शिक्षक र विद्यार्थीका बीच सुनुवाइ गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.