|

 

 

छिर्लिङ्-छिर्लिङ्

बजाउँदै ढुङ्गाका बाजाहरू

यात्रामा अघिअघि

हिँडिरहेका थिए उनीहरू!

 

कमिलाको अनन्त ताँती बनेर

पछ्याइरहेका थियौँ हामी 

माथि शिखरमा पुगेर टुङ्गियो बाटो

तर बाटोको अन्तिम बिन्दुमा पुगेर हेर्दा 

कतै देखिएनन् उनीहरू!

 

यो शिखर भन्दा माथि

कहाँ पुगे होलान् उनीहरू?

 

शिखरमा उनीहरूले टेकेको

पाइतालाको

अन्तिम डोब मात्र बाँकी छ!

 

उनीहरूले खाँदै हिँडेको

भुटेको मकै र भटमासको

अन्तिम सुगन्ध मात्र बाँकी छ

शिखर भन्दा माथि

रित्तो आकाश मात्र बाँकी छ!

 

यहाँसम्म आइपुगेर

अचानक कहाँ हराए उनीहरू?

 

यहाँ त उनीहरूले टेक्दै हिँडेको

आस्थाको लठ्ठी मात्र बाँकी छ

उनीहरूले कुल्चिँदै हिँडेको

विचारको जुत्ता मात्र बाँकी छ

उनीहरूले च्यात्दै हिँडेको

प्रेमको फूल मात्र बाँकी छ!

 

छिर्लिङ्-छिर्लिङ्

बजाउँदै ढुङ्गाका बाजाहरू

कमिलाको स्वर्ग खोज्न

हिँडिरहेका थिए उनीहरू

तर यो शिखर भन्दा माथि

कहाँ पुगे होलान् उनीहरू?

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.