फिचर

बडिमालिका मेला भर्न हिँडे जुम्ला र डोटीका तीर्थयात्री
SHARES

जनैपूर्णिमा मेलामा मागेको वर पुग्‍ने विश्वास

साउन २७, २०७६

    कालिकोट : कालिकोट अछाम र बाजुराको सिमानामा रहेको बडिमालिका दर्शनका लागि यात्रुहरू डोटी र जुम्लाबाट निस्किएका छन्। साउन जनैपूर्णिमा अघिल्लो दिन बडिमालिकामा लाग्ने पूजा मेलाका लागि दर्शनार्थीहरू त्यसतर्फ लागेका हुन्।

    समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुग्न सात दिनको पैदल यात्रामा हजारौँ भक्तालुहरू यात्रामा निस्किएका छन्। झरी होस् कि जाडो तीर्थालुहरू मौसमको खासै परवाह नगरी दर्शनका लागि त्यसतर्फ लागेका छन्।

    प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने बडिमालिका मेलालाई यो वर्ष भव्य र व्यवस्थित बनाइने भएको छ। साउन ३० गतेका दिन हुने बडिमालिका माईको पूजाको सम्पूर्ण तयारी पूरा हुने चरणमा पुगेको छ।

    पूजाका लागि जुम्ला र डोटी जिल्ला प्रशासन कार्यालयबाट प्रसादसहित हप्ता दिनअघि त्यहाँका सरकारी टोली बडिमालिका प्रस्थान गरिसकेका छन्। त्यहाँका सरकारी टोलीले देशमा कुनै अनिष्ट नहोस भनेर भेटी चढाउने छन्।

    बडिमालिका माईको दर्शनका लागि देश विदेशबाट पनि तीर्थयात्री पुग्ने गर्दछन्। विशेष गरी बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्ला, जुम्ला र कालिकोटबाट तीथार्लु पुग्ने गर्दछन्।

    बडिमालिका स्वर्गको टुक्रा

    काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ। बडिमालिका माईको पूजा गर्दा र वर माग्दा चाहेको कुरा पूरा हुने विश्वास रहेको छ।

    जनैपूर्णीमाका दिने गरिने पूजाका लागि १५ दिन अघि देखि नै तयारी गर्ने चलन रहेको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘बडिमालिका नेपालकै स्वर्गको टुक्राकै रुपमा रहेको छ’ उनले भने,–‘बडिमालिका माइको पूजा गर्दा र वर माग्दा चाहेको कुरा पूरा हुने जनविश्वास रहेको छ।’

    बडिमालिका भगवतीको दर्शन गर्नुपूर्व त्रिवेणी धामको पवित्र जलमा स्नान गरी, पाप पखाल्ने र एक बास त्रिवेणीमै बसेर शुद्ध मन लिएर मात्र जाने चलन रहेको छ।

    बडिमालिकामाइको दर्शन गर्नाले मनले मागेको कुरा पूरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मिक विश्वास रहेको छ। जनैपूर्णिको अघिल्लो दिन चतुर्दशीका दिन बडिमालिकालगायत जिल्लाका बढालेक, बुढीनन्दा, दुनालेक, शाहिमाडौं, भवानीमाण्डौ लगायतका क्षेत्रमा रहेका भगवतीका मन्दिरमा एकैसाथ पूजा गरिने गरिन्छ।

    बडिमालिका सुन्दरता

    यो क्षेत्रको धार्मिक महत्व मात्र नभई १४० भन्दा बढी जातका फूल, १३० जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, ६ महिना चरा चराउनका लागि उपयुक्त रहेका २२ वटा घाँसे मैदान, तीनवटा नदीको संगम रहेको पवित्र धाम त्रिवेणी र दर्जनौ देशका जिल्लाहरूलाई नियाल्न सकिने अग्गा अग्ला हिमश्रृंखलाहरू बडीमालिकाका मन लोभ्याउने प्रमुख विषेशता रहेका छन्।

    धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको गहना बडिमालिका क्षेत्रको विकासका लागि सरकारी पहल भने अझै भएको पाइँदैन। ३ वर्ष पहिले वन संरक्षित क्षेत्रको रुपमा घोषणा गरेपछि त्यसको कार्यान्वन भएको छैन। यस वर्षको जनैपूर्णिमा विशेष महत्वका साथ मनाइने खबरसँगै दर्शनार्थीहरू पनि निकै उत्साहित छन्।

    मनमोहक फाँट

    त्यति अग्लो भूमिमा दर्जनौं समथर फाँटहरू, ढपक्कै धर्ती ढाकेर फूल्ने फूलहरूले मन नलोभ्याउँछन्। हरिया पाटनमाथि सेताम्मे भेडाका बथानहरू, डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ।

    मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा ठूलो छ। हरियाली फाँट, त्यसमाथि फूलेका रंगीबिरंगी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन्। यहाँ डाँफेमुनाल कस्तुरी, मृग घोरललगायत चरा र जनावरहरू पाइन्छन्।

    सत्यदेवीको अंग पतनको विश्वास

    किम्वदन्तीअनुसार दक्ष प्रजापतिको यज्ञमा अर्धांगिनी सत्यदेवी होमिएर देहत्याग गरसिकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाँदा मल्लागिरी पर्वमा सत्यदेवीको अंग पतन भएपछि मालिकादेवी उत्पत्ति भई बडिमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको भन्ने किम्वदन्ती रहेको छ।

    पर्यटकीय सम्भावनायुक्त त्रिवेणी पाटन

    कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको मुम्रा लेकमा पर्ने त्रिवेणी पाटन पर्यटकिय सम्भावना बोकेको क्षेत्र हो। यो कालिकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धार्मिक मन्दीरका कारणले पनि चर्चामा रहेको छ।

    समुद्र सतहबाट ४२ सय १९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ टेक्न पाइने र मनोरम प्राकृतिक दृश्यहरू त्रिवेणी पाटनका विशेषता हुन्।

    त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ। नजिकै रहेको बडिमालिका मन्दीरमा साउन जनै पूर्णिमाको अघिल्लो दिन लाग्ने मेला लाग्ने गर्छ।

    मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाट पनि मानिसहरू बडिमालिका पुग्ने गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘त्रिवेणी पाटन आसपासमा रहेका २२ वटा पाटनमा सयौं प्रजातिका फूल फूल्छन्’ उनले भने, ‘यो क्षेत्रका ३२ वटा पाटनमध्ये १२ वटा पाटन कालिकोट क्षेत्रमा पर्ने र २० वटा बाजुरा क्षेत्रमा पर्दछन्।’

    जंगली जनावर पनि मुख्‍य आकर्षण

    यस पाटनको आक्रषर्ण भनेको जंगली जनवार पनि हुन्। कस्तुरी, मृग, हिउँचितुवा, हिमालयन थार, हिमाली भालु, वन कुकुर, नाउरलगायत वन्यजन्तु यो क्षेत्रमा पाइने रामारोसन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले बताए। ‘जडिबुटीका लागिसमेत त्रिवेणी क्षेत्र प्रख्यात रहेको छ।’ उनले भने,‘यो क्षेत्रमा ४५ भन्दा बढी प्रजातिका दुर्लभ तथा बहुमूल्य जडीबुटी पाइने गरेको छ।’

    योजना तर्जुमा गर्दै जनप्रतिनिधि

    त्रिवेणी पाटन क्षेत्रको विकासका लागि कालिकोट अछाम र बाजुरा जिल्लाका जनप्रतिनीधिहरूले पर्यटन प्रवद्र्धनका लागि योजना ल्याउन लागेका छन्। त्रिवेणी क्षेत्रकाको संरक्षणका लागि पर्यटन प्रबद्र्धन योजना ल्याएर त्यसको बृहत्तर विकास गर्न लागेको हुन्।

    पर्यटन, जडीबुटी दुर्लभ जनवारको बासस्थानसमेत रहेको त्रिवेणी पाटनको संरक्षणका लागि कालिकोट, अछाम र बाजुरार जनप्रतिनिधि बीच दुई पटक छलफल समेत चलेको त्रिवेणी पाटन र बडिमालिका पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना समेत बनाउने तयारी थालिएको कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका

    अध्यक्ष धीरबहादुर विष्टले बताए। ‘बडिमालिका र त्रिवेणी पाटनको पर्यटन गुरुयोजना बनाउने तयारी साथ दुईपटक बैठकसमेत बसेका छौं।’ उनले भने,‘त्यसका लागि हामी सबैले तयारी पनि थालेका छौं।’

    संरक्षित क्षेत्र बनाइने

    त्रिवेणी पाटन, बडिमालिका र रामारोसन ताल क्षेत्र आसपासका क्षेत्रलाई समेटर संरक्षित क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारहरूले तयारी थालेका छन्। त्रिवेणी पाटन, रामारोशन र बडिमालिका आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुन सक्ने त्यसका लागि पहिलो चरणमा त्यस क्षेत्रमा चरिचरन, जडीबुटी निकासी बन्द गर्न लागिएको अछाम रामारोसन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले बताए।

    ‘हामी त्रिवेणी पाटन, रामारोसन ताल र बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा विकास गर्न लागेका छौं।’ उनले भने,‘त्यसका लागि कालिकोट, बाजुरा र अछामका स्थानीय सरकारहरूले त्यस क्षेत्रमा चरिचरन, जडीबुटी निकासी र शिकार खेल्न बन्देज लगाइएको छ।’

रमेश रावल

रावल थाहा खबरका कालिकोट जिल्ला समाचारदाता हुन्। ईमेल : rmsrwl@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]