पीडित भन्छन् : जग्गा खरिद गरियो तर घर बनाउने रकम भएन
पीडित भन्छन् : जग्गा खरिद गरियो तर घर बनाउने रकम भएन
सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिका ६ वाप्साखानीका विभिन्न टोलमा करिब ३० घरधुरी रहेको छ। उक्त परिवारलाई जब बर्खा लाग्छ अनि चिन्ता बढ्न थाल्छ की ठूलो झरी परेका बेला रातभरि नै जाग्रम बस्नुपर्ने बाध्यता हुन्छ।
कारण हो उक्त बस्ती वरिपरिको जमिन चिराचिरा भएको छ। स्थानीय अगुवाका अनुसार यो जमिन चिरा परेको अहिले होइन विसं २०५६ सालमै हो। स्थानीय ८५ वर्षीय सर्वधन राईका अनुसार २०५६ सालमा भिषण बर्षातसँगै गाउँमा ठूलो पहिरो गयो। त्यही पहिरोले गाउँका आधा दर्जन भन्दा बढी घर समेत बगायो। त्यस बेला राज्यको उपस्थिति हेलिकोप्टरमार्फत आकाशमा भएको बताइन्छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी हेलिकोप्टरमार्फत वाकु पुगेर हेलिकोप्टरबाटै पहिरो पीडितको अवस्था निरीक्षण गरेर फर्केको राईको दावी छ।
साविक वाकु गाविस ७ मा पर्ने राम्देल, शखरनाम, ङरु, माँझगाउँ र बधबर क्षेत्र पहिरोको उच्च जोखिममा परेपछि त्यहाँका करिब २७० जना स्थानीय हरेक वर्ष बर्खा लागेपछि माथिल्लो क्षेत्रमा गोठ बनाएर बस्ने गरेको बताउँछन्। 'छोरा छोरीलाई साथमा लिएर गाउँले सबैमाथि डिलमा गएर बस्थ्यौं।' राईले भने, 'बर्खामा गाउँ छाड्ने, हिउँदमा फर्कने कार्यले दुई दशक पार गर्यो।'
बाढी पहिरोका कारण बस्ती चिरा चिरा परे पनि व्यवस्थित राहत र बस्ती स्थान्तरणका लागि कुनै पहल नभएको शिक्षक समेत रहेकी स्थानीय कमलकुमारी राईले गुनासो गरिन्। 'घरवरपरको जमिन त चिरा चिरा परेकै छ। बस्ती भन्दा माथिबाट ठूलो ढुंगा समेत आउन सक्ने संभावना रहेको छ।' राईले भनिनु, 'पूर्खाको पाला देखिनै बस्ती भन्दामाथि रहेको जन्तरे ढुंगाले सताइरहेको थियो। हाम्रो पालामा पनि उस्तै छ। यही चाला हो भने छोरा नातिको पालमा पनि यस्तै होला।'
स्थानीय आफै जुटे, बस्ती स्थान्तरणको लागि
राहत कहाँ कसरी पाइन्छ भन्ने सम्मको राम्रो ज्ञान नभएका वाकुका स्थानीय बस्ती स्थान्तरण नगरको खण्डमा ठूलो क्षति हुने बताउँछन्। जोखिममा परेको बस्तीलाई स्थान्तरणको लागि सरकारी पक्षबाट कुनै पनि पहल हुने छाटकाट नभएपछि स्थानीय आफै सक्रिय भएका छन्। केही बर्ष अगाडि नै गाउँमा गठित जलेश्वरी युवा समूह समाजले बस्ती स्थान्तरणको लागि जग्गा समेत खरिद गरिसकेको उक्त समाजका कोषाअध्यक्ष मणिकुमार राईले बताए।
बस्ती स्थान्तरणकै लागि स्थानीयले ४२ रोपनी जग्गा समेत खरिद गरेका छन्। गाउँले मिलेर २५ लाखको लागतमा जग्गा खरिद गरेको भए पनि एकीकृत बस्ती निर्माणका लागि रकम अभावले काम हुन नसकेको कोषाअध्यक्ष राईले बताए। प्रति घरधुरी बराबर ८० हजार संकलन गरेर तीन वर्ष अगाडि नै जग्गा खरिद गरेको भए पनि घर निर्माण गर्न सक्ने अवस्था नहुँदा जोखिम मोलेर बस्न बाध्य भएको भन्दै स्थानीयले सहयोग समेत याचना गरेका छन्।
पीडित मनबरी राईले जग्गा खरिदको लागि ऋण काँडेर रकम जम्मा गरे पनि घर बनाउन रकम नभएको बताइन्। 'श्रीमान पनि ४/५ वर्ष अगाडि नै बित्नुभयो। कमाउने मान्छे छैन। जग्गा किन्ने भने अनि ऋण काँडेर बुझाएको व्याज तिर्दै ठिक्क छ। घर बनाउँन त कल्पनै नगरौं।'
अघिल्ला पुस्ताको सपना पूरा गर्न नसक्ने चिन्ताले युवा पुस्तालाई समेत सताउन थालेको छ। 'बाबाले तिमीहरूलाई सुरक्षlत स्थानमा लान्छु। हामी त चिन्तै चिन्तामा जीवन बिताउँने भयौ भन्दै जग्गा खरिदको अवधारणा लिनुभयो। तर उनको त्यो सपना पूरा नहँदै बितेर जानुभयो।' स्थानीय कमलकुमारी राईले आँखाबाट आशु झार्दै भनिन्, 'बाबाले बर्खा लागेपछि जाग्रम बस्नुपर्ने बाध्यताको अन्त्य गर्न पाए त स्वर्गमा जाँदा पनि शान्ति मिल्थ्यो भन्नुहुन्थ्यो। तर पैसा नहुँदा त्यो सपना पूरा भएन।'
गाउँलेको अभियानमा जनप्रतिनिधिको साथ
बस्ती जोखिममा परेपछि कुन निकायमा गएर राहत अनुदानको बारेमा पहल गर्ने भन्नेसम्मको जानकारी नहुँदा समस्या भएको स्थानीय मणिकुमार राईले बताए। राईका अनुसार स्थानीय सरकार आएलगतै दुई पटक गाउँपालिकामा निवेदन दर्ता गरिएको छ। निवेदनको आधारमा स्थानीयले चालेको कदम महत्वपूर्ण भन्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च हुने गरी १५ लाख बजेट व्यवस्था गरेको छ।
गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले खरिद गरिएको जग्गमा सामुदायिक भवन निर्माणका लागि उक्त बजेट व्यवस्था गरेको बताए। यता प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले बाकुमा बस्ती निर्माणका लागि विशेष पहल गर्ने बताए। प्रदेश सरकारको जनता आवास कार्यक्रम समेत सोही बस्तीलाई लक्षित गरिने उनको आश्वसन छ।
जनता आवास कार्यक्रमअन्तर्गत एउटा स्थानीय तहमा पाँच वटा घर निर्माण गरिने छ। सांसद राजभणडरीले जनता आवास कार्यक्रमसहित अन्य स्रोत समेत पहिचान गरि एकीकृत बस्ती निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
पहिरोको उच्च जोखिमको सूचीमा सोलुखुम्बु
हिमाली जिल्ला सोलुखुम्बु पहिरोको उच्च जोखिमको सूचीमा सूचीकृत भएको छ। वन तथा भू-संरक्षण विभागको जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाले गरेको एक अध्ययनले सोलुखुम्बु सहित देशभरको सात जिल्लालाई पहिरोको उच्च जोखिम जिल्लाका रुपमा राखेको छ। पहिरोको उच्च जोखिमका जिल्लामा सोलुखुम्बु, दोलखा, सर्लाही, नवलपरासी, कास्की, डडेल्धुरा र सिन्धुपाल्चोक रहेका छन्।
अहिलेसम्म प्रदेश १ मा सबै भन्दा बढी दुई हजार २६५ ठाउँमा पहिरो गएको पहिचान भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।