|

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले ६४ नेताहरूलाई विभिन्न ३२ विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी सुम्पिएको छ। जसमा महिलाको प्रतिनिधित्व ६ जनामा सीमित भएको छ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा शुक्रबार बसेको ९ सदस्यीय सचिवालय बैठकले ३२ विभागमा प्रमुख र उपप्रमुखको जिम्मेवारी सम्हाल्ने नेताहरूको नामको अन्तिम टुंगो लगाएको हो।

बैठकले ३२ विभागमध्ये जम्मा दुई विभाग प्रमुखमा महिलालाई जिम्मेवारी दिएको छ। बाँकी ३० विभाग प्रमुखमा पुरुष नेताहरूले नेतृत्वको जिम्मेवारी पाएका छन्। त्यस्तै, ३२ उपप्रमुखमध्ये ४ मा मात्रै महिलाले जिम्मेवारी पाएका छन्।

मुलुकको ठूलो पार्टीको विभागको जिम्मेवारी पाउने 'भाग्यमानी नेतृ'हरूमा उद्योग तथा वाणिज्य विभाग प्रमुख राधा ज्ञवाली र खानेपानी तथा सरसफाइ विभाग प्रमुख बिना मगर हुन्। ज्ञवाली पूर्वऊर्जामन्त्री हुन् भने मगर बहालवाला खानेपानी तथा सरसफाईमन्त्री हुन्। उनले पूर्वमाओवादीको 'जसले जुन मन्त्रालय सम्हालेको छ सोही सम्बद्ध विभाग लिने' नीतिअन्तर्गत उक्त विभागको नेतृत्व पाएकी हुन्।

नेकपाले महिलालाई दिएका ४ विभागका उपप्रमुखमा खानेपानी तथा सरसफाई विभागमा ममता गिरी, सामान्य प्रशासन विभागको उपप्रमुखमा रेखा शर्मा रहेका छन्। उनी पूर्वसामान्य प्रशासन मन्त्रीसमेत हुन्। स्थानीय तह विभागको उपप्रमुख उर्मिला अर्याल बनेकी छन्। उनी पनि स्थानीय विकास मन्त्रालयकी पूर्वमन्त्री हुन्। यता स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखको जिम्मेवारी अन्जना विशंखेले पाएकी छन्।

नेकपामा वरिष्ठ नेतृहरू पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायतलाई विभागको जिम्मेवारी नदिँदा महिलाहरूको योगदान र प्रतिनिनिधित्वलाई हुनुपर्ने विषयलाई अवमूल्यन गरेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

पढ्नुहोस्ः 

नेकपाका कतिपय नेतृहरूले भने विभागको जिम्मेवारी दिँदा महिलालाई नगण्य रूपमा हेरिएको भन्दै असन्तुष्टि पोखेका छन्। उनीहरूले पार्टीका विभिन्न तहमा महिलालाई औँलामै गन्न सकिने अवस्थाको रूपमा प्रतिनिधित्व गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यो विषयबारे जुनजुन नेतृहरूसँग सोध्न खोज्यौँ उनीहरूले औपचारिक रूपमा बोल्न मानेनन्। उनीहरूले यसको बारेमा औपचारिक रूपमा बोलेर केही फरक नपर्ने आशय व्यक्त गरेका थिए। एक महिला नेताले नाम उल्लेख नगर्ने शर्तमा भनिन्, 'नेकपामा महिलालाई सहभागीता भाग्यको कुरा हुन थाल्यो। क्षमता भएका महिला नेतृतहरूलाई पनि जिम्मेवारी दिइएको छैन। बाहिर भने ३३ प्रतिशत र ५१ प्रतिशत महिला भनेर भाषण गर्नुपरेको छ' उनले थपिन्, 'समानताका आधारमा र क्षमताका आधारमा अवसर र प्रतिनिधित्व गर्ने भन्ने विषय भाषण र कागजमा मात्रै सीमित भयो।'

नेकपाको केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयमा पनि महिलाको प्रतिनिधित्व नगण्य छ। नेकपाको ९ सदस्यीय सर्वोच्च कार्यकारी निकाय जहाँबाट सबै निर्णय भइरहेको छ त्यसमा एकजना पनि महिला नेता छैनन्।

सचिवालयमा महिलाको प्रतिनिधित्व नहुनु पनि अन्य निकायमा महिला प्रतिनिधित्व नेखिनुको कारक भएको नेकपाका महिला नेताहरू बताउने गर्छन्। उनीहरू सचिवालयमा रहेका नेताहरूले गम्भीर भएर विगतमा गरेका भाषण र कानुनी व्यवस्था नहेरेरै गुटगत रूपमा मात्रै निर्णय गरिरहेको आरोप लगाएका छन्।

नेकपाको स्थायी कमिटीमा ६.६ प्रतिशत महिला छन् भने केन्द्रीय कमिटीमा १७ प्रतिशत मात्रै महिला छन्। नेकपाको प्रदेश कमिटीमा पनि जम्मा १९.५३ प्रतिशत मात्रै महिला रहेका छन्।

संविधानमै महिला ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको भन्ने नेकपाको यो कार्यविभाजनले भने महिलालाई दुरुत्साहित गरेको छ।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.