धनकुटा : धनकुटा नगरपालिकाको नगर क्षेत्रमा फुसको छानो मुक्त गर्ने अभियानअन्तर्गत २०१ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ।
आवास सहुलियत साझेदारी कार्यक्रमको लाभग्राही सूचीमा रहेका एकल, ज्येष्ठ नागरिक, असाहय, अपाङ्गता भएका, विपन्नदलित र अल्पसंख्यक आठपहरिया समुदायलाई प्राथमिकता जस्तापाता वितरण गरिएको हो। पहिलो पटक एक करोड १४ लाख रुपैयाँ बराबरको जस्तापाता वितरण गरिएको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए।
नगरपालिकाले सबैभन्दा बढी वडा नम्बर ८ मा ६२ र वडा नम्बर ६ मा सबैभन्दा कम आठ घरमा जस्तापाता वितरण गरेको छ। गत वर्ष पनि नगर क्षेत्रका ६८ घरमा ५२ लाख रुपैयाँ बराबरको जस्तापाता वितरण गरिएको थियो। नगरपालिकाले जस्तापाता वितरण गर्ने र सम्बन्धित व्यक्तिले छानो छाउने कार्यमा खर्च गर्नुपर्ने साझेदारी अवधारणा बनाइएको नगरपालिकाका इन्जिनियर मिङ्मा दोर्जी शेर्पाले बताए।
१० वटा वडा रहेको नगरपालिकामा रहेका नौ हजार ४६० घरमध्ये दुई हजार १३ घरको छानो फुसको रहेको तथ्यांक छ। नगरपालिकाले आगामी तीन वर्षभित्र नगरलाई फुसको छानामुक्त बनाउने अभियान चलाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।