|

काठमाडौं : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ।  सनातन धर्मावलम्बीले कुश, तुलसी, पिपल र शालीग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । 

पितृसम्मानमा आज छोराछोरीहरूले आआफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन्। बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्दछ।

यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ। आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने मान्यता रहेकाले पूण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए। अरु दान दीनदुःखीलाई दिए पनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.