काठमाडौं : हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मंगलबारदेखि सञ्चालनमा आउने भएको छ। दिउँसो १ बजेदेखि प्रशारण लाईन सञ्चालन ल्याउन लागिएको हो। हेटौँडा–कुलेखानी दोस्रो–स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आएपछि भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुने छ।
आयोजना प्रमुख केदार सिलवालले मकवानपुरको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारण लाइन सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। मातातीर्थदेखि स्यूचाटारसम्म जोड्न भने अझै १० दिन जति लाग्ने उनले बताए।
प्रशारण लाइन तयारी अवस्थामा रहेको भन्दै सिलवालले प्रसारण लाइनको दायाँ बायाँ पर्ने घरहरु भत्काउन शुरु भइसकेकाले सबै काम पूरा गरेपछि मात्रै स्यूचाटारसम्म प्रशारण लाईन जोडिने सिलवालको भनाइ छ।
भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको प्रशारण लाइन २०६८ सालदेखि शुरु भएपनि प्रसारण लाइनमुनि पर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए। प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले १९ घरपरिवारलाई एक करोड ८४ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ।
भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन यो प्रसारण लाइन सहयोगी हुने विद्युत प्राधिकरणले जनाएको छ। भारतबाट ल्याइएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण ठानिएको खिम्ती–ढल्केबर प्रसारण लाइन पनि एक हप्ता भित्रै परीक्षण चार्ज गर्ने तयारी गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।